
नेपालीका घरआँगनमा तिहारको रौनक छाएको छ। बजारमा फूलमाला किन्नेको चहलपहल बढेको छ । घरका झ्यालढोका र आँगन सजिन थालेका छन् । सयपत्री र मखमली फूलको सुगन्धसँगै देउसीभैलोका भाका गुञ्जिन थालेका छन् । दीपावलीको उज्यालोले बस्ती र सहरलाई झकिझकाउ बनाइरहँदा नेपाली समाजमा खुसी र उमङ्गको सञ्चार भइरहेको छ । तर तिहारको यो उज्यालो केवल घरको अँध्यारो हटाउने माध्यम मात्र होइन, समाजमा बढ्दै गएको अविश्वास, दूरी र मनमुटाव हटाउने अवसर पनि बन्नुपर्छ । तिहारको खुसीसँग अर्थतन्त्रको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण छ ।



किसानले उत्पादन गरेको फूल, स्थानीय कुमालले बनाएका माटाका दियो, घरेलु उद्यमीले तयार पारेका मिठाई तथा अन्य सामग्रीको कारोबार यस समयमा बढ्छ । फूलखेती गर्ने किसानका लागि तिहार आम्दानीको महत्त्वपूर्ण अवसर हो। पछिल्लो समय सयपत्री र मखमली फूलको व्यावसायिक खेती विस्तार हुँदै जानु सकारात्मक पक्ष हो । तर तिहारको बजारमा विदेशी फूल र आयातित सामग्रीको निर्भरता बढ्दै जानु चिन्ताको विषय पनि हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यहाँका हरेक समुदायका आफ्नै मौलिक चाडपर्व, परम्परा र जीवनशैली छन् । यही विविधता नेपाली समाजको सुन्दरता र पहिचान हो। दसैँ, तिहार, छठ, ल्होसार, इद, क्रिसमस, माघी, उधौली-उभौलीलगायतका पर्वले आ-आफ्नो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका छन् ।
फरक धर्म, संस्कृति र परम्परा भए पनि एकअर्काको पर्वमा सहभागी हुने, शुभकामना साटासाट गर्ने र खुसी बाँड्ने नेपाली परम्परा आफैँमा अनुकरणीय छ । यही सामाजिक सद्भाव र सहअस्तित्वलाई जोगाउनु आजको आवश्यकता हो । तिहारलाई उज्यालोको पर्व भनिन्छ । पाँच दिनसम्म मनाइने यमपञ्चकले मानव जीवन, प्रकृति, पशुपन्छी र पारिवारिक सम्बन्धको महत्त्वलाई फरक–फरक ढङ्गले उजागर गर्छ। कागदेखि कुकुर, गाई र गोरुसम्मको पूजा गर्ने परम्पराले मानिसको जीवन प्रकृति र अन्य जीवजन्तुसँग अभिन्न रूपमा जोडिएको छ भन्ने सन्देश दिन्छ । आधुनिकताको दौडमा प्रकृतिमाथि बढ्दो हस्तक्षेप, वातावरणीय विनाश र जीवजन्तुप्रतिको असंवेदनशीलता बढिरहेका बेला तिहारको यो परम्परा अझ सान्दर्भिक बनेको छ । प्रकृतिलाई उपयोग गर्ने वस्तुका रूपमा मात्र होइन, जीवनको सहयात्रीका रूपमा सम्मान गर्नुपर्ने सन्देश यस पर्वले दिन्छ । तिहारको अर्को महत्त्वपूर्ण पक्ष पारिवारिक आत्मीयता हो ।
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र विश्वासको प्रतीक भाइटीकाले परिवारभित्रको सम्बन्धलाई थप बलियो बनाउँछ । व्यस्त जीवनशैली, रोजगारी र अध्ययनका कारण परिवारका सदस्यहरू टाढा–टाढा पुगेका छन् । कतिपय दाजुभाइ विदेशमा छन्, कतिपय दिदीबहिनी आफ्नै घरपरिवार र जिम्मेवारीमा व्यस्त छन् । यस्तो अवस्थामा भाइटीका केवल निधारमा सप्तरङ्गी टीका लगाउने विधि होइन, टाढिएका मनलाई नजिक ल्याउने भावनात्मक अवसर पनि हो । यसले एकअर्काप्रतिको माया, सम्मान, सुरक्षा र जिम्मेवारीलाई स्मरण गराउँछ। सम्बन्धको वास्तविक अर्थ अधिकारभन्दा बढी विश्वास र जिम्मेवारीमा हुन्छ भन्ने कुरा पनि यसले सिकाउँछ ।
तिहारको खुसीसँग अर्थतन्त्रको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण छ । किसानले उत्पादन गरेको फूल, स्थानीय कुमालले बनाएका माटाका दियो, घरेलु उद्यमीले तयार पारेका मिठाई तथा अन्य सामग्रीको कारोबार यस समयमा बढ्छ । फूलखेती गर्ने किसानका लागि तिहार आम्दानीको महत्त्वपूर्ण अवसर हो। पछिल्लो समय सयपत्री र मखमली फूलको व्यावसायिक खेती विस्तार हुँदै जानु सकारात्मक पक्ष हो । तर तिहारको बजारमा विदेशी फूल र आयातित सामग्रीको निर्भरता बढ्दै जानु चिन्ताको विषय पनि हो । हाम्रा चाडपर्वले स्थानीय उत्पादन, स्वदेशी उद्यम र किसानको परिश्रमलाई प्रोत्साहन गर्न सक्नुपर्छ । चाडपर्वमा हुने खर्चले विदेशी बजारलाई होइन, आफ्नै गाउँ, किसान र साना व्यवसायीलाई लाभ पु¥याउने वातावरण बनाउन आवश्यक छ । देउसीभैलो तिहारको सांस्कृतिक पहिचान हो ।
गीत, सङ्गीत, नृत्य र सामूहिक सहभागितामार्फत पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्परा मनोरञ्जनको माध्यम मात्र होइन, सामाजिक एकताको अभ्यास पनि हो । पहिले गाउँघरमा देउसीभैलो खेल्दा छिमेकीबीच भेटघाट हुन्थ्यो, दुःखसुख साटासाट हुन्थ्यो र सामाजिक सम्बन्ध नवीकरण हुन्थ्यो। अहिले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले यसको स्वरूपमा परिवर्तन ल्याएको छ । परिवर्तन स्वाभाविक भए पनि मौलिकता र सांस्कृतिक पहिचान हराउन दिनु हुँदैन । त्यस्तै, नेवार समुदायको म्हःपूजा र नेपाल संवत्को नयाँ वर्षले नेपाली सभ्यताको ऐतिहासिक गौरव र सांस्कृतिक विविधतालाई उजागर गर्छ।
तिहारलगत्तै मनाइने छठ पर्वले प्रकृति, जल र सूर्यप्रतिको सम्मान तथा कृतज्ञताको भावना व्यक्त गर्छ। यी सबै पर्व नेपाली समाजका साझा सांस्कृतिक सम्पदा हुन् । तर चाडपर्वको यो उल्लासबीच देशको वर्तमान अवस्थालाई पनि बिर्सन मिल्दैन। आर्थिक मन्दी, बेरोजगारी, महँगी, युवापलायन र सामाजिक निराशाले धेरै परिवारको खुसी खुम्चिएको छ । गाउँघरमा युवा जनशक्ति घट्दै गएको छ। रोजगारी र राम्रो भविष्यको खोजीमा विदेशिएका लाखौँ नेपालीका परिवारले चाडपर्वमा पनि पूर्ण खुसी अनुभव गर्न सकेका छैनन् । कतिपय घरमा दाजुभाइ विदेशमा भएकाले भाइटीका लगाउने हात खाली छन् । कतिपय परिवारमा आर्थिक अभावका कारण चाडपर्व मनाउने उत्साहसमेत कमजोर बनेको छ । त्यसैले तिहारको वास्तविक अर्थ महँगो सजावट, महँगा उपहार र देखावटी खर्चमा खोज्नु हुँदैन ।
थोरै खर्चमा पनि आत्मीयता, माया र सहयोग बाँड्न सकिन्छ । अहिले नेपाली समाज राजनीतिक र सामाजिक रूपमा पनि विभाजित मानसिकताको शिकार भइरहेको छ । जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनले नयाँ सम्भावनासँगै नयाँ चुनौती पनि सिर्जना गरेको छ। पुराना र नयाँ राजनीतिक शक्तिबीच विश्वासको संकट छ । फरक विचार राख्नेहरूलाई शत्रु ठान्ने, असहमतिलाई निषेध गर्ने र संवादभन्दा आरोप-प्रत्यारोपलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ । लोकतन्त्रमा विचार फरक हुनु स्वाभाविक हो, तर फरक विचारकै कारण सामाजिक सम्बन्ध र राष्ट्रिय एकता कमजोर बन्नु उचित होइन। राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो, तर प्रतिस्पर्धा प्रतिशोधमा बदलिँदा त्यसले मुलुकलाई निकास होइन, थप द्वन्द्वतर्फ लैजान्छ ।
सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिक सबैले यो वास्तविकता बुझ्न आवश्यक छ । मुलुकको विकासका लागि राजनीतिक स्थिरता, सुशासन, आर्थिक अवसर र सामाजिक विश्वास अपरिहार्य छन् । सरकारको प्रमुख दायित्व नागरिकको जीवन सहज बनाउनु, रोजगारी सिर्जना गर्नु, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्नु तथा सुशासन कायम गर्नु हो । राजनीतिक नेतृत्वले पनि जनताको अपेक्षा र राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्छ । एकअर्कालाई कमजोर बनाउने प्रतिस्पर्धाभन्दा साझा समस्याको समाधान खोज्ने संस्कार विकास गर्न सके मात्र लोकतन्त्र बलियो हुन्छ । तिहार फूल, बत्ती र मिठाईको उत्सव मात्र होइन, सम्बन्ध जोड्ने, मन सफा गर्ने र नयाँ आशा जगाउने पर्व हो । घरको आँगनमा बालिएको एउटा दियोले जस्तै हाम्रो सानो सद्भावले पनि समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
राजनीतिक विचार फरक हुन सक्छन्, आर्थिक अवस्था फरक हुन सक्छ, जातजाति र संस्कृति फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हो । यही साझा पहिचानलाई बलियो बनाउँदै आपसी सम्मान, सहिष्णुता र सहकार्यको बाटो रोज्नु आजको आवश्यकता हो । तिहारले यही सन्देश दिन सक्छ। उज्यालोको पर्व मनाइरहँदा हामीले आफ्नो व्यवहार, सोच र दृष्टिकोणमा पनि उज्यालो ल्याउन सक्नुपर्छ। घरमा दीप बालेर मात्र समाजको अँध्यारो हट्दैन । विभेद, अन्याय, असमानता, घृणा र अविश्वासको अँध्यारो हटाउन पनि उत्तिकै आवश्यक छ । राजनीतिक दलहरूले चाडपर्वका अवसरमा आयोजना गर्ने शुभकामना आदानप्रदान र चियापान कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी संवाद र सहकार्यको संस्कृतिमा रूपान्तरण गर्नुपर्छ ।
फरक राजनीतिक धारका नेता, कार्यकर्ता र नागरिकबीच भेटघाट तथा विचार आदानप्रदान हुने वातावरण बनाउनुपर्छ। समाजलाई जोड्ने काम केवल सरकार वा राजनीतिक नेतृत्वको होइन, हरेक नागरिकको साझा जिम्मेवारी हो । अर्कोतर्फ, चाडपर्वका नाममा बढ्दो तडकभडक, अनावश्यक खर्च, जुवातास, मदिरा सेवन र वातावरण प्रदूषणजस्ता विकृतिलाई पनि निरुत्साहित गर्नुपर्छ । पटाका र विस्फोटक पदार्थको अत्यधिक प्रयोगले बालबालिका, वृद्धवृद्धा, बिरामी तथा वातावरणमा नकारात्मक असर पार्न सक्छ । पर्वको नाममा कसैलाई असहज बनाउने होइन, सबैलाई खुसी र सुरक्षित बनाउने संस्कार विकास गर्नुपर्छ ।
आर्थिक अवस्था कमजोर भएका परिवार, एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकलाई पनि तिहारको खुसीमा सहभागी गराउन सकियो भने पर्वको सार्थकता अझ बढ्नेछ । अन्ततः तिहार फूल, बत्ती र मिठाईको उत्सव मात्र होइन, सम्बन्ध जोड्ने, मन सफा गर्ने र नयाँ आशा जगाउने पर्व हो । घरको आँगनमा बालिएको एउटा दियोले जस्तै हाम्रो सानो सद्भावले पनि समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्छ। राजनीतिक विचार फरक हुन सक्छन्, आर्थिक अवस्था फरक हुन सक्छ, जातजाति र संस्कृति फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हो ।
यही साझा पहिचानलाई बलियो बनाउँदै आपसी सम्मान, सहिष्णुता र सहकार्यको बाटो रोज्नु आजको आवश्यकता हो । यस वर्षको तिहारले नेपाली समाजमा बढ्दै गएको अविश्वास र विभाजनलाई कम गर्दै आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकताको भावना बलियो बनाओस् । चाडपर्वको उज्यालो प्रत्येक घरमा मात्र होइन, राज्य सञ्चालन गर्ने नेतृत्वको सोच र नागरिकको व्यवहारमा पनि फैलियोस् । देशमा शान्ति, स्थिरता, सुशासन र समृद्धिको नयाँ बाटो खुलोस, शुभकामना !
( तिहार एबम नेपाल सम्वत ११४७ को हार्दिक मङगलमय शुभकामना )


प्रतिक्रिया दिनुहोस