आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

डिल्लिबजारमा निशुल्क स्वास्थ्य शिविर र ४०+ म्याराथुन सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ आश्विन ११, शनिबार मा प्रकाशित ७ महिना अघि
  • ३४० पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजारले हरेक वर्षझैं यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविर तथा ४०+ म्याराथुन कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। क्लबले स्थानीय मैतिदेवी–डिल्लिबजार ४०+ युवा समूहसँग सहकार्य गर्दै म्याराथुन आयोजना गरेको हो।

    म्याराथुन प्रतियोगितामा बाल चौलागाइ प्रथम, सन्तोस ढुङ्गेल दोस्रो र सुजन श्रेष्ठ तेस्रो स्थानमा रहेका थिए। विजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।

    कार्यक्रमसँगै स्थानीय बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गरिएको थियो। शिविरमा रगत परीक्षण, आँखा परीक्षण, होल बडी चेकअप र रक्तदान कार्यक्रम समावेश थिए। स्थानीयवासीहरूले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गर्दै लाभ उठाएको आयोजकले जनाएको छ।

    कार्यक्रमका संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष सागरनिधि तिवारीले स्वास्थ्य सेवा र सचेतना अभियानले समुदायमा सकारात्मक प्रभाव पार्ने मात्र नभई धेरै मानिसहरू प्रत्यक्ष लाभान्वित भएको बताए। उनका अनुसार विशेषगरी दीर्घरोग तथा आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूले स्वास्थ्य परीक्षण गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।

    रोटरी क्लब अफ डिल्लिबजारका अध्यक्ष प्रेम वलीले भने, “यस्ता कार्यक्रमले स्थानीय समुदाय र रोटरी क्लबबीच अझ गहिरो सम्बन्ध कायम हुनुका साथै रोटरीको सार्वजनिक छवि थप मजबुत हुन्छ।”

    कार्यक्रममा क्लबका पदाधिकारी, समाजसेवी, स्थानीयवासी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। स्थानीयवासीको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजक पक्षको भनाइ छ।

    रोटरी क्लब अफ डिल्लिबजारले यसअघि पनि नियमित रूपमा स्वास्थ्य शिविर, रक्तदान, विद्यार्थी स्वास्थ्य परीक्षणलगायत सामाजिक उत्तरदायित्वका गतिविधिहरू गर्दै आएको छ। क्लबका पदाधिकारीका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट