
नेपाली सेनाले जनको क्षति जोगाउँदा धनको अकल्पनीय क्षति हुन पुगेको भन्दै रक्षात्मक अभिव्यक्ति दिए पनि वास्तवमा सेना आफैं डराएको आरोप लाग्न छाडेको छैन । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा सडकमा निस्किएर फ्ल्याग मार्च पास गर्नुबाहेक २० वर्षयता कसैसँग युद्ध लडेको वा प्रतिआतंकवादको काम गरेको अनुभव नरहेको भन्दै यस्तो आरोप लगाइएको देखिन्छ । प्रधानसेनापति अशोक सिग्देलसँग आन्दोलन तथा प्रदर्शनविरुद्ध प्रभावकारी रूपमा काम गरेको अनुभव नभएको, राजालाई नजोगाएकोजस्ता आरोप पनि सामाजिक सञ्जालमा लगाउन थालिएको छ। लोकतन्त्रलाई समर्थन गरेको भनिए पनि केही परिभाषित जिम्मेवारी सेनाले निर्वाह गर्न नसकेको आरोप लाग्दै आएको छ।
सेनाले यतिबिघ्न ठूलो प्रदर्शन हुन्छ भन्ने कल्पनै नगरेको दाबी गरेको पाइन्छ। सेनाले चैतमा भएजस्तै प्रदर्शन हुने, अलिअलि तोडफोड र हाहाहुहु हुने, त्यसपछि साम्य हुने निष्कर्ष निकालेको थियो। त्यसैले प्रदर्शनको भिजुअलाइजेसन गर्ने काम भएको थिएन। तर सेनाले केही नगरेको भने होइन। नेपालमा अमेरिकी, भारतीय र पश्चिमाहरूको विशेष चासो देखिएकै छ। विभिन्न बहानामा शान्ति बहाल गर्ने नाममा यी विदेशी आएका भए बचाउने कुरा त केही पनि छैन। त्यसैले विदेशीबाट हुनसक्ने चलखेल रोक्न नेपाली सेनाले सफलता पाएको भए पनि प्रदर्शनबारे सही तवरले मूल्याङ्कन गर्न नसकेकाले विध्वंश र क्षति बढी भएको दाबी गरिएको छ। गत भदौ २३ गते प्रोएक्टिभ भएर काम नगरेको कुरा पनि सेनाले स्वीकारेको छ।
सिंहदरबारलगायत महत्वपूर्ण स्थलहरूको सुरक्षार्थ खटिएका सेनाका गणपतिहरूले स्थिति आकलन गर्न नसकेको र त्यसअनुसार सुरक्षा रणनीति अपनाउन नसकेको स्वीकारेका छन्। सिंहदरबारको सुरक्षाको मुख्य जिम्मेवारी लिएका नरसिंह दल गणका गणपति गणेश खड्कालाई यसै सन्दर्भमा कारबाहीको भागी बनाएकालेसमेत यो कुरा स्वीकार भएको देखिन्छ। किनभने प्रदर्शनकारीलाई सिंहदरबार प्रवेशबाट रोक्ने रणनीति बनाउने काम माथिल्लो स्तरको भए पनि त्यसलाई कार्यान्वयन गर्ने काम फिल्डमा रहेका फौजीको हो। तर, त्यो दिन त्यस्तो केही देखिएन।
अर्कोतर्फ, सुरक्षासम्बन्धी सूचना राष्ट्रिय अनुसन्धान कार्यालय, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गुप्तचरहरूबीच सेयर र समन्वय गर्ने काम पनि फिटिक्कै नभएको बताइन्छ। सबैको सूचना संयन्त्र साँच्चै असफल भएको हो कि जानीजानी असफल बनाइएको हो भन्ने कुरा महत्वपूर्ण भएकाले त्यसतर्फ खासै अनुसन्धान र विश्लेषण गरिएको देखिँदैन । २४ गतेका दिन सशस्त्र प्रहरीका एसएसपी राजेश उप्रेतीले सिंहदरबार अगाडि हवाई फायर गरेको देखिन्छ। स्रोतका अनुसार सो दिन नेपाली सेना र सशस्त्र प्रहरीले ५० राउण्ड हवाई फायर गरेका थिए। उनले प्रदर्शनकारीलाई लक्षित नगरी तर्साउन मात्र गरेको बताइन्छ।
त्यसो त सुरुवाती अवस्थामै सिंहदरबारको गेट तोड्न थालेपछि दुई–चार जनालाई गोली प्रहार गरेको भए अरू प्रदर्शनकारी भित्र पस्न डराउँथे। दुई–चार जनाको क्षति हुन्थ्यो, सिंहदरबार त जल्नबाट जोगिन सक्थ्यो। तर सुरक्षाकर्मीले प्रदर्शनकारीबीच भय वा डरको वातावरण तयार गर्न नसकेको दाबी गर्दै ‘डरपोक’ भएको आरोप लगाइएको हो। सुरुमा एउटा दमकल आएको र त्यसका अगाडि केही आन्दोलनकारी सुतेपछि रोकिएको, त्यसपछि पुनः दमकल आएको भए पनि त्यस्तो कुरा प्रमाणित भएको छैन। जेनजीले आगो निभाउन सहयोग गर्ने अपिल गरे पनि त्यसको कुनै सुनुवाइ नभएको जगजाहेर छ ।
जेनजी विध्वंशका क्रममा आगजनी गरिएका सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत सबैजसो भवनमा केमिकल प्रयोग गरिएको बताइन्छ। सबै ठाउँमा झोलामा बोकिएका केमिकलयुक्त आगजनीका सामग्री प्रयोग गरे पनि अहिलेसम्म यसको फरेन्सिक अध्ययन गर्न कोही पनि अगाडि सरेका छैनन् । यससम्बन्धी अध्ययन गर्न सरकार र भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि चासो नदेखाएको बताइन्छ। जबकि विदेशी अखबारमा समेत केमिकल प्रयोगको कुराबारे लेखिएको छ । कतिसम्म भने गोदरेज फलामको दराज आगोले हत्तपत्त पग्लँदैन । तर सर्वोच्च अदालतमा भएको गोदरेजको दराज पनि पग्लिएका छन्। त्यस्तो दराजभित्र रहेका फाइल पनि जलेका छन्। यसले केमिकल प्रयोग भएको कुरालाई झन् बलियो रूपमा पुष्टि गर्ने दाबी स्रोतको छ।
यो प्रकृतिको घटनाले आगजनीबारे व्यावसायिक ज्ञान भएकाहरू नै यस्तो काममा संलग्न रहेको सहजै अनुमान गर्न सक्ने दाबी स्रोतको छ। किनभने साधारण मानिसलाई यस्तो कुरा थाहा नहुने धेरैको दाबी छ । अर्को उदाहरण हेर्ने हो भने भाटभटेनी र विशालनगरको बीचमा रहेको उपेन्द्र महतोको घरमा आगजनी गर्नेहरूले पहिला छतमा रहेको पानी ट्यांकी सबै खाली गरेका थिए । त्यसपछि माथिल्लो तलाबाट आगो लगाउँदै तल्लो तलातिर झरेको बताइन्छ। सो घरमा पनि केमिकल प्रयोग गरिएको आशंका छ ।
त्यसैगरी वसन्त चौधरीको ठमेलस्थित घरमा पनि त्यस्तै गरिएको देखिन्छ। यी सबै तथ्यका आधारमा आगजनीका घटना नियोजित रूपमै व्यावसायिक जानकारी भएका व्यक्तिहरूबाटै गराइएको वा गरिएको अवस्था देखिएको दाबी स्रोतको छ। आगजनी र लुटपाटमा जेल तोडेर हिँडेका पनि मिसिएको धेरै घटनाक्रमले पुष्टि गरेका छन् । कतिपयले नेपाली सेना असफल भएको र डरपोक भएको दाबी गरे पनि वास्तविकता उल्टो रहेको दाबी विभिन्न प्रमाणले देखाएको दाबी सेनाको छ। पूर्वप्रधानसेनापति राजेन्द्र थापाले एउटा अन्तर्वार्तामा मुलुक असफल भएपछि संयुक्त राष्ट्रसंघ, सार्क वा अन्य कुनै नामको छातामा विदेशी सैनिक आउन सक्ने अवस्थाबाट नेपाली सेनाले देशलाई जोगाएको दाबी गरेका छन्।
अर्कोतर्फ, नेपाली सेना र भारतीय सेनाबीच मानार्थ जनरल लिनेदिने चलन छ, जसको अर्थ दुवै जनरल एकअर्काका सहयोगीजस्तै हुन्छन्। यस्तो अवस्थामा एक देशको जनरल असफल हुन लाग्दा अर्को जनरलले साथ दिन आउने कि नआउने सवाल पनि खडा गरिएको थियो। यस्तो अवस्थाबाट नेपाललाई जोगाइएको उनीहरुको तर्क छ । यसै प्रसङ्गमा नेपाली सेना असफल भएको अवस्थामा भारतका सैनिक सहयोगका लागि नेपालमा प्रवेश गर्न सक्ने अवस्था पनि रहेको आकलन सेनाले गरेको थियो।




प्रतिक्रिया दिनुहोस