
कोहलपुर । जिल्ला भित्र सञ्चालनमा रहेका तेक्वान्दो डोजाङ्गका प्रमुखहरूलाई लक्षित गरी यही पुस २६ र २७ गते दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिने भएको छ।
उक्त प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो प्रशिक्षक नेत्रबहादुर थापा, चन्द्रप्रकाश श्रेष्ठ तथा तेक्वान्दो रेफ्री टीआई बाँकेका महेश थापाले प्रशिक्षण प्रदान गर्नुहुनेछ।
कार्यक्रममा जिल्लाभित्रका विभिन्न डोजाङ्गका ३५ जना प्रमुखको सहभागिता रहने आयोजकले जनाएको छ। प्रशिक्षणमार्फत सिकेका सीप तथा ज्ञानलाई सहभागीहरूले आफ्ना–आफ्ना डोजाङ्गमा नयाँ खेलाडीहरूमा लागू गर्ने उद्देश्य लिइएको छ।
कार्यक्रमबारे जानकारी दिँदै जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले यस्ता प्रशिक्षणले नयाँ प्रतिभाको खोजी गर्न सहयोग पुग्ने, खेल प्रशिक्षणमा एकरूपता आउने र तेक्वान्दो खेलको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो।
उक्त प्रशिक्षणमा जिल्ला भित्र तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएका डोजाङ्ग प्रमुखहरूको मात्र सहभागिता रहने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस