आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

बजेट आयो, काम रोकियो—महानगरकै कारण ई–लाइब्रेरी अलपत्र


  • आक्रमण न्युज
  • २०८३ बैशाख २, बुधबार मा प्रकाशित १ महिना अघि
  • १६२ पाठक संख्या
  • चितवन । स्वर्गीय रोनिक पाठकको स्मृतिमा ई–लाइब्रेरी निर्माण गर्ने उद्देश्यले रोनिक पाठक स्मृति ट्रस्ट नेपाल र भरतपुर–१४ शान्तिपुरस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको व्यवस्थापन समितिबीच सम्झौता सम्पन्न भए पनि परियोजना कार्यान्वयनमा अवरोध देखिएको छ।

    सम्झौताअनुसार ट्रस्टले “नेपाल–भारत ई–लाइब्रेरी” निर्माणका लागि डिपिआर तयार गरी बजेट व्यवस्थापन प्रक्रिया अघि बढाएको थियो। वडानं. १४ को कार्यालयदेखि भरतपुर महानगरपालिकासम्मको सहमति लिएर परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै काठमाडौँस्थित भारतीय दूतावासमा पेश गरिएको थियो।

    तर स्वीकृति र सहमति हुँदाहुँदै पनि भरतपुर महानगरपालिकाकै कारण परियोजना अघि बढ्न नसकेको ट्रस्टले जनाएको छ। महानगरपालिकाबाट उत्पन्न अवरोधका कारण शिक्षा क्षेत्रलाई लक्षित महत्वपूर्ण योजना अलपत्र पर्ने जोखिम बढेको बताइएको छ।

    ट्रस्टले विसं २०८१ साल असोज ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मा आवश्यक कागजातसहित निवेदन दिएको थियो। सोही निवेदनका आधारमा असोज ११ गते मन्त्रालयले भरतपुर महानगरपालिकालाई सम्झौता प्रक्रिया अघि बढाउन इमेलमार्फत जानकारी गराएको थियो तर, स्थानीय स्तरमा समन्वय अभाव र निर्णय प्रक्रियामा देखिएको ढिलाइका कारण परियोजना कार्यान्वयन हुन नसकेको देखिन्छ। तत्कालीन प्रमुख रेणु दाहाल ले परियोजनाको फाइल गम्भीर रूपमा अध्ययन नगरी प्रारम्भिक स्वीकृति दिएको र पछि नकारात्मक टिप्पणीसहित प्रक्रिया रोकेको भन्दै प्रश्न उठ्न थालेका छन्।

    यसैबीच, हाल कार्यवाहक प्रमुख चित्रसेन अधिकारी ले पनि परियोजना अघि बढाउन ठोस पहल नगरेको गुनासो सरोकारवालाहरूले गरेका छन्। ट्रस्टका पदाधिकारीहरूका अनुसार महानगरपालिकाले सञ्चालन जिम्मेवारी लिन अनिच्छा देखाएपछि २०८२ साल चैत २९ गते पुनः मन्त्रालय धाउनुपरेको थियो, तर अझैसम्म कुनै ठोस निर्णय हुन सकेको छैन।

    यसअघि नै २०७७ साल असार २४ गते वडा नं. १४ का तत्कालीन वडा अध्यक्ष होमप्रसाद पोखरेलले उक्त परियोजना उपयुक्त रहेको भन्दै सिफारिस गरेका थिए। सोही दिन महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले पनि निर्माण स्थल विवादरहित रहेको उल्लेख गर्दै परियोजना कार्यान्वयनका लागि सकारात्मक सिफारिस दिएका थिए।

    परियोजनाबारे प्रतिक्रिया लिन खोज्दा पूर्व प्रमुख रेणु दाहालसँग सम्पर्क हुन सकेन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य राजन गौतम ले “सम्बन्धित पक्ष अन्यायमा परेका छन्, मन्त्रालयबाट प्रक्रिया अघि बढिसकेको छ” भन्ने प्रतिक्रिया दिएका छन्।

    भरतपुर महानगरपालिकाबाट अवरोध भएको भन्दै रोनिक पाठक स्मृति ट्रस्ट नेपालले न्यायको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हारगुहार गरेको छ। ट्रस्टले महानगरपालिकाबाट आफूलाई अन्याय भएको उल्लेख गर्दै ई–लाइब्रेरी परियोजना कार्यान्वयनमा सहयोगका लागि सम्बन्धित निकायसँग आग्रह गरेको हो । साथै, हालको सरकारसँग समेत विनम्र अनुरोध गर्दै शिक्षा क्षेत्रसँग जोडिएको उक्त परियोजनालाई अगाडि बढाउन आवश्यक सहयोगको अपेक्षा गरिएको जनाएको छ।

    स्थानीय बासिन्दा र सरोकारवालाहरूले शैक्षिक तथा सूचना पहुँच विस्तारका लागि अत्यन्त महत्वपूर्ण मानिएको ई–लाइब्रेरी परियोजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट