जब व्यक्ति मा स्वार्थ हावी हुन थाल्छ, तब समाजको अग्रगमनमा विराम लाग्छ । त्यसैले हाम्रा नैतिक र धार्मिक शिक्षाले परोपकार र परसेवामा जोड दिएका हुन् । तर यसका लागि नैतिक समाजको निर्माण पूर्वशर्त हुने गर्छ ।
मानिसहरूको प्रेरकतत्व, नियत, चरित्र र गुणमा सुधार ल्याउन नसकेसम्म समाज नैतिकवान बन्न सक्दैन । ठूला नैतिक आदर्शका कुरा गर्ने स्वघोषित सन्त, गुरु र पण्डितहरू नै घोर अनैतिक र स्वार्थी काम गरेर बदनाम हुँदैछन् । सार्वजनिक पदमा बस्नेहरू पदीय आडमा व्यक्तिगत स्वार्थ पूर्तिमा लागेको देखिन्छ ! समाज र संस्थाको अभिभावक हुनेहरू लाभका मतियार भइरहेका छन् ।प्रायः मानिसहरू मौका पाउनासाथ झेली खेल खेल्न थालिहाल्छ । त्यसैले स्वार्थको द्वन्द्व रोकेर सभ्य समाज निर्माण एक अभियान चलाउनुपर्ने देखिन्छ ! स्वार्थको द्वन्द्व वा स्वार्थ बाझिने काम तब हुन्छ जब कुनै व्यक्तिको व्यक्तिगत स्वार्थले कार्य र इन्साफमाथि सम्झौता गर्न थाल्छ ।
यस्तो अवस्था मा सार्वजनिक पद धारण गर्ने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता संकुचित हुन जान्छ । यस्तो किन हुन्छ भने सार्वजनिक जिम्मेवारी लिनेले व्यक्तिगत लाभ भन्दा सार्वजनिक स्वार्थमा काम गर्ने प्रतिबध्दता व्यक्त गरेको हुन्छ । सपथ वा सम्झौताद्वारा उनीहरूले सार्वजनिक स्वार्थ र हितलाई सर्वोपरि मान्ने प्रतिज्ञा गरेका हुन्छन् । यो प्रतिज्ञाविपरीत निजी स्वार्थमा काम गर्नु घोर अत्याचार नै हो सार्वजनिक पदाधिकारीहरूले निजी लाभका काम गरेमा उसको प्रतिष्ठामा ह्रास आउने मात्र होइन उसले त्यो पदमा रहने योग्यता नै गुमाउँछ ।स्वार्थको द्वन्द्व सिर्जना हुन नदिन नैतिक नियम, सिध्दान्त, आदर्श र सद्गुणहरूले दिग्दर्शन गरिरहेको हुन्छ ।
दार्शनिकहरूका दर्शन, हाम्रा धार्मिक र अध्यात्मिक शिक्षा तथा समाजका नैतिकवान आदर्श व्यक्तिहरूबाट धेरै सिक्न सकिन्छ ।नैतिक साहस र सद्चरित्रको पराकाष्ठामा मात्र यस्तो व्यक्तित्व बन्न सकिन्छ । मानिस दूषित उत्प्रेरणाबाट ग्रसित हुन्छ भन्ने मान्यता छ !हुन पनि ‘उपयोगितावाद’ ले खराबमाथि असल कामको बृहत्तर सन्तुलनको कुरा गरे पनि व्यक्ति आफ्नै उपयोगिता बढाउन लाग्ने गर्छ ।व्यक्ति जहिले पनि आफ्नै लाभ बढाउन प्रयासरत हुन्छ !स्वार्थ बाझिने आठ अवस्थाहरू, घुस, प्रभावको बिक्री वा यसको गलत प्रयोग, सूचना बिक्री, आर्थिक कारोबार उपहार र मनोरञ्जन, बाह्य रोजगारी, भविष्यको रोजगारी, नातेदारहरूसँगको व्यवहार लाई उल्लेख गर्ने गरिन्छ । यी आठवटा अवस्था विध्यमान छ भने त्यहाँ स्वार्थको द्वन्द्व छ भन्ने बुझ्नुपर्छ । नेपालमा हरेक क्षेत्रमा स्वार्थ बाझिने काम भइरहेको छ । नीतिगत तहमा रहनेहरू त झन् गतिछाडा भएर स्वार्थको द्वन्द्वमा रमाइरहेका छन् ।
प्राध्यापकहरू आफ्ना नजिककाहरूको पेपर मूल्याङ्कन गर्छन, वकिलहरू आफूले प्रतिनिधित्व गरेको पक्षको हितविपरीत अर्को पक्षसँग मिल्छन, सार्वजनिक पदाधिकारी आफन्तलाई वा आफ्नो स्वार्थ भएको कम्पनीलाई ठेक्का प्रदान गर्छन्, राजनीतिज्ञहरू दलका कार्यकर्तालाई भर्ना गर्छन ! उच्च पदस्थ ब्यक्तिहरु पदमा रहँदा सहजीकरण गरिदिएको आधारमा अवकाशपछि निजी कम्पनीहरूमा नियुक्ति लिन्छन् । वित्तीय विश्लेषकहरू गलत मूल्याङ्कन गरिदिएर आफ्नो शेयर बढाउने आधार दिन्छन् । संवैधानिक निकायका पदाधिकारीहरू समेत स्वार्थको द्वन्द्वमा फसेको आरोप लाग्ने गरेको छ, यस्तो आरोप लाइ अन्यथा मान्न मिल्दैन !

























प्रतिक्रिया दिनुहोस