आज: २०८३ अषाढ १४, आईतबार | Sun, 28, Jun, 2026

भरतपुर अस्पतालमा नेपाल आउटसोर्स श्रमिक संगठनको दशौँ भेला सम्पन्न


  • आक्रमण न्युज
  • २०८३ अषाढ १४, आईतबार मा प्रकाशित ८ घण्टा अघि
  • ५० पाठक संख्या
  • “श्रमिकको अधिकार सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने”
    चितवन । नेपाल आउटसोर्स श्रमिक संगठन, भरतपुर अस्पताल समितिको दशौँ भेला भरतपुर अस्पताल परिसरमा सम्पन्न भएको छ। भेलाले श्रमिकहरूको हक, हित, सेवा–सुविधा तथा कार्यस्थलमा देखिएका समस्याका विषयमा गम्भीर छलफल गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


    संगठनका अध्यक्ष रुकुम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल आउटसोर्स श्रमिक संगठनका आईटीयूसी प्रतिनिधि उदय चन्द्र अर्याल रहेका थिए। त्यसैगरी विशेष अतिथि नेपाल सुरक्षा श्रमिक संगठन चितवनका जिल्ला अध्यक्ष आसमान तामाङ,टिकाराम पौडेल तथा गोपाल तिवारी, सुनिता विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    नेपाल आउटसोर्स श्रमिक संगठनको दशौँ भेलामा सहभागी वक्ताहरूले आउटसोर्सिङ क्षेत्रमा कार्यरत श्रमिकहरू लामो समयदेखि श्रम शोषणको मारमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। साथै भेलामा बोल्ने वक्ताहरूले विशेषगरी इन्फोटेक कम्पनी र गरुड सेक्युरिटीका सञ्चालकहरूले श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित हुन बाध्य गराएका आरोप लगाए। उनीहरूले श्रमिकको मेहनतको उचित मूल्य नदिने, श्रम ऐनले सुनिश्चित गरेका अधिकारसमेत कार्यान्वयन नगरेको दाबी गरे।


    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले श्रमिकहरूको अधिकार सुनिश्चित गराउन संगठन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले श्रमिकको पसिना र मेहनतको उचित मूल्यांकन हुनुपर्ने बताउँदै कुनै पनि श्रमिकमाथि अन्याय भए संगठन चुप लागेर नबस्ने स्पष्ट पारे।


    अध्यक्ष रुकुम बहादुर श्रेष्ठले श्रमिकहरूको एकता नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै श्रमिक अधिकारको रक्षा गर्न आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिने बताए। उनले श्रमिकहरूले कानुनले व्यवस्था गरेका सेवा–सुविधा प्राप्त गर्न नसकेको अवस्था रहेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, धर्ना लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने र संगठनलाई अझ मजबुत बनाउँदै लैजाने घोषणा गरे।

    भेलामा सहभागी श्रमिकहरूले “एक श्रमिकले पनि कानुन बमोजिम पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित हुन नहुने” साझा धारणा व्यक्त गरेका थिए। उनीहरूले श्रमिकमाथि हुने विभेद, शोषण र अन्यायको अन्त्यका लागि संगठित संघर्ष अपरिहार्य रहेको बताए। कार्यक्रममा कमला न्यौपाने ,रुद्र बहादुर सोनाम, अमृतकुमार चेपाङ ,गोपाल तिवारी,शान्तिमाया नेपाली,रोजिना गुरुङ लगायतको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो।

    भेलाको अन्त्यमा श्रमिक अधिकारको सुनिश्चितता, संगठन विस्तार तथा श्रमिक एकताको सन्देशसहित आगामी दिनमा थप सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। श्रमिकहरूले आफ्नो अधिकार प्राप्तिका लागि संगठित संघर्षलाई निरन्तरता दिने अठोट समेत व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट