आज: २०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित १० आरोहीको हिमपहिरोमा दुःखद निधन


  • आक्रमण न्युज
  • २०८३ श्रावण १७, आईतबार मा प्रकाशित ५ घण्टा अघि
  • १४ पाठक संख्या
  • काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीको भीषण हिमपहिरोमा परी दुःखद निधन भएको छ। यस घटनाले नेपालसहित विश्व पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ।

    हिमपहिरोमा परी ज्यान गुमाउने नेपाली आरोहीहरूमा म्याग्दीको दाना गाउँमा जन्मिएका पूर्वबेलायती गोर्खा तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्।

    त्यसैगरी, विदेशी नागरिकतर्फ पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद तथा अमेरिकाकी म्यालोरी गेइसले पनि ज्यान गुमाएका छन्।

    प्राप्त जानकारीअनुसार हिमपहिरोले उनीहरूलाई करिब ६ हजार मिटरभन्दा माथिको उचाइबाट झन्डै ८ सय मिटर तलसम्म बगाएको थियो। प्रतिकूल मौसम, अत्यधिक हिमपात तथा कठिन भौगोलिक अवस्थाका कारण तत्काल उद्धार कार्य सञ्चालन गर्न नसकिएको जनाइएको छ।

    निर्मल पुर्जा सन् २०१९ मा संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए। उनले नेपाली पर्वतारोहणलाई विश्वमाझ नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए। उनका नाममा पर्वतारोहणसँग सम्बन्धित अन्य धेरै उल्लेखनीय कीर्तिमान पनि रहेका छन्।

    मृतक नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ गोरखा, किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा तथा निमा शेर्पा र नवाङ थिन्डु शेर्पा सङ्खुवासभाका स्थायी बासिन्दा हुन्।

    यस घटनापछि पुर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा घटनास्थलतर्फ आवश्यक समन्वय र सहयोगका लागि शुक्रबार नै पाकिस्तान प्रस्थान गरेका छन्।

    यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले निर्मल पुर्जासहित हिमपहिरोमा ज्यान गुमाएका सम्पूर्ण आरोहीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र उद्धार र आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जनाइएको छ।

    विश्व पर्वतारोहण इतिहासमा नेपाललाई गौरवान्वित बनाएका निर्मल पुर्जाको असामयिक निधनले नेपाली पर्वतारोहण क्षेत्रले एक असाधारण व्यक्तित्व गुमाएको छ। उनको साहस, समर्पण र अदम्य इच्छाशक्ति भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट