आज: २०८३ कार्तिक १५, आईतबार | Sun, 01, Nov, 2026

प्रेम आचार्यको “आत्मदाह” र रवि लामिछानेको “नागरिकता”


  • आक्रमण न्युज
  • २०८३ कार्तिक १५, आईतबार मा प्रकाशित ५५ मिनेट अघि
  • ३९ पाठक संख्या
  • इलामका व्यवसायी प्रेम आचार्यको आत्मदाह र निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसला । ती दुई घटनाले यो मुलुकको राज्य व्यवस्थाको अवस्था र शासकीय मनोवृत्ति पनि छर्लंग पारिदिएको छ । यसले अपारदर्शी, विकृत अनि भ्रष्ट बन्दै गएको प्रशासनिक संयन्त्रका कारण जनताले दैनन्दिन भोग्नुपरेको सास्ती, हैरानी, उल्झनले आम जनताको जीवन कति दुरुह बनेको रहेछ भन्ने कुरा उजागर गरिदियो ।

    साथै यसले विद्यमान राज्यसत्ताको अर्थ–राजनीतिक भ्वाङलाई पनि छ्याङ्गै पारिएको छ । अनि जनबल र धनबलको सहारामा सत्तासीन सबै अनुहारहरू (नयाँ समेत) ले अजमाउने शक्तिको प्रभाव र त्यो शक्तिले स्थापित गरिदिने कथित सामाजिक हैसियत पनि छर्लंगै पारिदिएको छ । घटना १ – प्रेम आचार्यको हतप्रभ ‘आत्मदाह’ गत माघ १० गते काठमाडौंको संसद भवन अगाडिको चौबाटोमा इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो झोसे । उनलाई वरपर देख्नेहरूले भिडियो खिचे र सामाजिक सञ्जालमा हाले । त्यो ठाउँ एकान्त पनि थिएन र कसैले त्यो घटना नदेखेको पनि होइन । तर, जसले देखे ती केवल साक्षी मात्रै भए । तिनले प्रेमको जल्दै गरेको शरीर बचाउन सकेनन् । केहीबेरमै सो घटना सामाजिक सञ्जालमार्फत उसैगरी फैलियो, जसरी उनको शरीरमा आगोको लप्को फैलिएको थियो ।

    आखिर त्यही आफैंले लगाएको आगोको लप्कोले डढाएर उनको ज्यान लिइछाड्यो । प्रेम आचार्यले आत्मदाह गर्नुभन्दा अघि उनले सामाजिक सञ्जाल मार्फत नै साना व्यवसायीहरूको दुःख, पीडा र (अ)मानवीय बन्दै गएको बजार अर्थतन्त्रको बर्र्बरता, राजनीतिक बेइमानी, राज्यको प्रतिकूल नीतिनियम र प्रशासनिक उल्झनबारे लेखेका रहेछन् । उनले गरिखाने साना व्यापारीहरूले खेप्नु परेको सन्ताप अनि सत्ता र शक्तिको आडमा सानाहरूमाथि हुने गरेका ज्यादतीप्रति लक्षित गर्दै कानुनी, प्रशासनिक एवं व्यावहारिक सुधार गर्नुपर्ने विषयलाई उल्लेख गरेका रहेछन् । अहिले उनको आत्मदाहसँगै उनका विचारहरू पनि सामाजिक सञ्जालमा प्रवाहित भइरहेका छन् । उनले उठाएका सवाल जनजीविकाकै हुन् । जसको यथोचित सम्बोधन हुनु आवश्यक छ ।

    यी ज्वलन्त सवालका साथ उनले आफ्नो आत्मदाहलाई यो मुलुकमा व्याप्त विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, व्यभिचार, कुशासन, कमिसनतन्त्र र लुटतन्त्रले जनजीवनमा पारेको गम्भीर असरलाई उजागर गर्ने माध्यम बनाइदिए । जुन दुर्भाग्यपूर्ण घटना हो । किनकि हामी सबैजसो गरिखाने जनताले कुनै न कुनै रूपमा त्यस्तै उल्झन, हण्डर र ठक्कर खाई नै रहेका छौं । त्यही कुरालाई उजिल्याउन उनले आत्मदाहकै मार्ग अवलम्बन नगरेको भए हुन्थ्यो । तर, घटना घटिसक्यो ।

    अब भविष्यमा अन्य प्रेमहरूले पनि यस्तै मार्ग अवलम्बन गर्न नपरोस् । कसैले आर्थिक एवं सामाजिक जोखिमका कारण आत्महत्या गर्नु नपरोस् । कोही पनि राज्यसत्ता, व्यवस्था र बजार सिर्जित शोक र सन्तापमा पर्नु नपरोस् । यसका लागि राज्य संयन्त्रमा सुधारसहित गरिखाने जनताका लागि उद्यमशील वातावरण निर्माण गर्नु अत्यावश्यक भइसकेको छ । घटना २ – रवि लामिछानेको ‘नागरिकता प्रकरण’ गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग नेपाली नागरिकता नरहेको ठहर गरिदियो । अदालतको सो फैसलासँगै उनले मन्त्री पदसहित प्रतिनिधिसभा सदस्य र पार्टीको सभापति पद गुमाउन पुगे । यो खबर पनि खरको आगो झैं फैलियो ।

    उनका समर्थकहरूले फैसलालगत्तै सर्वोच्च अदालतको परिसरमा भौतिक रूपमै भेला भएर विरोध गरे भने सामाजिक सञ्जालहरूमा पनि उनको पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले अदालतको सो कदमको विरोध गर्दै प्रचार गरिरहे । यदि रवि लामिछानेको ठाउँमा अन्य कोही जनजाति, मधेशी, थारू, दलित वा कुनै सीमान्तकृत समुदायको व्यक्ति हुन्थ्यो भने नेपालको प्रशासनिक संयन्त्र यसैगरी केही घण्टामै नागरिकता दिन सक्रिय हुन्थ्यो होला ? उसलाई उसैगरी समाजले सहजै स्वीकार गरेर जयजयकार गर्थ्यो होला ? तथापि रवि लामिछानेले भने फैसलालगत्तै मन्त्री पदबाट राजिनामा गर्दै आफू अनागरिक भएको र अनागरिकले अब के गर्ने ? भन्ने बारेमा सोच्नै नसकेको प्रतिक्रिया दिएका थिए । उनले सर्वोच्च अदालतको फैसलाप्रति भने कुनै टिप्पणी नगरी फैसलाको सम्मान गर्ने बताएका थिए ।

    त्यसको दुई दिनपछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुरानै रेकर्ड मुताबिक नयाँ नागरिकता प्राप्त गरिसकेका छन् । लगत्तै उनको पार्टीको केन्द्रीय समितिको बैठकले तत्कालै उनलाई पार्टी सदस्यता प्रदान गर्दै पुनः पार्टी सभापतिमा चयन गरिसकेको छ । केही घण्टाकै अन्तरालमा यी सबै घटनाक्रमहरू सम्पन्न भएर उनी अहिले वैधानिक हिसाबले कानुनतः नेपालको नागरिक भई पार्टी सभापतिसमेत बनिसकेका छन् । एकदिन आफ्नै अनिच्छाका कारण (अ)नागरिक कहलिएका रवि लामिछानेले यही देशमा जन्मिएर, यही धर्तीमा खाइखेली गरिरहेका, यहीं पाखुरी बजारिरहेका लाखौं युवा जो नागरिकताबाट वञ्चित छन्, उनीहरूको सकसबारे अनुमान गरे, गरेनन् ? त्यो उनैले जान्ने विषय भयो । तर, तिनै रविले कुनै बेला नागरिकता विधेयक संसदबाट पास हुँदा चर्को स्वरमा विरोध गरेका थिए ।

    यदि रवि लामिछानेको ठाउँमा अन्य कोही जनजाति, मधेशी, थारू, दलित वा कुनै सीमान्तकृत समुदायको व्यक्ति हुन्थ्यो भने नेपालको प्रशासनिक संयन्त्र यसैगरी केही घण्टामै नागरिकता दिन सक्रिय हुन्थ्यो होला ? उसलाई उसैगरी समाजले सहजै स्वीकार गरेर जयजयकार गर्थ्यो होला ? कि उसलाई जालसाजी र किर्ते गरेको आरोपमा झ्यालखानामा हालिन्थ्यो होला ? यी धेरै प्रश्नहरूले मुलुकको एकात्मक सामुदायिक वर्चस्ववादी शासनसत्ता र प्रशासनिक संस्कृतिलाई उजिल्याउँदै राज्यसत्ताको अर्को भ्वाङ देखाएको छ । यी दुई घटनाले मुलुकको शासन व्यवस्थामा विद्यमान चरहरू र ‘व्यक्तिगत हैसियत’का आधारमा नागरिकलाई गरिने फरक व्यवहारलाई पुष्टि गरिदिएको छ । पहिलो घटनामा आफैंले शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्यको उक्त कदम सुविचारित नै देखिन्छ ।

    उनले एक विद्रोहात्मक रूपले सो अवसादपूर्ण कदम उठाए । संभवतः उनले पृष्ठभूमिमा अरब विद्रोहको कारक बनेको ट्युनिसियाली नागरिक मोहमद बाउजीजीको आत्मदाह वा यस्तै कुनै प्रसंगलाई उत्प्रेरक ठानेर त्यो स्तब्ध र हतप्रभ कदम उठाए । अहिले कतिपय व्यक्तिहरूले सोही सन्दर्भलाई जोड्दै अवस्था परिवर्तनका लागि प्रेम आचार्यले सहादत प्राप्त गरेका विचार पनि प्रवाहित गरिरहेका छन् । तर, अहिलेको हाम्रो समय र सन्दर्भ अनि अरबी विद्रोहको झिल्कोको रूपमा काम गरेको सन् २०११ को त्यो उत्तर अफ्रिकी र अरबी विश्वको पारिस्थितिकीय अवस्था बिल्कुल फरक छ । किनकि अहिले हामी भर्खरै निर्वाचनको प्रक्रियाबाट गुज्रिएका छौं । लोकतन्त्रमा आवधिक निर्वाचन नै जनताका लागि एकखालको आन्दोलन हो । जनताले अभिमत प्रकट गर्ने माध्यम हो ।

    त्यो माध्यमबाट भर्खरै मात्र आफ्नो जनमत प्रकट गरेको अवस्थामा अहिले नै अर्को कुनै विद्रोह वा आन्दोलनको आँधीबेहरीको परिकल्पना केवल मृगमरीचिका मात्रै हो । किनकि अहिले नेपालमा तत्कालै कुनै विद्रोह वा आन्दोलनले आकार लिने अवस्था छैन । तर, एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुवाती चरणमा देखापरेको अरब विद्रोहको याम भने अर्कै थियो । यो सन् २०११ को मध्यतिरको कुरा हो । त्यतिबेला सडकछेउमा ठेलागाढामा खानेकुरा बेचेर आफ्नो गुजारा चलाउँदै आएका एक जना ट्युनिसियाली स्नातक सडक व्यापारी मोहमद बाउजिजीको ठेलागाडा विना कारण त्यहाँका सुरक्षाकर्मीले खोसिदिए ।

    उक्त घटनाबाट निकै निराश बनेका उनले आफू निकै लामो समयदेखि बेरोजगार रहनुपर्दाको पीडा र केही गरिखान लाग्दा पुलिस प्रशासनले गरेको दमनविरुद्ध सामाजिक सञ्जालमा एउटा विद्रोही कविता लेखेर आफ्नै शरीरमा आगो झोसी आत्मदाह गरे । त्यही विन्दुबाट सुरु भएको ट्युनिसियाली जनविद्रोहले २३ वर्षदेखि एकछत्र शासनसत्ता चलाइरहेका त्यहाँका राष्ट्रपति अबिदिन बिन अलीको एकदलीय तानाशाही शासन पलट भयो र त्यसले समग्र उत्तर अफ्रिका, मध्यपूर्व र अरब विश्वसम्म जागरणमुखी आन्दोलन र विद्रोहको ज्वाला दन्कियो ।

    ट्युनिसियाली जनताको सौर्य, उत्साह र जागरणले एक महिनासम्म जारी रहेको उक्त आन्दोलनलाई ट्युनिसियाली इतिहासमा ‘जस्मिन रिभोलुसन’ (चमेली क्रान्ति) नामकरण गरियो । (स्मरण रहोस् चमेली ट्युनिसियाको राष्ट्रिय फूल हो) । तथापि आन्दोलनको शक्ति संस्थागत नहुँदा त्यसले कुनै सर्वस्वीकार्य नेतृत्व निर्माण गर्न सकेन । परिणामस्वरूप आन्दोलनका उपलब्धिहरू क्रमशः क्षयीकृत हुँदै गए र तीन वर्षको अन्तरालमा त्यहाँ प्रतिक्रान्ति नै भयो । मूलतः चेतनशील र संस्थागत नेतृत्वको अभावकै कारण ट्युनिसियामा क्रान्ति र प्रतिक्रान्तिका विभिन्न परिघटना अद्यापि जारी छन् । त्यहाँ अझै पनि राजनीतिक स्थायित्व र शान्ति कायम हुनसकेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑