२०८३ कार्तिक २७, शुक्रबार मा प्रकाशित ३१ मिनेट अघि
२९ पाठक संख्या
धनुषा। ‘केरवा जे फरल घउरस, ओपर सुगा मडराय, मारबौ रे सुगवा धनुषस, सुगा गिरे मुरझाय’ । छठ पर्वको यो लोकगीत यतिबेला मिथिलाञ्चलका गाउँसहरमा गुञ्जिरहेका छन् । छठीमातालाई चढाइने पवित्र प्रसाद केरालाई चराचुरुङ्गीले नखाऊन भन्ने भाव बोकेको यस गीतले छठको धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको प्रेमलाई एकसाथ अभिव्यक्त गर्छ । चार दिवसीय छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व नजिकिएसँगै तराई–मधेसका गाउँबस्ती, सहर, बजार र जलाशयमा छुट्टै रौनक छाएको छ ।
घरआँगनदेखि नदी, पोखरी र तलाउसम्म सरसफाइ तथा सजावटले उत्सवमय बनेका छन् । बजारमा बाँसका सामग्री, माटाका भाँडाकुँडा, फलफूल, उखु, अदुवा, केरा, नरिवललगायत पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ । घरबाट टाढा रोजगारी र अध्ययनका लागि गएका परिवारका सदस्यसमेत पर्व मनाउन घर फर्किन थालेपछि गाउँबस्तीमा पारिवारिक भेटघाट र आत्मीयताको माहोल बनेको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी भन्नुहुन्छ, “छठ केवल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृति, कृषि, संस्कृति, सामाजिक सद्भाव र पारिवारिक एकताको जीवन्त प्रतीक पनि हो । प्रत्यक्ष देखिने देवता मानिने सूर्यको उपासना गर्दै मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य अर्पण गरिन्छ । संसारलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यप्रति कृतज्ञता व्यक्त गर्नु नै यस पर्वको मूल भाव हो ।”
सूर्य उपासना र छठीमाताको महिमा छठ पर्वमा सूर्यदेवसँगै षष्ठी देवीअर्थात् छठीमाताको पूजा गरिन्छ । पौराणिक मान्यताअनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य, दीर्घायु र सुख प्रदान गर्छिन् । सन्तान प्राप्ति, सन्तानको कल्याण, पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित श्रद्धालुहरू यस पर्वमा कठोर व्रत बस्ने गर्छन् । धार्मिक मान्यताअनुसार प्रकृति देवीको छैटौँ अंशका रूपमा षष्ठी देवीको उत्पत्ति भएको हो । त्यसैले उहाँलाई षष्ठी भनिएको र स्थानीय बोलीचालीमा छठीमाता भन्ने गरिएको विश्वास छ । पुराणमा षष्ठी देवीलाई ब्रह्माकी मानसपुत्री तथा कात्यायनीका रूपमा समेत उल्लेख गरिएको पाइन्छ । छठीमाताको पूजा सुरु भएको सम्बन्धमा राजा प्रियव्रतको पौराणिक कथा प्रचलित छ ।
सन्तान नहुँदा दुःखी भएका राजा प्रियव्रतले महर्षि कश्यपको सल्लाहमा पुत्रेष्टि यज्ञ गराएका थिए । यज्ञपछि जन्मिएको शिशु मृत अवस्थामा जन्मिएपछि राजा शोकमा डुबेका थिए । त्यसैबेला दिव्य देवी प्रकट भई मृत शिशुलाई जीवन प्रदान गरेको धार्मिक कथन छ । देवीको कृपाबाट प्रभावित राजाले षष्ठी देवीको स्तुति गरेपछि छठ पूजाको परम्परा सुरु भएको जनविश्वास छ । सूर्यको उपासनाले आरोग्य, ऊर्जा, तेज, समृद्धि र सकारात्मक चेतना प्राप्त हुने धार्मिक विश्वास छ । रामायण र महाभारतकालीन कथासँग समेत सूर्य उपासनाको सम्बन्ध जोडिएको पाइन्छ ।
श्रीरामले रावणसँगको युद्धमा विजय प्राप्त गर्नुअघि आदित्य हृदयस्तोत्रको पाठ गरेको तथा श्रीकृष्णका पुत्र साम्बले सूर्यको उपासनाबाट कुष्ठरोगबाट मुक्ति पाएको पौराणिक प्रसङ्गले यस पर्वको धार्मिक महत्त्वलाई थप उजागर गर्छ । चार दिन, चार विधि र कठोर आस्था छठ पर्वको विशेषता यसको चार दिवसीय विधि हो । पुरोहित लालबाबु झाका अनुसार कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको प्रत्येक दिनको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ । चैत महिनामा पनि यही विधिअनुसार छठ मनाउने परम्परा छ, जसलाई चैती छठ भनिन्छ । पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ वा ‘अरबा–अरबाइन’ भनिन्छ । यस दिन बर्तालुहरू नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध हुन्छन् ।
घरको सरसफाइ तथा पूजाको तयारी गरेपछि चोखो खाना ग्रहण गर्छन् । यस दिनदेखि नै बर्तालुले खानपानमा विशेष शुद्धता अपनाउँदै माछामासु, लसुन, प्याजलगायतका खाद्यवस्तु त्याग्ने गर्छन् । दोस्रो दिनअर्थात् पञ्चमीलाई ‘खरना’ भनिन्छ । यस दिन बर्तालु दिनभरि निर्जला उपवास बसेर साँझ चन्द्रदर्शनपछि पूजा गर्छन् । नयाँ चुलोमा शुद्धतापूर्वक तयार पारिएको खीर, केरा र अन्य प्रसाद ग्रहण गरी परिवार तथा छरछिमेकलाई समेत प्रसाद वितरण गरिन्छ । खरनापछि बर्तालुले कठिन निर्जला व्रत सुरु गर्छन् । तेस्रो दिन षष्ठीका दिनलाई ‘सझिया घाट’ भनिन्छ ।
यस दिन गहुँ र चामललाई परम्परागत जातो, ढिकी वा ओखलमा कुटेर तयार पारिएको पिठोबाट ठेकुवा, भुसुवा, कसारलगायतका प्रसाद बनाइन्छ । बाँसको सुप, डाला र अन्य भाँडामा उखु, नरिवल, केरा, अदुवा, फलफूल तथा विभिन्न कृषि उपज सजाएर साँझपख बर्तालुहरू जलाशयमा पुग्छन् । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । पर्वको चौथो दिन सप्तमीमा बिहान सबेरै बर्तालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यसलाई ‘पारन’ भनिन्छ । बिहानको अघ्र्यसँगै चार दिनसम्मको कठिन व्रत सम्पन्न हुन्छ ।
त्यसपछि बर्तालुले प्रसाद ग्रहण गरी व्रत समापन गर्छन् । सामाजिक सद्भाव र समानताको सन्देश छठ पर्वको सबैभन्दा सुन्दर पक्ष सामाजिक समावेशिता र समानताको सन्देश हो । जात, धर्म, वर्ग, लिङ्ग र आर्थिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको आराधना गर्छन् । धनी–गरिब, सानो–ठूलो सबैले एउटै जलाशयमा उभिएर अघ्र्य अर्पण गर्ने परम्पराले सामाजिक समानताको सन्देश प्रवाह गर्छ । समाजशास्त्री नागेन्द्र दुबे सूर्य उपासनाको परम्परामा छठलाई विशिष्ट पर्वका रूपमा व्याख्या गर्नुहुन्छ । उहाँका अनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने भएकाले संसारका अन्य सूर्य उपासना परम्पराभन्दा छठको विशेष महत्त्व छ ।
छठले सामाजिक सम्बन्धलाई समेत बलियो बनाउने गरेको छ । वर्षौंदेखि भेटघाट हुन नसकेका आफन्त, साथीभाइ र छिमेकीलाई एकै ठाउँमा भेट्ने अवसर प्रदान गर्छ । बर्तालुलाई सहयोग गर्ने, घाट सजाउने, सरसफाइ गर्ने र पूजा व्यवस्थापनमा सामूहिक सहभागिता जनाउने परम्पराले समुदायबीच सहकार्य र आत्मीयता बढाउँछ । छठ राष्ट्रिय पहिचानको पर्व बन्दै गएको छ । पहाडी समुदायका महिला तथा अन्य समुदायका मानिससमेत श्रद्धापूर्वक छठ मनाउन थालेका छन् । कतिपय मुस्लिम समुदायका व्यक्ति पनि यस पर्वको व्यवस्थापन र सामाजिक गतिविधिमा सहभागी हुने गरेका छन् । संस्कृति, कृषि र सीपको जीवन्त सङ्गम प्राज्ञ रामभरोस कापडीका अनुसार छठ पर्वले स्थानीय कृषि उत्पादन, परम्परागत सीप र ग्रामीण अर्थतन्त्रलाई जोडेको छ । उहाँले पर्वका लागि आवश्यक पर्ने सामग्रीमध्ये अधिकांश स्थानीय किसान, कुमाले र हस्तकलाका सामग्री बनाउने समुदायको श्रमसँग सम्बन्धित रहेको बताउनुभयो ।
माटाका कलश, दियो, हात्ती तथा अन्य सामग्री कुमाले समुदायले तयार गर्छन् भने बाँसको चोयाबाट बनाइने सुप, डाला, नाङ्लो, डगरा, सुपली, छैँटी र बेनालगायतका सामग्री डोम समुदायका हस्तकर्मीले तयार पार्छन् । छठमा उक्त सामग्रीको अनिवार्य प्रयोगले परम्परागत पेसा र सीपलाई निरन्तरता दिन सहयोग पु¥याएको छ । किसानले उत्पादन गरेका केरा, उखु, अदुवा, नरिवल, फलफूल, गहुँ र चामललगायतका कृषिउपज छठका प्रमुख प्रसादका रूपमा प्रयोग हुन्छन् । गहुँको पिठोबाट बनाइने ठेकुवा, चामल र सक्खरबाट तयार पारिने खीर तथा अन्य परम्परागत परिकारले मिथिलाको मौलिक खानपान संस्कृतिलाई उजागर गर्छन् ।
पर्वका अवसरमा गाउँसहरका सडक किनारमा लाग्ने बजारले स्थानीय उत्पादन र हस्तकलालाई उपभोक्तासम्म पु¥याउने अवसर प्रदान गर्छ । किसान, व्यापारी, कुमाले, बाँसका सामग्री निर्माता तथा साना व्यवसायीको आम्दानी बढाउन सहयोग पु¥याउँछ । यस अर्थमा छठ धार्मिक आस्थासँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्त्वपूर्ण अवसर पनि हो । प्रकृतिप्रति कृतज्ञता र संरक्षणको सन्देश छठ पर्वको अर्को महत्त्वपूर्ण पक्ष प्रकृतिप्रतिको सम्मान र संरक्षण हो । सूर्य, जल, भूमि, वनस्पति तथा कृषि उत्पादनलाई महत्व प्रदान गर्ने उक्त पर्वले मानव जीवन प्रकृतिसँग अभिन्न रूपमा जोडिएको सन्देश दिन्छ । खुला आकाशमुनि नदी, पोखरी र जलाशयमा उभिएर सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्पराले पानी र वातावरणको महत्वलाई स्मरण गराउँछ ।
सूर्यको प्रकाशबिना कृषि उत्पादन र मानव जीवन सम्भव नहुने भएकाले किसानले वर्षभरि मिहिनेत गरेर उत्पादन गरेका अन्न तथा फलफूल सूर्यदेवलाई अर्पण गरी प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्छन् । जनकपुरधामका गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका ऐतिहासिक जलाशय छठ पर्वका बेला श्रद्धालुले भरिने गर्छन् । छठले सफा जलाशय, स्वच्छ वातावरण र सामूहिक जिम्मेवारीको महत्त्व पनि उजागर गर्छ । तर, बढ्दो सहरीकरण र जलाशयमा फोहोर व्यवस्थापनको चुनौतीका बीच पर्वको मूल मर्मअनुसार जलस्रोत संरक्षणलाई व्यवहारमा उतार्नु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस