Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ४, शुक्रबार | Fri, 20, Nov, 2026

बढ्दो वायु प्रदूषणले फोक्सोमा गम्भीर असर, धूमपान नगर्नेलाई पनि श्वासप्रश्वासको जोखिम


  • आक्रमण न्युज
  • २०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित २१ घण्टा अघि
  • २३ पाठक संख्या
  • काठमाडौं । वायु प्रदूषण, धुलोधुवाँ र घरभित्र प्रयोग हुने विभिन्न इन्धनबाट निस्कने धुवाँका कारण नेपालमा फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्दै गएको छ। धूमपान नगर्ने व्यक्तिसमेत प्रदूषणको प्रभावबाट सुरक्षित नरहेको चिकित्सकहरूले बताएका छन्।

    स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार देशभरका स्वास्थ्य संस्थामा दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सीओपीडी) का तीन लाख २५ हजार १५३ जना बिरामी रहेका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ५९ हजार ११० थियो। एक वर्षमै बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ।

    विश्व स्वास्थ्य सङ्गठनको सन् २०२३ को मृत्यु अनुमानअनुसार नेपालमा सीओपीडीका कारण प्रतिलाख जनसङ्ख्यामा ७९.३ जनाको मृत्यु हुने गरेको छ। यसमध्ये महिलाको मृत्युदर ८८.३ र पुरुषको ६९.७ रहेको छ।

    वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीका अनुसार नेपालमा आन्तरिक तथा बाह्य वायु प्रदूषणका कारण दम र श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढिरहेका छन्।

    उहाँका अनुसार अगरबत्ती, धूप, दाउरा बाल्दा निस्कने धुवाँ, घरभित्रको धुलो तथा कलकारखानाबाट निस्कने प्रदूषणले फोक्सोमा नकारात्मक असर पार्छ। विशेषगरी काठमाडौं उपत्यकाजस्ता सहरी क्षेत्रमा वायु प्रदूषणका कारण दमसम्बन्धी समस्या बढिरहेको उहाँको भनाइ छ। सहरी क्षेत्रको करिब १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी समस्या देखिएको उहाँले बताउनुभयो।

    वरिष्ठ छातीरोग विशेषज्ञ अनुसार दम तथा श्वासप्रश्वाससम्बन्धी रोग लाग्नुमा धूमपानबाहेक वंशाणुगत र वातावरणीय कारणसमेत जिम्मेवार हुन्छन्।

    मिल, मैदा उद्योग, कलकारखाना तथा धुलोधुवाँयुक्त वातावरणमा काम गर्ने व्यक्तिमा फोक्सोसम्बन्धी समस्या देखिने सम्भावना बढी हुन्छ। चुरोट सेवन नगर्ने व्यक्तिमा समेत यस्तो रोग देखिन सक्ने उल्लेख गर्दै उहाँले मन्दिरमा नियमित धूप बाल्ने पुजारीदेखि घरमा धूप बालेर पूजा गर्ने महिलासमेत जोखिममा रहने बताउनुभयो।

    छातीरोग विशेषज्ञका अनुसार ४५ वर्ष उमेरपछि दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिने गर्छ। विशेषगरी ५५ वर्षमाथिका व्यक्तिमा यसको जोखिम अझ बढी हुने उहाँको भनाइ छ।

    लामो समयसम्म खोकी लाग्नु, निरन्तर खकार आउनु, भर्‍याङ चढ्दा स्याँस्याँ हुनु, सास फेर्न कठिनाइ हुनु र छाती घ्यारघ्यार गर्नु यससम्बन्धी रोगका प्रमुख लक्षण हुन्।

    त्यसैगरी पटकपटक छातीमा संक्रमण हुनु र रोग गम्भीर बन्दै जाँदा शरीरमा अक्सिजनको मात्रा घट्नु पनि यसका लक्षण हुन सक्ने बताउनुभयो।

    उहाँका अनुसार रोग लागिसकेपछि फोक्सोमा भएको क्षति पूर्ण रूपमा निको पार्न कठिन हुन्छ। तर समयमै रोग पहिचान गरी उपचार सुरु गर्न सके जटिलता कम गर्न र बिरामीको जीवनस्तर सुधार गर्न सकिन्छ।

    चिकित्सकहरूले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन त्याग्न, धुलोधुवाँबाट सकेसम्म टाढा रहन, घरभित्रको वायु स्वच्छ राख्न र नियमित स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन्।

    विशेषगरी लामो समयसम्म खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वा छाती घ्यारघ्यार गर्ने समस्या देखिए बेवास्ता नगरी स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ।

    बढ्दो वायु प्रदूषणका बीच फोक्सोको स्वास्थ्य जोगाउनु अहिले सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण चुनौती बन्दै गएको छ। व्यक्तिगत सावधानीसँगै प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण निर्माणमा राज्य तथा नागरिक दुवैको सक्रियता आवश्यक देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑