Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

ट्राफिक प्रहरीसँग विवाद गर्ने दुई चालकविरुद्ध मुद्दा


  • आक्रमण न्युज
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित ३२ मिनेट अघि
  • २० पाठक संख्या
  • रौतहट। ट्राफिक नियम उल्लङ्घन गर्दै सवारीसाधनको कागजात जाँचका क्रममा प्रहरीसँग विवाद गर्ने र अभद्र व्यवहार गर्ने दुई चालकविरुद्ध रौतहट प्रहरीले मुद्दा दायर गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीका अनुसार चन्द्रनिगाहपुर क्षेत्रमा गरिएको छुट्टाछुट्टै ट्राफिक चेकजाँचका क्रममा विद्यार्थी बोकेको विद्यालय बस र यात्रुवाहक विद्युतीय भ्यानका चालकले प्रहरीलाई असहयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।

    आइतबार बिहान चन्द्रपुर नगरपालिका–६ बजार टोलस्थित चन्द्रनिगाहपुर–गौर सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सवारीसाधनको कागजात जाँच गरिरहेको थियो ।

    सोही क्रममा बिहान करिब ९ बजे माउन्ट एभरेष्ट माध्यमिक विद्यालयको प्रदेश ०३–००१ ख १४४६ नम्बरको विद्यार्थी बोकेको बसलाई रोकिएको थियो । गुजरा नगरपालिका–२ हरिहरपुरका २७ वर्षीय चालक मिलन जिम्बाले कागजात देखाउनुपर्ने क्रममा प्रहरीसँग विवाद गरेको र अपशब्द प्रयोग गरेको प्रहरीले जनाएको छ । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको प्रहरीको दाबी छ ।

    यसैगरी, गत ४ गते चन्द्रपुर नगरपालिका–४ जङ्गल टोलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको चेकजाँचका क्रममा अर्को घटना भएको थियो ।

    दिउँसो करिब १२:४५ बजे मधेस प्रदेश ०३–००१ ज ०९४८ नम्बरको यात्रुवाहक ईभी भ्यानलाई रोकेर कागजात माग गर्दा चालक चन्द्रपुर नगरपालिका–६ मोतियाहीका २५ वर्षीय चन्दु चौधरीले प्रहरीसँग विवाद गरेका थिए । चौधरीले पनि मादक पदार्थ सेवन गरेको अवस्थामा कागजात नदेखाई प्रहरीसँग अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुवै चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय, गौरबाट सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले जानकारी दिनुभयो ।

    प्रहरीले सवारी चालकलाई आवश्यक कागजात साथमा राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा चेकजाँचका क्रममा प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑