Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

गणतन्त्र भनेको प्रजातन्त्र होइन


  • आक्रमण न्युज
  • २०८१ फागुन ११, आईतबार मा प्रकाशित १ साल अघि
  • ५५१ पाठक संख्या
  • नेपालमा लागू गर्न खोजिएको गणतन्त्रात्मक राजनीतिक प्रणालीको स्वरूप, संरचना, साध्य र संस्कृतिबारे धेरैजसो राजनीतज्ञ र उच्च पदस्थ कर्मचारी आज पनि अनभिज्ञ छन् । “आँखा नदेख्ने मान्छेले हात्ती छामेर त्यसको पुच्छर डोरी जस्तो, सुँड केराको थाम जस्तो, कान नाङ्लो जस्तो र खुट्टा खाँबो जस्तो, शरीर भित्तो जस्तो हुन्छ भनेझैँ सबैले संघीयताको आ–आफ्नै व्याख्या गर्छन् । सरकारले सिंहदरबारमै सप्ताह लगाएर हामीहरूलाई पनि संघीयता पढाइदिए हुन्थ्यो ।” “गणतन्त्र बहुमतको शासन हो भने प्रजातन्त्र विधिको शासन हो” । शुद्ध, तटस्थ र निष्पक्ष भएमा बहुमतको शासन सधैँ खराब हुँदैन तर प्रजातन्त्रमा जस्तो गणतन्त्रमा न्याय, आत्मसम्मान, निष्पक्षता र सुशासनको अपेक्षा गर्नु अपरिपक्व हुनेछ भन्ने विद्वान्हरूको तर्क छ । भ्रष्ट, अभिमानी र अविवेकीहरूका हातमा गणतन्त्रात्मक शासन आयो भने त्यो कालान्तरमा बहुमतको निरंकुशता बन्न पुग्छ।
    “बहुमतको शासन अल्पसंख्यकहरूका लागि खतरा हुन्छ ।” अल्पसंख्यकले आफुहरुलाई असुरक्षित ठान्ने प्रणाली गणतन्त्र हो । तर प्रजातन्त्रले अल्पमत र बहुमतको भेद गर्दैन । संसद्’मा सरकार बनाउन मात्र बहुमत चाहिन्छ, शासन प्रणाली ‘विधिको शासन’ भन्ने प्रबल मान्यताले अनुप्राणित हुन्छ । उदाहरणका लागि स्वीडेनका जनताले जति स्वतन्त्रता, न्याय, अवसर र आत्मसम्मान पाएका छन्, त्यो भन्दा धेरै तल अमेरिका उभिएको छ भनेर अन्वेषक, विश्लेषक र प्रजातन्त्रका मापदण्डहरूका आधारमा तथ्य, तथ्यांक प्रकाशित भएका छन् । अमेरिकामा गणतन्त्र छ, स्वीडेनमा गणतन्त्र छैन तर स्वतन्त्रता र प्रजातन्त्र पर्याप्त छ । विधिको शासन, निश्चित अवधिमा चुनाव, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र रहने व्यवस्था, जनउत्तरदायी शासन, अभिव्यक्ति स्वतन्त्रता, कर्तव्य र अधिकारबीच सन्तुलन, स्वतन्त्र र दायित्वबोध गर्ने प्रेस, धर्म–संस्कृति र परम्पराको सम्मान सबै हुन्छ प्रजातन्त्रमा । त्यसैले अन्तर्राष्ट्रिय संघसंस्थाहरूले प्रजातन्त्रको आधारभूत मान्यता र मापदण्ड मानेका छन् । गणतन्त्रले भौतिक उन्नतिलाई मात्र समृद्धि मान्छ । त्यहाँ इतिहास, संस्कृति, विभिन्न जातजातिका रीतिरिवाज एवं जनताको भावनासँग गाँसिएका अन्य पक्षको अवमूल्यन हुन्छ । उदाहरणका लागि अमेरिकी गणतन्त्रवादीहरूमध्ये धेरैजसो कट्टु लगाएर ससुराली जान पनि लजाउँदैनन् । ब्रिटेन र जापान जस्ता परम्परावादी राष्ट्रका जनता धर्म, शिष्टाचार, नैतिकता र चरित्रप्रति सचेत छन् । पोसाक, खानपिन, रहनसहन, आचरण सबै कुरामा संवेदनशील छन्।
    ग्रीक शब्द ‘डेमो’ (जनता) बाट जनताको शासन ‘डेमोक्रेसी’ प्रचलनमा आएको हो । गणतन्त्रमा राजतन्त्र अटाउँदैन । प्रजातन्त्रमा सबै अटाउँछन् । त्यसैले त्यो गणतन्त्रभन्दा बढी समावेशी हुन्छ । राजतन्त्रको समर्थन गर्ने विद्वान्–विदूषी, लेखक, प्राध्यापक, चिन्तक, उद्योगपति, अर्बपति सबै प्रजातन्त्रमा अटाउँछन् । दरिद्र किसान–मजदुरदेखि राजा वा महारानी सबैको राष्ट्र निर्माणमा योगदान रहन्छ । गणतन्त्रमा त्यो सम्भव हुँदैन । प्रजातन्त्रले समता, समानता, स्थायित्व, समान अवसर र समृद्धिको परिकल्पना गर्छ । गणतन्त्रमा सभ्य, संस्कारी र सुसंस्कृत मानिसभन्दा धनी र शक्तिशालीलाई महत्व दिइन्छ । प्रजातन्त्रको अभ्यास गरिहेका राजतन्त्रात्मक राष्ट्रहरूलाई संयुक्त राष्ट्रसंघले उच्च मूल्यांकन गरेको पाइन्छ । नर्वे, स्वीडेन, जापान, बेल्जियम, थाइल्यान्ड, ओमान, कतार, युएई, साउदी अरेबिया, बहराइन, भुटान, मलेसिया, स्वाजिल्यान्ड (अफ्रिका), स्पेन, हल्याड (नेदरल्यान्ड), मोरक्को (अफ्रिका) जोर्डन, डेनमार्क, ब्रुनाई, कम्बोडिया, मोनाको, लिचेन्स्टाइन र लेसोथो (अफ्रिका) जस्ता गणतन्त्रविहीन राष्ट्रमध्ये अधिक राष्ट्र सुखी, समृद्ध र खुसी छन् , स्थायित्व छ त्यहाँ । त्यो प्रजातन्त्र हो कि होइन ?
    राजतन्त्रात्मक शासनमा भन्दा सुख हुन्छ भनेर गणतन्त्रमा प्रवेश गरेका कैयन् अफ्रिकी राष्ट्र इथियोपिया, लिबिया, नाइजेरिया, रुआन्डा, बुरुन्डी, सियरालिओन, युगान्डा मात्र होइन, एसियाका अफगास्तिान, इरान, इराक, लाओस्, सिरिया, भियतनाम र यमनजस्ता राष्ट्रमा गृहयुद्ध, अस्थिरता, दरिद्रता, विभाजन र विग्रह बढ्दै गयो । ती राष्ट्रहरूमध्ये धेरैजसो आज पनि अशान्त र अन्यौलग्रस्त छन् । विश्व शान्ति सूचक (ग्लोबल पिस इन्डेक्स) अनुसार १६३ राष्ट्रको अध्ययनमा ६८ राष्ट्र अशान्त छन् । शान्ति, स्थायित्व र प्रगतिका दृष्टिले गणतन्त्रात्मक राष्ट्रहरू अफगानिस्तान, इराक, दक्षिण सुडान, सिरिया, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक र यमन जस्ता राष्ट्र अत्यन्त अशान्त मानिएका छन् । शान्त र सुखी पंक्तिमा धेरैजसो प्रजातन्त्रवादी राजतन्त्र भएका राष्ट्र छन् ।
    कतिपय गणतन्त्रवादी राष्ट्र धनी छन् तर अशान्ति बढ्दो छ । नेपालमा पाँच हजार वर्ष लामो इतिहासमा १९२ जना राजाले शासन गर्दा पाँच हजार मानिस पनि मारिएनन् । तर गणतन्त्रका नायकहरूले झन्डै सत्र–अठार हजार मानिसको रगत बग्ने स्थिति सिर्जना गरे । जताततै विध्वंश मच्चाएर अर्बौं रुपियाँको क्षति गरे । हजारौँ नारीलाई विधवा बनाए । हजारौँ केटाकेटी टुहुरा भए । ‘प्रजातन्त्र’ लेखिएको २०४७ सालको संविधान उनीहरूकै दबाबमा अवैध घोषित भयो । त्यसपछि ‘गणतन्त्र’ लेखिएको संविधान ल्याइयो । बितेका दश वर्षमा गणतन्त्रको प्रसूतिगृहमा दशजना प्रधानमन्त्री पैदा भए तर राष्ट्र अझै अन्यौलमा छ । नेपाली जनताले गणतन्त्र चाहेको कि असफल राष्ट्रहरू हिँडिरहेको बाटो ? यसबारे गम्भीर भएर सोच्नैपर्छ । ‘प्रजातन्त्र’ त्यागेर गणतन्त्रको अनिश्चित बाटोतर्फ लाग्नुअघि चौतारामा बसेर एक घन्टा पनि छलफल गरेनन् नेताहरूले । जनता पनि ‘महाजनो येन गतः स पन्था’ (ठूला मान्छेहरू जता जान्छन्, बाटो त्यही हो) भन्दै पछिपछि लागे । परिणामहरू (दुष्परिणाम) आज ज्वालामुखी बनेर देखिँदैछन् । विद्रोह, विभाजन, विग्रह र विद्वेषको लाभा छरपस्ट हुँदैछ । विस्तीर्ण बन्दै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑