Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

राजावादीको ब्यक्तित्व टकराव


  • आक्रमण न्युज
  • २०८१ चैत्र ७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७७१ पाठक संख्या
  • साना ठुला गरी वर्तमान व्यवस्थाविरुद्ध लागेका १०० भन्दा बढी राजावादी संघ संगठन अस्तित्वमा रहेको दाबी गरिन्छ । ती संघ संगठनको मुख्य उद्देश्य राजतन्त्र र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयताको खारेजी हो । तर, आपसी बेमेलका कारण राजावादी समूहहरू एकजुट हुन सकेका छैनन् । सबै राजावादी समूहलाई एकजुट गर्ने उद्देश्यसहित पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’घोषणा गरिएपनि सुरुमै एकमत बन्न सकेन । जवकी लामो ‘होमवर्क’पछि समिति घोषणा गरिएको त्यसको निर्देशक समितिमा नाम भएकामध्येका केही सदस्यहरूको दाबी छ ।
    तर, समितिको सोमबार आयोजित घोषणा सभामै राजावादी समूहमध्येका सबैभन्दा बलियो शक्ति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन गएनन् । यस्तै राजावादी आन्दोलनका पुराना नेता तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि देखिएनन् । अर्थात्, उनीहरूसँग पर्याप्त छलफल बिना नै समिति घोषणा गरियो । जुन कुराको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पुष्टि गरिसकेका छन् । लिङ्देनले भने, ‘हामी यो प्रक्रियामै सामेल छैनौँ । हामीलाई जानकारी नै नभएको विषय हो ।’ पार्टीका केही साथीहरू उक्त समिति घोषणा कार्यक्रममा सोमबार उपस्थित भए पनि आफूसँग भने कुनै सल्लाह नभएको लिङ्देनको भनाइ थियो ।
    यसैबिच राप्रपाको मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा राजतन्त्र फर्काउने आन्दोलन गर्ने निर्णय गरिसकेको छ । सो पार्टीका महामन्त्री राजेन्द्र गुरुङले पार्टीले आन्दोलन गर्नका लागि चैत १२ गते लिङ्देन नेतृत्वको मूल समारोह समितिको बैठक तय गरेको रातोपाटीलाई बताए । यद्यपि राजसंस्थालाई स्थापित गर्नका लागि हुने कुनै पनि आन्दोलन या अभियानलाई पार्टीको साथ हुने उनको भनाइ थियो ।
    ‘पार्टीले पहिलेदेखि नै आन्दोलनको कार्यक्रम तय गरेको थियो र त्यो कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने भन्ने त छँदै छ । तर, अहिले पछिल्लो समयमा जुन ढंगले परिस्थिति तयार भइरहेको छ त्यो पृष्ठभूमिलाई केन्द्रमा राखेर समीक्षा र विश्लेषण पछि आन्दोलनले थप सशक्तता खोजेको निष्कर्ष निकालिएको छ’, गुरुङले भने, ‘नेपाली जनताको चाहनालाई सम्बोधन गर्नका लागि पार्टीले सशक्त ढंगले कार्यक्रम लाउनुपर्ने छ र त्यसका लागि मूल समारोह समितिको बैठक चैत १२ गते बोलाएका छौँ ।’ उक्त समितिको बैठकपछि आन्दोलनको कार्यक्रमलाई सशक्त ढंगले अघि बढाउने उनको भनाइ छ ।
    राप्रपाकै एजेन्डाका कारण राजसंस्थासहितको एजेन्डालाई स्थापित भएको जिकिर गर्दै उनले अब सोही अनुसार आन्दोलनको कार्यक्रम तय हुने बताए । राप्रपाका प्रवक्ता प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पनि पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा आन्दोलन गर्ने बताए । यसैगरी मंगलबार नै बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुवेदी नेतृत्वको समितिमा उपाध्यक्ष नारानाथ लुइँटेललाई पठाउने निर्णय गरेको छ । जबकि उक्त समितिमा कमल थापाको नाम थियो । जुन समितिमा थापा बस्न चाहेनन् ।
    राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार वर्तमान व्यवस्थाविरुद्धको अभियानमा लक्ष्य हासिल गर्न समान विचारधारा भएका सबै राजनीतिक दल र समूहका बिच एकता र सहकार्य कायम गरी संयुक्त जनआन्दोलनमा जानुपर्छ भन्नेमा भने पार्टी एकमत रहेको बताए । उनले समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रमहरूमा पार्टीले सहयोग गर्ने निर्णय गरेको मंगलबारपछिको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर, पार्टीले पनि आफ्नो ढंगले आन्दोलनका कार्यक्रमहरू भने गरिरहने बताइएको छ ।
    राप्रपा र राप्रपा नेपालले सुवेदीको समितिलाई पूरै अस्वीकार नगरेपनि आफ्नै आन्दोलनको जस पार्टी आफैँले समेत लिन खोजेको देखिन्छ । अर्कोतर्फ अहिले दुर्गा प्रसाईंले पनि आफूलाई सबैभन्दा कट्टर राजावादी देखाउन खोजेको देखिन्छ । माओवादी, एमाले जस्ता दल चहारेर अहिले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान चलाइरहेका मेडिकल व्यवसायी उनले हाकाहाकी राप्रपा र राप्रपा नेपालले राजसंस्था फर्काउन नसक्ने अभिव्यक्ति दिइसकेका छन् ।
    केही दिनअघि उनले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका थिए । ‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाईंले भनेका थिए, ‘२०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’ प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको आरोप समेत लगाएका थिए ।
    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह समेत गर्दै आएका छन् । ‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा बाण चलाउँछु’, प्रसाईंको भनाइ थियो । उनै प्रसाईं समेत सुवेदीको समितिमा छन् । राजावादी अभियान चलाइरहेका अर्का नेता केशर बहादुर विष्ट समेत सुवेदी नेतृत्वको समितिमा बस्न इच्छुक नरहेको बताइन्छ । सुवेदीको समिति मातहतको निर्देशक समितिमा राजावादीहरूले गठन गरेको निर्देशक समितिमा अस्मिता भण्डारी, कमल थापा, केसरबहादुर विष्ट, दुर्गा प्रसाईँ , पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र, राजेन्द्र लिङ्देन र हरिबहादुर बस्नेतलाई सदस्य राखिएको थियो ।
    पूर्वराजा ज्ञानेन्द्रकै सल्लाहमा उक्त जनआन्दोलन समिति बनाइएको कतिपयले दाबी गर्दै आएपनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन । समितिमा रहेका केही व्यक्तिहरूले त सुवेदीले फागुन २६ मा पूर्वराजालाई भेटेपनि समितिको अन्तिम तयारी गरेर घोषणा गरेको समेत जिकिर गरेका छन् । फागुन २५ मा पोखराबाट काठमाडौँ फर्किँदा केही हजार राजावादीले स्वागत गर्दा हौसिएका पूर्वराजा र त्यही पृष्ठभूमिमा राजावादीले पनि आफ्नो गतिविधिलाई तीव्रता दिन खोजेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑