आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

पुर्वराजाको बचाउ : नबिराउनु नडराउनुको सङ्केत


  • आक्रमण न्युज
  • २०८१ चैत्र १८, सोमबार मा प्रकाशित १ साल अघि
  • ४९१ पाठक संख्या
  • आइतबारको प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै गणतन्त्रवादी दलका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने मत जाहेर गरे । संसदमा यस्तो आवाज सुनिएपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले छाती पिट्दै भने, ‘राजावादी यहाँ छ, सके जेल हाल !’

    आइतबारको बैठकमा दोहोरो अवरोध थियो । एकातिर प्रतिपक्षी दल कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाइएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै संसदमा खडा थियो भने अर्कातिर त्यसको प्रतिवादमा सत्तारुढ दल नै आसनबाट उठेका थिए । सोही क्रममा सांसद रामहरि खतिवडा, ठाकुर गैरेलगायतले राजावादीलाई थुन्नुपर्ने माग गरेका हुन् ।

    वर्तमान व्यवस्था विरोधी राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त हिंसात्मक प्रदर्शनपछि प्रहरीले राप्रपाका उच्चतहका दुई नेतासहित १०० जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उक्त प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहकै योजना र निर्देशनमा भएको दाबीसहित उनलाई पक्राउ गरिनुपर्ने मत समेत कतिले राखेका छन् । सामाजिक सञ्जालमा उनलाई पक्राउको माग गर्दै अभियान नै चलाइएको छ ।

    तर, राजावादीहरुसहित सो समूहको सबैभन्दा ठुलो शक्ति राप्रपाले आधिकारिकरुपमै यसको प्रतिवाद गरिसकेको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष लिङ्देनले पूर्वराजालाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य भएको बताए । पूर्वराजालाई विवादमा ल्याउने कार्यको पार्टीले निन्दा गर्ने उनको भनाइ छ ।

    राजा फर्काउने दाबीसहित गठन गरिएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले पूर्वराजालाई अनावश्यक विवादमा तान्ने काम भएको दाबी गरिन् ।

    ‘आन्दोलन पूर्वराजाले आएर गरेको पनि होइन । पूर्वराजाले गरिदेऊ भनेको पनि होइन’, उनको दाबी थियो, ‘अब दुर्गा प्रसाईँजी पहिलेदेखि नै आन्दोलनमा हुनुहुन्थ्यो । हामी पनि राजसंस्था पुनर्स्थापनाको पक्षमा लागेको सुरुदेखि नै हो । अहिलेको आन्दोलन समयको माग मात्रै हो ।’

    पूर्वराजाको विषयमा जेजति कुरा आएका छन् त्यो उनीसँग सरोकारको विषय नभएको उनको दाबी छ । उसो त काठमाडौँ महानगरपालिकाले समेत पूर्वराजाकै नाममा तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा फोहोर मैला र तोडफोड भएको ठहरसहित पूर्वराजालाई जरिवानासहितको ८ वटा पत्र काटेको थियो ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा अब चुप नलाग्ने अभिव्यक्ति दिएका थिए । त्यतिबेला उनले देश जोगाउनका लागि आफूलाई साथ दिन देशवासीलाई आह्वानसमेत गरेका थिए । त्यसपछि भने उनले त्यसखालको सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

    तर, पूर्वराजाकै योजनामा तीनकुनेमा प्रदर्शन गरिएको ज्ञानेन्द्रमाथि आरोप लाग्दै आएको हो । सोही प्रदर्शनलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी नरहने चेतावनी दिइसकेका छन् ।

    यस्तो पृष्ठभूमिमा ज्ञानेन्द्र अहिले निर्मल निवासमै मौन बसिरहेका छन् । यद्यपि उनले आफ्नो पक्षमा भएका आन्दोलनमा दुर्गा प्रसाईँलगायतले संयमता गुमाउँदा आफूलाई नै विवादमा तान्ने काम भएको भन्दै निकटस्थहरूसँग गुनासो पोख्ने गरेका छन् । उनी निकटस्थ स्रोतका अनुसार पूर्वराजाले आफूलाई अप्ठ्यारो नबनाइदिन आन्दोलन समितिका व्यक्तिहरूलाई भनिसकेका छन् ।

    पूर्वराजाका एक सहयोगीले ज्ञानेन्द्रलाई विवादमा ल्याउन षड्यन्त्र भएको दाबी गरे । उनले रातोपाटीसँग भने, ‘राजाले कुनै निर्देशन पनि दिएको छैन । उहाँले कुनै समिति बनाएको पनि होइन । अनावश्यक विवादमा तान्ने प्रयास मात्रै भएको छ ।’ सरकारी पक्षबाटै पूर्वराजालाई विवादमा मुछ्ने काम भएको उनको भनाइ थियो ।

    तीनकुनेको हिंसात्मक आन्दोलनपछि सरकारले राजावादीमाथि निगरानी बढाएको बताइन्छ । शुक्रबारदेखि नै आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई नजरबन्द गरिएको छ भने उनको विकल्पमा जगमान गुरुङलाई आन्दोलनको नेतृत्व दिइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट