आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

शहीद पत्रकार कृष्ण सेन इच्छुकको स्मृतिमा भरतपुरमा दीप प्रज्वलन, योगदानको भावपूर्ण स्मरण


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३९७ पाठक संख्या
  •  

    भरतपुर । साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २३औँ स्मृति दिवसको अवसरमा मंगलवार साँझ भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन गरिएको छ। प्रेस सेन्टर चितवनको आयोजनामा भएको कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

    दीप प्रज्वलन कार्यक्रमको प्रमुख वक्ता तथा प्रेस सेन्टर नेपालकी केन्द्रीय उपाध्यक्ष शान्ता अधिकारीले स्वर्गीय सेनले नेपाली समाजको रुपान्तरणमा साहित्य र पत्रकारितामार्फत पुर्‍याएको योगदान स्मरण गर्दै, “उनका विचार र आदर्श आजको सन्दर्भमा अझ सान्दर्भिक छन्,” भन्दै इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुरका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ले तत्कालीन राज्यसत्ताद्वारा सेनमाथि गरिएको चरम अमानवीय व्यवहारको स्मरण गर्दै भने, “उनको जीवन, संघर्ष र बलिदान हाम्रो लागि प्रेरणाको स्रोत हो।”

    कार्यक्रममा प्रेस सेन्टर नेपाल चितवनका पूर्व अध्यक्ष प्रकाशमणि ज्ञवाली, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर भरतपुरका अध्यक्ष किशोर सापकोटा लगायतले पनि कृष्ण सेन इच्छुकप्रति श्रद्धासुमन अर्पण गरेका थिए।

    प्रेस सेन्टरका नेता चिन्तामणि पौडेलले इच्छुकको योगदानको चर्चा गर्दै भने, “उनले लेखनी र क्रान्तिका माध्यमबाट नेपाली जनताको आवाज बुलन्द बनाएका थिए।”

    २०५९ साल जेठ १३ गते काठमाडौंस्थित महेन्द्र पुलिस क्लबमा तत्कालीन सरकारले चरम यातना दिएर कृष्ण सेन इच्छुकको हत्या गरेको थियो। पत्रकारिता र कविताका माध्यमबाट जनताका आवाज उठाउने उनी जनआन्दोलनका अग्रपंक्तिका योद्धा थिए।

    कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले गरेका थिए। कार्यक्रमले शहीद सेनको बलिदान र विचारप्रति समर्पण व्यक्त गर्दै नयाँ पुस्तालाई पनि जिम्मेवारीपूर्ण र जनमुखी पत्रकारिताको मार्गमा अघि बढ्न प्रेरणा दिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट