
जनआन्दोलनको बलमा २४० वर्षीय शाह वंशीय राजतन्त्र ढलेपछिका केही वर्षसम्म पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास र नागार्जुनमा चुपचाप बसे । पछिल्ला वर्षहरूमा भने वर्तमान व्यवस्था र दलहरूको गतिविधिलाई लिएर बेलाबेला विज्ञप्ति र सार्वजनिक समारोहमार्फत घोपपेचमा उत्रिने गरेका पूर्वराजाको अभिव्यक्ति फागुन ७ सम्म आइपुग्दा ‘क्लाइमेक्स’मा पुग्यो । जुन अभिव्यक्तिले गणतन्त्र पक्षधर दलहरूमै तरङ्ग ल्याइदियो । पूर्वराजाले फागुन ७ को पूर्वसन्ध्यामा एक भिडियो सन्देशमार्फत देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार तथा युवामा बेचैनी बढिरहेको सन्दर्भमा असन्तुष्ट जनमतलाई आफूतर्फ तान्ने मनसायका साथ पूर्वराजाले आफू चुप नलाग्ने अभिव्यक्ति दिँदै वर्तमान व्यवस्थाप्रति खुलेआम चुनौती दिएका थिए ।
वर्तमान राजनीतिक दल र उनीहरूलाई चेतावनीयुक्त भाषामा शाहले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरे । ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ,’ पूर्वराजा शाहले कठोर भाषामा भिडियोमार्फत भनेका थिए, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’
पूर्वराजाको अभिव्यक्तिपछि राजावादी शक्तिहरू उत्साहित बने । संसदीय राजनीतिमा रहेको राजावादी दल राप्रपाले पार्टी बैठकबाटै पूर्वराजाको अभिव्यक्तिको स्वागत ग¥यो भने सोहीअनुसार आन्दोलनको कार्यक्रम तय ग¥यो । जसअनुसार देशभर सभा र मोटरसाइकल ¥याली गरेर राप्रपाले आन्दोलनको तयारी गर्दैगर्दा बिचमा नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा भयो । अर्कोतिर दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ’ अभियान पनि थियो नै । सुवेदीको समिति बन्नु अघि नै फागुन २५ मा पूर्वराजा पोखराबाट फर्किंदा राजावादीहरूले एक भएर विमानस्थलमा स्वागत गरे । आफ्नो स्वागतका लागि दशौँ हजार सर्वसाधारण विमानस्थलमा पुगेपछि ज्ञानेन्द्र थप उत्साहित बन्नु स्वाभाविक नै थियो ।
सोही उत्साहअनुसार नै पूर्वराजासमेतको समर्थनमा सर्वस्वीकार्य नेतृत्व भनेर सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलन समिति घोषणा गरिएको राजावादीहरू बताउँछन् । सो समितिमा राजावादी पार्टी राप्रपा र राप्रपा नेपालदेखि दुर्गा प्रसाईंसम्मलाई समेटियो भने सोही समितिमार्फत संयुक्त आन्दोलन गर्ने भनियो । भलै समितिमा राखिएका राजेन्द्र लिङ्देन लगायतले आफूसँगको सल्लाहविनै नाम समेटिएको भन्दै सार्वजनिक असन्तुष्टि नै जनाए । असन्तुष्टिकै बिच पनि राप्रपालगायत सबैले समितिलाई साथ दिने त भने तर अहिलेसम्म उक्त समितिमार्फत कुनै प्रभावकारी आन्दोलन हुन सकेको छैन । बरु दुर्गा प्रसाईंको आयोजनामा तीनकुनेमा चैत १५ मा राजावादीको प्रदर्शन आयोजना त गरियो तर सोही प्रदर्शनले पूर्वराजालाई नराम्ररी धक्का लाग्नुका साथै विवादित बनाएको छ ।
राजतन्त्र फर्काउने उद्घोषका गरिएको उक्त प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई कमाण्डर बनाइयो भने प्रदर्शनको अघिल्लो दिनमात्रै आशीर्वाद थाप्नका लागि प्रसाईं निर्मल निवास पुगेका थिए । तर, प्रदर्शनका क्रममा राजावादीले देखाएको अराजकताका साथै लुटपाट, आगजनी र तोडफोडको घटनाका साथै दुई जनाको मृत्युसमेत भएको सन्दर्भमा पूर्वराजा विवादित बनेका हुन् । चैत १५ को प्रदर्शनपछि गणतन्त्र पक्षधर प्रमुख दलका शीर्ष नेताले पूर्वराजामाथि कारबाहीको प्रसङ्ग निकालेका मात्रै छैनन्, पूर्वराजालाई जवाफदेही बनाउनुपर्छ भनेर संसदीय समितिमा प्रस्तावसमेत गरिएको छ । अझ संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीका तर्फबाट भएका हिंस्रक गतिविधिका लागि पूर्वराजा नै जिम्मेवार रहेको जिकिर गरे ।
झन्डै एक वर्षदेखि सरकार र व्यवस्थाप्रति घृणा फैलाउने काम ज्ञानेन्द्रबाट भएको उनको भनाइ थियो । ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?’, ओलीको भनाइ थियो । यसरी चौतर्फी रूपमा पूर्वराजा निशानामा परेपछि निर्मल निवासका तर्फबाट संवाद सचिव फणि पाठकलगायतले तीनकुने घटनामा पूर्वराजाको कुनै साइनो नभएको जिकिर गरे । औपचारिक तथा अनौपचारिक कुराकानीमा पूर्वराजाका अन्य सहयोगीहरूले आफ्नो पक्षमा भएका आन्दोलनमा दुर्गा प्रसाईंलगायतले संयमता गुमाउँदा आफूलाई नै विवादमा तान्ने काम भएको रातोपाटीसँग बताएका थिए । यतिमात्रै होइन, पूर्वराजाले आफूलाई अप्ठ्यारो नबनाइदिन आन्दोलन समितिका व्यक्तिहरूलाई भनेका थिए ।
सोही कारण हो या अन्य कारणले हो, चैत २१ देखि सशक्त आन्दोलन गर्ने भनेर घोषणा गरेको सुवेदी नेतृत्वको समिति अहिले सामान्य गतिविधिमै सीमित छ । त्यसमाथि पनि चैत १५ को प्रदर्शनलाई सघाएकाले सुवेदी घरमै अघोषित नजरबन्दमा परेपछि जगमान गुरुङ कार्यवाहक संयोजक बनेका छन् । उसो त १५ गतेको आन्दोलनपछि प्रसाईंसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रवीन्द्र मिश्र लगायत कैयन राजावादी पक्राउ परिसकेका छन् । यो पृष्ठभूमिमा पूर्वराजा शाह आइतबार नयाँ वर्ष २०८२ को अवसरमा भिडियो शुभकामना सन्देशसहित उपस्थित भए । यसअघि नै आफूलाई साथ दिन आह्वान गरिसकेका पूर्वराजा आइतबार भने सन्तुलित र आफूलाई तीनकुने घटनामा कुनै सरोकार नभएको जस्तो ढंगले प्रस्तुत भए ।

प्रतिक्रिया दिनुहोस