
हिन्दूवाद या हिन्दूत्वको प्रयोगलाई वैचारिक र सैद्धान्तिक रूपमा अझ सशक्त बनाउने समूह संगठन नेपालभित्र सक्रिय छन् । त्यसका असर राजावादी मात्र नभई समाजवादी देखि साम्यवादीहरूमा पनि पर्न थालेको छ । विगतमा यो शब्दको प्रयोग विश्वभरका हिन्दुवादी सङ्घहरूले मात्र यो शब्द प्रयोग गर्दथे । अब परिस्थिति फरक भएको छ । वैचारिक रूपमा हिन्दूत्वको प्रभाव नेपालको महत्त्वपूर्ण शक्ति र संस्थामा परिरहेको यसबाट बुझ्न सकिन्छ । विगतमा आफूमाथिको प्रहारमा चुप लाग्ने हिन्दूहरू जागृत हुन थालेका छन् । नेपालका हिन्दुहरू अन्य देशका हिन्दूमाथिको आक्रमणविरुद्ध बोल्न थालेका छन् । चाहे त्यो बङ्गलादेशमा होस् या भारतको पश्चिम बँगालमा नै किन नहोस् । हिन्दूमाथिको आक्रमणमा आवाज उठेको छ । सहिष्णु बन्दा बन्दा लखेटिनुपर्ने या मारिनुपर्ने पीडामा हिन्दुहरू परे । हिन्दूकुस क्षेत्र, अफगानिस्तान, पाकिस्तान हुँदै बँगालदेशबाट हिन्दू लखेटिए । दक्षिण एशियाको नेपाल र भारतमा खुम्चिन वाध्य बनाइएका हिन्दूमाथिको प्रहार बढ्दो छ । काश्मिर घटनाले पाकिस्तानमााथि दबाब बढेकै छ । उसले घटनाको निन्दा नगरेकोमा विश्वभरबाट दबाब मात्र परेर आफ्नो विगत इतिहासको पाकिस्तानी अधिकारीले आलोचना नै गरे । पाकिस्तानका रक्षामन्त्री खावजा असिफले जिहाद अर्थात् धर्मयुद्ध पश्चिमाले सृजना गरेको टिप्पणी गरेका छन् । उनले जिहादको सृजनाले पाकिस्तान समेत चुनौती भोगिरहेको बताए । विगतका शासकले पाकिस्तानको चरित्र नै परिवर्तन गरिदिएको र अहिलेको अवस्थाको कारक बनेको टिप्पणी गरे । यसमा अमेरिका र बेलायत जस्ता पश्चिमा देशको हात रहेको उनको टिप्पणी थियो । अफगानिस्तानमा अमेरिकाको समर्थनमा भएको युद्ध, सेप्टेम्बर ११ को आतंकवादी हमलापछिको युद्धमा पाकिस्तान सहभागी हुनुलाई पनि गलत भने । त्यहाँको रक्षामन्त्रीको अभिव्यक्ति पाकिस्तान आफै आतंकवादको शिकार छ र यसका पछाडि पाकिस्तान नभई बाह्य शक्तिको भूमिका रहेको भन्ने प्रकारको छ । तर, पाकिस्तानी सेनाप्रमुखको पहलगाम घटनाअघिको अभिव्यक्ति विवादमुक्त थिएन । पाकिस्तानमा अल्पसंख्यक हिन्दूमाथि आक्रमण भइरहेको घटना गम्भीर छ । त्यसको असर बङ्गलादेशमा समेत परेको छ जहाँ हिन्दू लखेटिने र हिंसाको तारोमा पर्ने क्रम बढ्दो छ । यसबारे राज्यको तहबाट भारत मात्र बोलिरहेको छ । आतंकवादलाई संरक्षण दिएको आरोप पाकिस्तानमाथि लाग्नुको आधारहरू प्रशस्त छन् । अफगानिस्तानमा रुसविरुद्धको युद्धमा अमेरिकालाई साथ दिँदा तालिवानलाई पाकिस्तानले नै संरक्षण गरेको थियो । अल कायदाले समेत पाकिस्तानबाट साथ पायो । पछि अल कायदा नेता ओसामा बिन लादेन पाकिस्तानी भूमि अबोटावादमा मारिए । तालिवानले त सत्ता कब्जा अघि पाकिस्तानमा अड्डा बनाएका थिए । न्युयोर्क ट्रेड टावर अर्थात् जुम्ल्याहा भवन ध्वस्त पारिएको सेप्टेम्बर ११ पछिको युद्धमा पाकिस्तान अघोषित रूपमा सहभागी भयो । काश्मिरमा भएका कतिपय हमलामा पाकिस्तानमाथि आरोप लाग्यो । मुम्बई हमलामा पनि पाकिस्तानको भूमिकाको विषय आयो । यसकारण पनि पाकिस्तानले आतंकवादलाई साथ दिने गरेको आरोप लाग्ने गरेको छ । पाकिस्तानी सेना प्रमुखको हालैको विवादास्पद अभिव्यक्ति यसै उद्देश्यले प्रेरित छ । यी घटनाले नेपाल, भारतलगायत हिन्दू बाहुल्य देश तथा समाजमा जागरण ह्वात्तै बढेको छ । पहिलो पटक हिन्दुहरू संगठित भएर काश्मिर घटनामा बोले । अन्य देशमा पनि हिन्दूमाथि भएका आक्रमणमा जोडतोडले आवाज निकाले । जसको असर नेपालसम्म परेको छ । फलस्वरुप हिन्दूवादी शक्ति विभिन्न ढंगले सक्रिय हुनथालेका छन् । क्रियाको प्रतिक्रिया हुन्छ नै । हिन्दूहरुले एकपछि अर्को चुनौतीको सामना गर्दा गर्दा आफ्नो रक्षाका लागि एकतावद्ध हुनुको विकल्प देखेका छैनन् । आफ्नो पहिचान र अस्तित्वमाथि नै संकट आउन थालेको बुझेर जागरुक हुन थालेका छन् । त्यो जागरण नेपालका राजनीतिक दल, सामाजिक संस्था देखि समाजको तल्लो एकाईसम्म पुगिरहेको छ ।




प्रतिक्रिया दिनुहोस