आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

राप्रपामा लिङ्देन विरुद्ध मोर्चावन्दी


  • आक्रमण न्युज
  • २०८२ अषाढ ३१, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३९६ पाठक संख्या
  • राजसंस्था पुनर्स्थापनको निर्णायक आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक कलहमा फसेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको संस्थापन पक्ष र वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा नेतृत्वको इतर समूहले रस्साकस्सी चलेको छ ।

    शक्ति आर्जनको रस्साकस्सीमा रहेका कारण एकले अर्कोलाई कमजोर पार्ने रणनीति बनाउन थालेका छन् । २५ असारमा अध्यक्ष लिङ्देनले अनुशासन आयोगमा रोशन कार्कीलाई नियुक्त गरेको र प्रवक्ता सगुनसुन्दर लावतीलाई हटाएको विषयले थप चर्को रुप लिन थालेको छ । अध्यक्ष लिङ्देनको उक्त निर्णयको विपक्षमा इतर समूह भेला भएर प्रतिवादको नीति लिएका छन् । महामन्त्री धवल शमशेर राणाको निवासमा २८ असारमा भेला भएर इतर समूहका नेताहरूले विरोधमा देखिएका छन् । अनुशासन आयोगको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । उनलाई हटाएर कार्कीलाई नियुक्त गरिएपछि इतर समूह निर्वाचन आयोगमा उजुरी लिएर जाने निर्णयमा पुगेको छ । राणानिवासमा भेला भएका उनीहरूले सुवेदीलाई आयोगबाट हटाउने निर्णय अध्यक्ष लिङ्देनको अवैध निर्णय भनेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि तेस्रो जनआन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका सुवेदीलाई अध्यक्ष लिङ्देनले किन हटाउने निर्णय गरे ? भन्ने पनि चासोको विषय बनेको छ ।

    सुवेदीलाई जनआन्दोलन परिचालन समितिको संयोजक पुर्वराजा ज्ञानेन्द्र शाहको चाहनाभन्दा पनि राप्रपाका अध्यक्ष लिङ्देन इतर समूहको रणनीतिअनुसार भएको खुलेको थियो । त्यो पनि ज्ञानेन्द्र शाहकै सामुन्ने निर्मल निवासमा । खासगरी, नेताहरू प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवल शमशेर राणा, रविन्द्र मिश्रलगायतको टोलीले निरन्तरको छलफलपछि राप्रपा अध्यक्ष लिङ्देनलाई असफल पार्न सुवेदीलाई अघि सारेका निर्मल निवासमै पोल खुलेको हो । उनीहरूले लिङ्देनले समेत स्वीकार गरेको भन्दै शाहलाई मनाएको पुष्टि भएको छ ।

    निर्मल निवासमा शाहले राप्रपाका नेताहरूलाई भेट्न बोलाएको बेला ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्रलाई सुवेदीलाई संयोजक बनाएको विषय उठाएका थिए । शाहीले उक्त प्रसंग उठाएलगत्तै शाहले आफ्नो चाहना र नीतिमा नभएको प्रष्टीकरण दिएका थिए । त्यो भेटमा सहभागी लोहनी, पाण्डेसहितको टोली रातो मुख लगाएका थिए । स्रोतहरूका अनुसार त्यही बैठकमा सुवेदीलाई ज्ञानेन्द्रले नभई अरु नै समूहले अघि सारेको पुष्टि भएपछि स्वयम् सुवेदीले पनि आफूलाई ज्ञानेन्द्रले नभई अन्य समूहको प्रस्तावमा अघि सरेको बताएका थिए, त्यो पनि राजेन्द्र लिङ्देनकै सामुन्नेमा । त्यसपछि राप्रपाको शक्ति समीकरणमा थप फेरबदल मात्र देखिएको छैन, एकले अर्कोलाई काउन्टर नीति लिन थालेका छन् ।

    राप्रपा आउँदो मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको छ । त्यसकारणले पनि उनीहरूको सक्रियता थप बढेको हो । अध्यक्षका लागि अहिले अध्यक्ष राजेन्द्र लिङ्देन दोहोरिने पक्षमा रहेका छन् । अनि, उनको विकल्पमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवल शमशेर राणा देखिएका छन् । अहिलेसम्म पाण्डे अध्यक्षको दाबेदारमा देखिएका छन् । र, पार्टी संगठनमा त्यसरी नै लगानी बढाएका छन् ।

    यता धवलको चाहना अध्यक्षमा छ वा पाण्डेलाई साथ दिन्छन् भन्ने चाहिँ प्रष्ट नभइसकेको राप्रपा नेताहरूको भनाइ छ । राप्रपा स्रोतका अनुसार राणाको संगठनमा पकड नभएका कारण लिङ्देनको विपक्षी टीममा उभिने संभावना छ । त्यो भने पाण्डेलाई साथ दिने देखिन्छ । पाण्डेलाई नेता प्रकाशचन्द्र लोहनीले पनि साथ दिने देखिएको छ । तर, पशुपति शमशेर राणा भने कता खुल्छन् भन्ने अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, उनी लिङ्देनलाई साथ दिँदै आएका छन् ।

    लोहनी र राणाले अघिल्लो महाधिवेशनमा लिङ्देनलाई साथ दिएका थिए । सांसद हुन नपाएपछि लोहनी विच्चिएका हुन् भने राणा मन्त्री हुन नपाएपछि लिङ्देनसँग भड्किएका हुन् । पार्टीको कार्यसमिति सदस्यहरूले लोहनीको सट्टा पशुपति शमशेर राणालाई समानुपापतिकको बन्द सूचीको एक नम्बरमा पार्ने निर्णय लिए, जसले गर्दा लोहनी अध्यक्ष लिङ्देनसँग टाढिएका थिए ।

    राप्रपा स्रोतहरूका अनुसार राणाचाहिँ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हुन चाहन्थे । तर, लिङ्देनले अन्तिम समयमा विक्रम पाण्डेलाई मन्त्री बनाए । त्यसपछि राणा निरन्तर विपक्षमा उभिएका छन् । राणालाई विच्काएर पाण्डेलाई मन्त्री बनाएको भए पनि लिङ्देनको साथमा भने पाण्डे पनि छैनन् । पाण्डे सहरी विकासमन्त्री भएको बेलामा ऊर्जामन्त्री रहेका अध्यक्ष लिङ्देनले पाण्डेकै सेटिङको सिंचाईको साढे २ अर्बको ठेक्का रद्द गराईदिएका थिए । त्यसपछि विच्किएका पाण्डे अहिले अध्यक्षमै चुनौती दिने तयारीमा रहेका छन् ।

    यसरी, शक्तिसंघर्षमा रहेका बेलामा सुवेदीलाई अनुशासन आयोगबाट हटाउने निर्णय लिङ्देनका लागि जोखिमपूर्ण थियो । त्यसमाथि प्रवक्ता लावतीलाई हटाउने निर्णय पनि इतर समूहका लागि अर्को मसला । लावतीका बाबु पद्यमसुन्दर लावतीदेखि नै लिङ्देनसँग राम्रो सम्बन्ध नरहेको पनि राप्रपा नेताहरूको भनाइ छ ।

    इतर समुह २८ असारमा राणाको अपार्टमेन्टमा बिहान ९ बजेदेखि १ बजे सम्म बैठक बसेको थियो । र, त्यो बैठकमा लोहनी र राणासहित, पाण्डे, हरिबहादुर बस्नेत, कुन्ती शाही, लावती, रिरञ्जन थापा, किशोर कार्की, प्रेम बलायर, मुकुन्दश्याम गिरीलागयतका नेताहरू सहभागी रहेको बताइएको छ । उनीहरू २९ असार बिहान अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध निर्वाचन आयोग जाने निर्णय गरेका छन् । यो निर्णयसँग राप्रपामा दुई खेमा प्रष्ट भएको छ । यसले आउँदो महाधिवेशनका लागि चाँडै नै दुई समूहमा कित्ताकाट भइसक्ने पनि संकेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट