आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

पार्टी खोल्नबाट बालेन किन ‘ब्याक’ ?


  • आक्रमण न्युज
  • २०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ३६६ पाठक संख्या
  • भदौ २३–२४ को आन्दोलनपछि देशभर सबैभन्दा बढी आशा गरिएको नाम थिए– काठमाडौं महानगरपालिका मेयर बालेन शाह । आन्दोलनपछि देश र जनताले उनीमाथि भरोसा गरेका थिए । र, नेतृत्वको अपेक्षा पनि उनीसँगै जोडिएको थियो । तर बालेन अघि बढेनन् । ‘म देशको नेतृत्व गर्छु’ भन्नेलाई पनि साथ दिएनन् ! देशको नेतृत्व बालेनले लिनुपर्ने आवज चौतर्फी उठारहँदा अस्थायी नभई स्थायी रुपमा नेतृत्व गर्ने उनको आशय थियो । अन्तरिम सरकारको नेतृत्वको प्रसङ्गमा उनले भनेका थिए– “अहिलेको सरकार छोटो अवधिको मात्र हो, म भने निर्वाचनपछि स्थायी रूपमा देशको नेतृत्व गर्न चाहन्छु । अहिले हतार गर्ने बेला होइन । तपाईंहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । कृपया हतार नगर्नुहोस् ।”
    त्यसपछि उनको प्रस्तावमै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तय ग¥यो । निर्वाचन घोषणा भएपछि धेरैले बालेनले पार्टी बनाएर चुनावमा आउने अनुमान गरे । उनले “हाम्रो नेपाली पार्टी” नाममा नयाँ दल गठनको तयारी गरेको चर्चा पनि चर्कियो । यो दल मूलतः ‘लौरो अभियान’ का कार्यकर्ताबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।
    पार्टी खोल्ने तयारीस्वरुप बालेनले पटकपटक विभिन्न व्यक्तिहरूसँग छलफल पनि गरे । उनले पार्टीमा धरानका मेयर हर्क साम्पाङ, कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र केही कलाकारलाई पनि जोड्ने प्रयास गरेका थिए । पार्टीको लक्ष्य देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई एक प्लेटफर्ममा ल्याउने र आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा आवाज बन्ने थियो । तर, पछिल्ला विवाद र राजनीतिक चर्कोपनाबीच बालेन पार्टी गठनबाट पछि हटेका छन् ।
    उनका निकट स्रोतका अनुसार उनले अब कुनै नयाँ दल नबनाउने र कुनै पनि पुरानो दलमा सामेल नहुने निर्णय गरेका छन् । उनले भनेका छन्–“म निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्छु ।” तर बालेनले जेन–जी आन्दोलनका एजेन्डा बोकेका उम्मेदवार वा दललाई समर्थन गर्ने बताएका छन् । जेन–जी आन्दोलनको बलमा ओली सरकार ढलेपछि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यबारे गर्न चर्चा पनि चलेको थियो । त्यतिबेला रबि लामिछानेले बालेन वा कुलमान घिसिङलाई पार्टीको नेतृत्व दिन सक्ने चर्चा थियो । तर सोबिता गौतम, डा. स्वर्णिम वाग्ले र दीपक बोहरालगायत नेताहरूको असहमति पछि विषय टुंगिएको थिएन ।
    त्यसपछि कुलमान घिसिङ र सुमना श्रेष्ठले नयाँ दल गठनको तयारी गरे, जसमा बालेन पनि जोडिने भनिएको थियो । तर उनले सबै अफवाह अस्वीकार गर्दै स्पष्ट रूपमा भनेका छन्–
    “म अहिले कुनै दलमा जान वा नयाँ पार्टी बनाउन खोजिरहेको छैन । संविधानको सम्मान गर्दै जेन–जी आन्दोलनका एजेन्डा बोकेकालाई समर्थन गर्छु ।” बालेन पछिल्लो समय निरन्तर विवादमा तानिँदै आएका छन् । गत शनिबार राति उनले अमेरिका, भारत, चीनसहित नेपाली राजनीतिक दलहरूविरुद्ध अशलील शब्दमा एउटा स्टाटस लेखे । केही बेरमै स्टाटस हटाए पनि त्यसको स्क्रिनसट भाइरल भयो । स्टाटसमा उनले अमेरिका, भारत र चीनका साथै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । स्टाटसको अन्त्यमा उनले “तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ” भनेर लेखेका थिए ।
    पछिल्लो समय बालेनमाथि अन्तर्राष्ट्रिय शक्तिसँग साठगाठ गरेको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा उनी अदृश्य शक्ति बनेर सक्रिय भएको भन्ने चर्चा थियो । यहीबेला उनले चीन, भारत, अमेरिकासहित नेपालका प्रमुख दलहरूलाई गाली गर्दै स्टाटस लेखेका थिए । तर, चौतर्फी विरोध भएपछि उक्त स्टाटस् डिलेट गर्न बाध्य भए । अन्तर्राष्ट्रिय शक्तिले पनि उनको साथ छाड्दै गएको बताइन्छ । त्यसै कारण उनले विश्वशक्ति अमेरिका–चीनलाई पनि अश्लिल शब्दमा गाली गरेको चर्चा भइरहेको छ । बालेन विगतमा पनि आफ्ना विरोधिवरुद्ध यसरी नै खनिने गरेका थिए, जसरी शनिबार राति अमेरिका, चीन र भारतविरुद्ध खनिए ।
    उनको उक्त स्टाटसप्रति धेरैले आपत्ति जनाएका छन् । आलोचकहरूले बालेनको भाषालाई अशोभनीय भन्दै उनको छविलाई धुमिल हुने टिप्पणी गरेका छन् । केही समर्थकहरूले भने यसलाई राष्ट्रिय स्वाभिमानको अभिव्यक्ति भनेर बचाउ गरेका छन्, तर आलोचना व्यापक छ । त्यसअघि उनको “किसानलाई फोहोरी” भन्ने कविता पनि विवादित बनेको थियो । ‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गरेका उनले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेका थिए । जसको व्यापक आलोचना भयो ।
    श्रमिक, किसान, मजदुरप्रति बालेनको धारणा पहिलेदेखि नकारात्मक भएको भन्दै आलोचना भयो । कृषी सम्बन्धी संघसस्थाले बालेनले किसानलाई अपमान गरको भन्दै विरोध जनायो । मेयर साहले कवितामा किसानलाई होच्याउने र स्वाभिमानमा चोट पुग्ने गरी अपमान गरेको भन्दै माफी समेत गरेका थिए । तर, बालेन त्यो विषयमा पनि मौन बसे ।

    अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंका बालेन र धरानका हर्क साम्पाङ स्वतन्त्र रूपमा मेयर बनेका थिए । प्रारम्भमा सम्बन्ध सौहार्दपूर्ण भए पनि जेन–जी आन्दोलनपछि तीव्र दरार देखा पर्यो । जेनजी आन्दोनपछि प्रधानमन्त्री दाबी गर्न हर्क धरानबाट काठमाडौं आए । अन्तरिम सरकार गठनका लागि नेपाली सेनासँग भएको छलफलमा समेत सहभागी भए । तर काठमाडौंका मेयर बालेनले हर्कको सट्टा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरे । र, कार्की नेतृत्वमै अन्तरिम सरकार गठन भयो । त्यसयता हर्कले सामाजिक सञ्जालमा बालेनप्रति तीव्र असन्तुष्टि जनाए । प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएपछि हर्कको आक्रोश चुलिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट