
नेपाली राजनीति अस्वाभाविक रूपमा तातेको छ । यो तातोपन कुनै वैचारिक बहसको परिणाम होइन, न कुनै स्पष्ट राष्ट्रिय एजेन्डाको घोषणा हो । यो तातोपन असन्तोष, आक्रोश र असफल भावनाको राजनीतिक व्यवस्थापनबाट सिर्जित भएको हो । आज नेपाली राजनीतिमा देखिएको मूल समस्या यही हो, आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति ।
दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो । जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन होइन ! बालेन्द्र साह को उदय यसै आक्रोशको परिणाम हो । उनि व्यवस्थाको उपज होइनन्, व्यवस्थाप्रतिको असन्तोषका प्रतिनिधि हुन् । यही कारण उनि लोकप्रिय छन् । आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । बालेन्द्र शाह को राजनीतिक अभ्यास भावनात्मक रूपमा प्रभावशाली देखिएको छ । भ्रष्टाचारविरुद्धको नारा, पुराना दलमाथिको आक्रोश र निष्कर्ष उनले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । राज्य सञ्चालन कुनै बहस होइन, जहाँ प्रश्न सोधेर लोकप्रियता कमाउन सकियोस् । राज्य निर्णयको निरन्तर शृङ्खला हो, जहाँ प्रत्येक निर्णयले अर्को पुस्तासम्म असर पार्छ । बालेन्द्र साहको राजनीतिमा निर्णयभन्दा प्रतिक्रिया बढी देखिन्छ ।
प्रतिक्रिया लोकप्रिय हुन सक्छ, तर नीति लोकप्रियताबाट होइन, दूर दृष्टिबाट तय हुन्छ । बालेन्द्र साहको सन्दर्भ झनै संवेदनशील छ । उनले देखाएको सक्रियता, कार्यशैली र भ्रष्टाचार विरोधी अडानले स्थानीय तहमा नयाँ ऊर्जा दिएको छ। देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो ! बालेन्द्र साहको सार्वजनिक अभिव्यक्ति हेर्दा व्यक्ति केन्द्रित सोच प्रबल देखिन्छ । लोकतन्त्र व्यक्तिको होइन, संस्थाको शासन हो । व्यक्ति बलियो हुँदा संस्था कमजोर भयो भने त्यो व्यवस्था दीर्घकालीन रूपमा टिक्दैन । साझा राजनीतिक दर्शन होइन, साझा आक्रोश हो ! नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ । हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् ।
बालेन्द्र साहको सम्भावित उदयले उत्साह जन्माएको छ । यो उत्साह कुनै परम्परागत दलको सत्ता–लोभ होइन, यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको देन हो । राजनीति सधैँ ‘हामी मात्र शुद्ध, अरू सबै भ्रष्ट’ भन्ने सरल निष्कर्षमा अडिएको हुन्छ । यस्तो निष्कर्षले लोकतान्त्रिक संवादलाई समाप्त गर्छ र समाजलाई ध्रुवीकरणतर्फ धकेल्छ । यही ध्रुवीकरणको फाइदा सधैँ अधिनायकवादी सोचले उठाउने गरेको इतिहास छ । अधिनायकवाद सधैँ बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ । जब जनता संस्थाभन्दा व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र कमजोर हुन्छ ! राजनितिक शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसे । परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो ।
पार्टीहरूको सहकार्य आज कुनै वैकल्पिक रणनीति होइन, ऐतिहासिक आवश्यकता हो । यो सहकार्य सिटको गणितका लागि होइन, देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि हो । साझा न्यूनतम कार्यक्रम, स्पष्ट वैचारिक दिशा र अनुभवी नेतृत्वको संयोजनबिना मुलुक सुरक्षित रहन सक्दैन ! बालेन्द्र शाह जस्तो नयाँ शक्तिको उदय लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । तर, नयाँ शक्तिले पनि संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र राष्ट्रिय जिम्मेवारी देखाउनुपर्छ । नत्र, त्यो नयाँपन आफैँमा बोझ बन्छ ।
आज नेपाल निर्णायक मोडमा उभिएको छ । आक्रोशलाई विवेकले, भावनालाई नीतिले र व्यक्तिलाई संस्थाले नियन्त्रण गर्ने कि नगर्ने भन्ने प्रश्न हाम्रो सामु छ । यदि अनुभवी, वैचारिक रूपमा स्पष्ट र राष्ट्र केन्द्रित शक्तिहरू समयमै एकजुट भएनन् भने भोलि इतिहासले कठोर प्रश्न गर्नेछ ।
प्रतिक्रिया दिनुहोस