आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

जीवनले फेरि एकपटक नयाँ मोड लियो…


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित १६ घण्टा अघि
  • २७४ पाठक संख्या
  • लेखकको वास्तविक घट्नामा आधारित लेख…….. 
    विवाह र मृत्यु लेखिएकै हुन्छन् भन्ने भनाइमा सायद कसैको दुईमत नहोला। पहिलो वैवाहिक सम्बन्ध टुटेपछि मैले फेरि विवाहको बाटो रोजुँला भन्ने कल्पना पनि गरेकी थिइनँ। तर जीवनले आफ्नै कथा लेख्दोरहेछ। प्रेमको यात्रामा हिँड्दै जाँदा आज म पुनः कानुनी रूपमा वैवाहिक बन्धनमा बाँधिएकी छु।

    सम्बन्ध विच्छेद भएको चार वर्षपछि मैले दोस्रो विवाह गरेँ। यो विवाहको सबैभन्दा भावुक पक्ष के थियो भने मेरो आफ्नै छोरीहरू जन्ती बने। हातमा मेहेन्दी लगाइदिने, सिंगारिदिने र नयाँ घरको ढोका भित्र्याउनेसम्मका हरेक क्षणमा उनीहरूकै माया र साथ थियो। एक आमाका लागि त्योभन्दा ठूलो आशीर्वाद अरू के हुन सक्छ र?

    मैले सन्तानको भविष्य हेरेँ कि हेरिनँ भन्ने प्रश्नको उत्तर समयले दिनेछ। तर यति अवश्य भन्न सक्छु—मेरा सन्तान हिजो पनि मसँगै थिए, आज पनि मसँगै छन् र भोलि पनि मसँगै रहनेछन्। उनीहरू मेरो जीवनको पहिलो प्राथमिकता हुन् र सधैं रहनेछन्।

    मेरो परिवारले, उहाँको परिवारले र हाम्रो सम्बन्धलाई विश्वास गरेर हामीलाई स्वीकार गर्ने सम्पूर्ण आफन्तजनप्रति म जीवनभर ऋणी रहनेछु। दुई वर्षको प्रेम सम्बन्धमा हामीले देखेका सपना यति सहज रूपमा पूरा होलान् भन्ने लागेकै थिएन। आशा थियो, तर डर पनि उत्तिकै थियो। समाजका प्रश्न, आलोचना र जटिल परिस्थितिहरूले कहिलेकाहीँ मनलाई थकित बनाउँथे। तर ती सबै डरलाई जितेर हामी आज यहाँ आइपुगेका छौँ।

    विशेष गरी मेरा श्रीमानप्रति म हृदयदेखि नै आभारी छु। समाजले अनेक नाम दिने, दुई सन्तानकी जिम्मेवार आमा र सम्बन्ध विच्छेदको पीडा भोगिसकेकी महिलालाई आफ्नो जीवनसाथीका रूपमा स्वीकार गर्नु सामान्य कुरा होइन। यो समाजमा त्यो निर्णय लिन साहस, विश्वास र प्रेम चाहिन्छ। उहाँले त्यो साहस देखाउनुभयो, त्यो विश्वास गर्नुभयो र त्यो प्रेम दिनुभयो।
    धेरैको जिज्ञासा छ—“उहाँ त तपाईंभन्दा कान्छो हुनुहुन्छ रे?”

    हो, उहाँ उमेरले मभन्दा कान्छो हुनुहुन्छ। तर साहस, जिम्मेवारी, समझदारी र प्रेमको हिसाबले उहाँ धेरै परिपक्व हुनुहुन्छ। उमेरको संख्या मात्र हेरेर सम्बन्धको मूल्याङ्कन गर्न सकिँदैन। आखिर यही समाजले वर्षौँदेखि श्रीमती श्रीमानभन्दा कान्छी हुनुपर्छ भन्ने मान्यता स्वीकार्दै आएको छ भने महिलाले आफूभन्दा कान्छो पुरुषसँग विवाह गर्दा किन प्रश्न उठ्छ?

    महिला पनि मानव हुन्। उनीहरूलाई पनि आफ्नो जीवन, आफ्नो खुशी र आफ्नो रोजाइको अधिकार छ। सम्बन्धको आधार उमेर होइन, आपसी सम्मान, विश्वास, प्रेम र जिम्मेवारी हुनुपर्छ।

    अझै पनि कतिपय ठाउँमा विवाह दर्ता गर्दा महिलाको उमेर पुरुषभन्दा बढी देखियो भने अनावश्यक प्रश्न र शंकाहरू उठाइन्छन्। कानुनले स्वीकार गरेको सम्बन्धलाई समाजले किन अस्वीकार गर्ने? परिवर्तन कानुनमा मात्र होइन, सोचमा पनि आउन आवश्यक छ।

    आज म समाजसँग एउटा प्रश्न सोध्न चाहन्छु—श्रीमती गुमाएको केही समयमै पुनः विवाह गर्ने पुरुषलाई सामान्य मान्ने समाजले सम्बन्ध विच्छेद भएको चार वर्षपछि नयाँ जीवन सुरु गर्ने महिलालाई किन प्रश्नको घेरामा राख्छ? महिला र पुरुष दुवै यही समाजका सन्तान हुन्, दुवै मानव हुन्। अनि नजर र व्यवहार किन फरक?

    समाज तब मात्र अगाडि बढ्छ, जब सोच बदलिन्छ। जब महिलाको खुशी, इच्छा र निर्णयलाई पनि पुरुषसरह सम्मान गरिन्छ।
    आजदेखि हामी नेपालको कानुनले पनि श्रीमान–श्रीमतीका रूपमा स्वीकार गरेको जीवनयात्रामा अघि बढेका छौँ। यो यात्रामा हामीलाई माया, साथ, शुभेच्छा र आशीर्वाद दिने सम्पूर्ण आत्मीयजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

    माया, विश्वास र सम्मानले बाँधिएको यो सम्बन्ध जीवनभर सुन्दर रहोस् भन्ने कामना गर्दै…
    – वीरङ्गना योगी शाही
    कोहलपुर–२ 🙏💐

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%८%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट