आज: २०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

बदलिएको काङ्ग्रेस


  • आक्रमण न्युज
  • २०८३ कार्तिक ९, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • ३५ पाठक संख्या
  • बीपी कोइरालाले परिकल्पना गरेको ‘गाउँ फर्केको कांग्रेस’ र समाजवादको केन्द्रमा रहेको ‘हलो जोत्ने किसान’ को आदर्शलाई १५औं महाधिवेशनको परिदृश्यले गम्भीर प्रश्नको घेरामा ल्याइदिएको देख्ने, जान्ने, सुन्नेहरु बताउँछन्। नेतृत्व चयनको मुख्य थलो मानिने महाधिवेशन वैचारिक बहस, नीति निर्माण र तल्लो तहका कार्यकर्ताको भावना प्रतिविम्बित गर्ने लोकतान्त्रिक उत्सव बन्नुपर्ने अपेक्षा गरिन्छ। तर, हालै सम्पन्न महाधिवेशनका केही आन्तरिक अभ्यास र व्यवस्थापकीय कमजोरीहरूले ‘सुध्रिएको वा बदलिएको कांग्रेस’ भन्ने नारालाई नै व्यावहारिक रूपमा चुनौती दिएको गुनासो पार्टीभित्रैबाट उठ्न थालेको छ।

    विशेषगरी, नेतृत्व तहमा भुइँमान्छेको प्रतिनिधित्व खुम्चिँदै गएको र पार्टी संरचना एउटा सीमित सम्भ्रान्त वर्गको ‘क्लब’ मा परिणत हुन थालेको टिप्पणीलाई यस महाधिवेशनले थप बल पुर्‍याएको छ। कुनै पनि महाधिवेशनको लोकतान्त्रिक अभ्यास त्यसको प्रक्रियागत पारदर्शिता र स्पष्ट नियममा निर्भर हुन्छ। तर, यसपटकको महाधिवेशनमा मैदानमा उत्रिएका कतिपय इमानदार प्रतिनिधिहरूले ‘खेलको नियम’ नै स्पष्ट नभएको महसुस गरे। क्रियाशील सदस्यताको वितरण र तल्लो तहको अधिवेशनदेखि नै व्यवस्थापकीय संरचनामा पुराना र निष्ठावान् कार्यकर्ताको पहुँच कमजोर देखिएको गुनासो व्यापक रह्यो। विशेष महाधिवेशन र नियमित महाधिवेशनका स्थापित विधि तथा मर्यादाहरूलाई परिस्थितिको अनुकूलतामा प्रयोग गरिएको भन्दै नेतृत्वको आलोचना भएको छ। निर्वाचनको मिति तय भइसकेपछि पनि अन्तिम समयमा आएर मतदान प्रक्रियालाई एक दिन पछाडि धकेल्ने निर्णयले धेरैमा संशय पैदा गर्‍यो।

    निर्धारित मितिमै मतदान भएको भए परिणाम फरक र बढी स्वाभाविक आउन सक्ने आकलन गरिएका बेला, मतदान सार्ने निर्णयले अस्वस्थ चलखेललाई प्रश्रय दिएको र प्रतिनिधिहरूलाई रातारात ‘चिट’ बाँड्ने तथा टेलिफोनबाट अनावश्यक दबाबमा पारेको टिप्पणी महाधिवेशन प्रतिनिधिहरूबाटै सुनियो। पार्टीको नीति निर्माण र नेतृत्वको शैली गाउँको चौतारीबाट टाढिएर काठमाडौंका बन्द कोठाहरूमा केन्द्रित हुन थालेको चिन्ता कांग्रेसभित्र नौलो होइन। यस महाधिवेशनले पार्टीभित्र एउटा यस्तो ‘कम्फर्ट क्लब’ हाबी भएको सन्देश दिएको छ, जसको देशको वास्तविक भूगोल, गरिबी र तल्लो तहका जनताको दैनिक जीवनसँगको सामीप्यता निकै कम छ।

    यो ‘कम्फर्ट क्लब’ भित्र वैचारिक विमर्शभन्दा पनि ‘ब्रेकफास्ट बैठक’ र सम्भ्रान्त जीवनशैलीको प्रभाव बढी देखिन्छ। दुई छाक खान संघर्ष गरिरहेका सीमान्तकृत नागरिक र जीवनभर पार्टीको झण्डा बोकेर हिँड्ने गाउँका कार्यकर्ता एकातिर, अनि केन्द्रमा स्रोत र साधनमाथि पहुँच राख्नेहरू अर्कातिर हुँदा पार्टीको वैचारिक धरातल कमजोर बन्दै गएको छ। नयाँ सहरी मतदातालाई आकर्षित गर्ने रणनीतिका नाममा पार्टीको आधारभूत इन्जिन मानिने ग्रामीण जनाधार र पुराना इमानदार सिपाहीहरूलाई उपेक्षा गरिएको गुनासोले संगठनभित्र गहिरो असन्तुष्टि जन्माएको छ। पार्टीभित्र भौगोलिक सन्तुलन र समावेशिताका मुद्दाहरू प्रायः दस्तावेजमा मात्र सीमित हुने गरेको दृष्टान्त यसपटक पनि देखियो।

    सुदूरपश्चिम, कर्णाली र तराई–मधेसका विकट क्षेत्रहरूले केन्द्रको शक्ति बाँडफाँटमा आफूलाई सधैं उपेक्षित महसुस गर्दै आएका छन्। सुदूरपश्चिमको सन्दर्भमा यो असन्तुष्टि झनै मुखर भएको छ। लामो समयसम्म केन्द्रको राजनीतिमा पहुँच राख्ने नेताहरूले आफ्नो शक्ति स्थापित गरे पनि सुदूरपश्चिमको समग्र पार्टी पंक्तिलाई सबल र एकताबद्ध बनाउन नसकेको गुनासो त्यहाँका कार्यकर्तामा छ। विगतका निर्वाचनहरूदेखि नै पार्टीभित्रैबाट हुने असहयोगका कारण निष्ठावान् नेताहरूले पराजय भोग्नुपरेको र केन्द्रीय नेतृत्वले भूगोल, त्याग र निष्ठालाई भन्दा पनि गुटगत अनुकूलतालाई प्राथमिकता दिएको गुनासो सुदूरपश्चिमका प्रतिनिधिहरूले गरेका छन्।

    राजनीतिमा स्रोत, साधन र कर्पोरेट क्षेत्रको बढ्दो प्रभावले कांग्रेसलाई पनि अछुतो राखेको छैन। महाधिवेशनका क्रममा देखिएको आर्थिक तडकभडक र प्रतिनिधिहरूको व्यवस्थापन शैलीले लोकतान्त्रिक मूल्यमान्यतामाथि नै प्रश्न उठाएको छ। सुरुमा प्रतिनिधिहरूलाई आवासको व्यवस्था नगरिने भनिए पनि पछि एकाएक सामूहिक आवासको प्रबन्ध मिलाइनुलाई धेरैले स्वाभाविक रूपमा लिएनन्। यस्तो व्यवस्थापन प्रतिनिधिहरूको सहजताका लागि भन्दा पनि उनीहरूलाई एकै ठाउँमा राखेर मत प्रभावित पार्ने रणनीतिको हिस्सा भएको आरोप लाग्यो। निष्ठा र त्यागको राजनीति गर्दै आएका, तर आर्थिक रूपमा विपन्न नेताहरू किनारा लाग्दै जाने र नव–प्रवेशी स्रोतसाधन सम्पन्न व्यक्तिहरूले सहजै केन्द्रीय संरचनामा स्थान बनाउने प्रवृत्तिले तल्लो तहमा गम्भीर निराशा छाएको छ।

    महाधिवेशनको सबैभन्दा बढी आलोचना यसको मतदान प्रक्रिया र प्रविधिको प्रयोगलाई लिएर भयो। निर्वाचनलाई छिटो, पारदर्शी र आधुनिक बनाउन विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रयोग गर्न सकिने विकल्पलाई पन्छाएर परम्परागत मतपत्र प्रणाली नै रोजिनु आफैंमा विवादित बन्यो। प्रविधिको प्रयोग गर्दा चलखेल गर्न कठिन हुने बुझाइका साथ नियतवश पुरानै शैली अपनाइएको दाबी कतिपयको छ। त्यसमाथि, मतपेटिकाको अभाव देखाउँदै बजारबाट ल्याइएका प्लास्टिकका पानी ट्याङ्की र ड्रमहरूमा मत खसाल्न लगाइएको दृश्यले व्यवस्थापकीय कमजोरीलाई मात्र उजागर गरेन, सामाजिक सञ्जालमा ‘पानी ट्याङ्की काण्ड’ का रूपमा पार्टीको ठूलो आलोचना समेत निम्त्यायो। मतदान सम्पन्न भएपछिको मतपेटिका व्यवस्थापन, सिल तोडिएका घटना, फर्जी मतदानका आरोपहरू र बिना–फोटोका कार्डबाट भएको भनिएको मतदानले नेतृत्व चयनको प्रक्रियालाई पूर्ण रूपमा विवादरहित बन्न दिएनन्। समकालीन राजनीति विचारको मन्थन र जनसेवाको माध्यम बन्नुको सट्टा सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र ‘भाइरल’ संस्कृतिको सिकार बन्न थालेको छ।

    कांग्रेसको महाधिवेशन पनि यसबाट अछुतो रहेन, बरु यहाँ सामाजिक सञ्जालको चरम दुरुपयोग गरियो। देश, जनता र पार्टीको नीतिगत भविष्यबारे गम्भीर बहस हुनुपर्नेमा तीन–तीन सेकेन्डका भिडियो क्लिप बनाएर सस्तो लोकप्रियता बटुल्ने होडबाजी चल्यो। कुनै नेताले मञ्चमा खुट्टा उचालेको वा पानी ट्याङ्कीमा खुट्टा राखेको क्षणलाई भाइरल बनाएर राजनीतिक एजेन्डा स्थापित गर्न खोजियो। यति मात्र होइन, इमानदार र निष्ठावान् नेताहरूका पुराना भिडिओ र विगतका गतिविधिहरूलाई क्लिप काटेर भाइरल गराउँदै सुनियोजित रूपमा बदनाम गर्ने र चरित्रहत्या गर्ने निन्दनीय काम समेत गरियो। यस्ता कृत्रिम ‘कन्टेन्ट’ ले वास्तविक राजनीतिक मुद्दा, नीतिगत छलफल र कार्यकर्ताको आवाजलाई पूरै ओझेलमा पारिदियो।

    डिजिटल स्टन्ट र भर्चुअल प्रोपोगान्डाको भरमा नेतृत्व हत्याउने यो प्रवृत्तिले कांग्रेसलाई वैचारिक रूपमा खोक्रो बनाउँदै लगेको टिप्पणी भइरहेको छ। आफूलाई सुधारवादी र रूपान्तरणको संवाहक दाबी गर्ने नेताहरूको भूमिकामाथि पनि यस महाधिवेशनले प्रश्न खडा गरेको छ। “महाधिवेशनको मुखमा पदाधिकारी संख्या बढाउनु हुँदैन, यसले संगठनलाई भद्दा र निरंकुश बनाउँछ” भन्दै वकालत गर्ने नेताहरू नै अन्तिम समयमा आएर पद र शक्तिको व्यवस्थापनका लागि सम्झौता गर्न पुगेको भन्दै उनीहरूको आलोचना भएको छ। आफ्नै पूर्ववत् अडानलाई लत्याउँदै सम्झौताको राजनीतिमा फस्दा नेतृत्वको विश्वसनीयतामाथि धक्का पुगेको छ। जब सुधारको दाबी गर्नेहरू नै गुटगत भागबण्डामा अल्झिन्छन्, तब पार्टीभित्र साँचो रूपान्तरणको आशा कमजोर बन्न पुग्छ।

    अन्त्यमा, पार्टी बदलियो भनिँदै गर्दा, यो कसका लागि बदलियो? के यो भुइँतहका नागरिक, किसान वा वर्षौंदेखि निष्ठाको राजनीति गरिरहेका इमानदार कार्यकर्ताका लागि बदलियो? यदि कांग्रेसले आफूलाई सीमित सम्भ्रान्त वर्गको घेरा, भर्चुअल स्टन्ट र अपारदर्शी अभ्यासहरूबाट बाहिर निकालेर पुनः गाउँ, निष्ठा र इमानदार कार्यकर्ताको जगमा उभ्याउन सकेन भने, यसको लोकतान्त्रिक समाजवादको लक्ष्य केवल आदर्शमा मात्र सीमित हुनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑