
राजनीति बाट शिक्षा हासिल गर्नुको सट्टा झोला बोकाएझैं भयो ! राजनिति सत्ता परिवर्तनका लागि नभै कलिला विद्यार्थीको प्रयोग हुनु र पढ्न गएका छोराछोरी सहिद घोषणा भएको देखेर कुन मातापिताको आँसु रोकिन्छ ?
एक देशले अर्को देशमा आक्रमण गर्दा विशेषतः त्यो देशको भौतिक संरचना, पुल, सुरक्षा निकायका अखडामा आक्रमण गर्ने गर्छन, तर मेरो देशमा नेपालकै झन्डा ओढेर महत्त्वपूर्ण सरकारी, व्यापारिक, व्यावसायिक, औद्योगिक क्षेत्रका भौतिक संरचना विध्वंस पारेका देखेर मन नरुने कुरै भएन ! दल र दलका नेता भनाउदा ले सार्वजनिक सम्पत्ति नष्ट गर्न आफ्ना कार्यकर्तालाई उचाले तर पछि आफैं भाग्नुपर्दा, आफ्नै घर र पार्टी कार्यालयहरू जल्दा भने बल्ल चक्रव्यूहमा फसेको चाल पाएका छ्न ।
दलका नेता हरु को आर्थिक–सामाजिक अवस्थालाई आफ्नो हातमा लिने, प्राकृतिक सम्पदा कब्जा गर्ने, सांस्कृतिक धरोधर ध्वस्त पार्ने दाउमा लागेको देखिएको छ ! यिनै दलहरुलाइ प्रयोग गरेर विदेशी शक्ति हामीलाई परनिर्भर बनाउने योजनामा छन्। विदेशीहरू देशको सीमा कब्जा गरेर बसेका छन, तर हामी आपसमा लडाइँ गरेर बसेका छौं, मारामार गर्दैछौं, घृणा र फुट पैदा गरेका छौं। आफूलाई यो देशको सर्वेसर्वा राजनीतिज्ञ ठान्नेहरूको कुशासन, भ्रष्टाचार, तस्करी, दलाली, अहंकार, प्रतिशोधको अग्निले देशलाई नै जलाएको कथा हामीले सुनेका छौ। कांग्रेस र कम्युनिस्टका नेता र कार्यकर्तामा देशभक्तिपूर्ण भावना जागृत नभै ठिक उल्टो कार्यकर्तालाई तस्करी, भ्रष्टाचार र दलालरूपी यन्त्रको पाटपुर्जा मात्रै बनाएका छ्न ।
नेताहरूले भारतकै हितमा कोसी, गण्डक, महाकालीजस्ता असमान सन्धि गरेर देशको जलस्रोत भारतलाई सुम्पने, व्यापार, वाणिज्यलगायतका असमान सन्धि गरेर देशलाई आर्थिक, प्राकृतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा कमजोर बनाउँदै आएका छन्।
नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भयो तर देशमा राजनीतिक स्थिरता, देशको समुन्नति, भ्रष्टाचारमुक्त, विभेदको अन्त्य, सुशासन, शान्ति, समता, अमनचयनका साथै उचित पारिश्रमिकसहितको रोजगारी, निः शुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, पौष्टिक आहार, स्वच्छ खानेपानी, सुरक्षित आवास, सन्तुलित प्राकृतिक वातावरण, विद्युत्, यातायात, सञ्चारजस्ता आधारभूत लोककल्याणकारी कुरामा पनि गुणात्मक र मात्रात्मक रूपमा कुनै परिवर्तन भएन।
यो देशका राजनीतिज्ञमा त्यो सोच, मार्गचित्र, ज्ञान, कुशलता, क्षमता र दक्षता छैन, जसले समाज र देशको रूपान्तरण गर्ने सोच कहिले आएन, त्यसैले राजनीतिक परिवर्तन मात्रै महत्त्वपूर्ण कुरा होइन !

प्रतिक्रिया दिनुहोस