
प्रहरी संगठन राज्यको शान्ति सुरक्षा, कानुनी शासन, नागरिकको जीवन रक्षादेखि राष्ट्रिय स्थायित्वसम्म प्रत्यक्ष सरोकार राख्ने अत्यन्त संवेदनशील र महत्त्वपूर्ण सुरक्षा निकाय हो । राज्यप्रति नागरिकको विश्वास कायम राख्ने, कानुनको निष्पक्ष कार्यान्वयन गर्ने र राष्ट्रको आन्तरिक सुरक्षालाई मजबुत बनाउने प्रमुख जिम्मेवारी नेपाल प्रहरीकै काँधमा रहने गरेको छ ।



कुनै समय राजसंस्थाको अत्यन्त विश्वासिलो र अनुशासित सुरक्षा संगठनका रूपमा परिचित नेपाल प्रहरी आज नेपाली राजनीतिको स्वार्थ, शक्ति संघर्ष र हस्तक्षेपको चेपुवामा परेको अनुभूति हुनु निकै नै दुःखद छ । दैनन्दिनका कार्यव्यवहार र नागरिकसँगको प्रत्यक्ष सम्बन्धमा नेपाली सेना भन्दा अर्थपूर्ण र महत्त्वपूर्ण मानिएको नेपाल प्रहरी हरेक पटक नयाँ सरकार बने पश्चात् सार्वजनिक चर्चाको विषय बन्छ । राज्यको सुरक्षा संरचनामा महत्त्वपूर्ण स्थान राख्ने र आफ्नो व्यावसायिक दक्षता, अनुशासन तथा कार्यक्षमताका कारण उच्च सम्मान प्राप्त गरेको नेपाल प्रहरी राजनीतिक लाभका लागि सरकारले बजारीकरण गरेको देख्दा वर्तमान अवस्थामाथि गम्भीर समीक्षा गर्नुपर्ने समय आएको अनुभूति भएको छ ।
प्रहरी संगठनको वास्तविक शक्ति उसका हतियार, पोसाक, दर्जा वा अधिकारमा मात्र सीमित हुँदैन । यसको वास्तविक शक्ति संस्थागत अनुशासन, निष्पक्षता, व्यावसायिक क्षमता, नैतिक साहस र राष्ट्रप्रतिको अटुट प्रतिबद्धता हो । तर आज संगठनभित्र राजनीतिक पहुँच, व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाको मोह तथा शक्ति केन्द्रसँगको निकटतालाई योग्यताको मापदण्ड बनाउने प्रवृत्ति मौलाउँदै गएको हो कि भन्ने गम्भीर प्रश्न उठिरहेको छ ।
जब कुनै संगठनभित्र व्यक्तिगत लाभ र राजनीतिक संरक्षणको अपेक्षा संस्थागत मर्यादाभन्दा माथि पुग्न थाल्छ, तब त्यस संगठनको जग कमजोर हुँदै जान्छ । बाहिरबाट हेर्दा संगठन उस्तै देखिए पनि भित्रभित्रै धमिराले काठ खोक्रो बनाएझैँ संस्थागत मूल्य, मान्यता र व्यावसायिक चरित्र कमजोर बन्न थाल्छ । प्रहरी संगठनभित्र पनि यस्ता प्रवृत्तिले स्थान पाएको हो भने त्यसको असर कुनै एक अधिकारी वा पदमा मात्र सीमित रहँदैन, सम्पूर्ण प्रहरी संयन्त्रको विश्वसनीयतामाथि पर्छ । झन् प्रहरी संगठनको नेतृत्व तहमा रहेका उच्च अधिकारीहरू नै व्यक्तिगत स्वार्थ, पदको सुरक्षा वा राजनीतिक लाभका लागि संगठनको संस्थागत गरिमालाई जोखिममा पार्ने व्यवहारमा संलग्न भएको देखिनु अत्यन्त चिन्ताजनक विषय हो । नेतृत्व भनेको पद धारण गर्नु मात्र होइन; कठिन परिस्थितिमा संगठनको स्वाभिमान जोगाउने, गलत दबाबको प्रतिरोध गर्ने र आफ्नो व्यक्तिगत भविष्यभन्दा संस्थाको भविष्यलाई प्राथमिकता दिने नैतिक क्षमता पनि हो ।
प्रहरी नेतृत्व राजनीतिक शक्तिको इसारामा चल्ने संस्था होइन र त्यस्तो बनाइनु पनि हुँदैन । उ संविधान, प्रचलित कानुन र संस्थागत मर्यादाप्रति जबाफदेही हुनुपर्छ । सरकार परिवर्तन हुँदैमा प्रहरीको व्यावसायिक चरित्र, प्राथमिकता र कार्यसम्पादनको आधार परिवर्तन हुनु हुँदैन । प्रहरीको निष्ठा कुनै दल, नेता वा सत्ताको केन्द्रप्रति होइन, संविधान, कानुन र सम्पूर्ण राष्ट्रप्रति हुनुपर्छ ! प्रहरी संगठनले आफ्नो जनशक्तिलाई राष्ट्र, राष्ट्रियता, संवैधानिक मूल्य, नागरिक अधिकार र व्यावसायिक नैतिकताका विषयमा कस्तो प्रशिक्षण दिइरहेको छ भन्ने पनि हो । प्रहरीलाई तालिम दिनु भनेको शारीरिक अभ्यास, हतियार सञ्चालन र आदेश पालना गर्न सिकाउनु मात्र होइन ।
त्योभन्दा महत्त्वपूर्ण कुरा कानुनभन्दा माथि कोही हुँदैन भन्ने चेतना, नागरिकको अधिकारप्रतिको सम्मान, राष्ट्रिय स्वाभिमानको रक्षा र कुनै पनि राजनीतिक वा व्यक्तिगत दबाबमा नझुक्ने व्यावसायिक चरित्र निर्माण गर्नु हो । आज प्रहरी संगठनको अवस्था हेर्दा राष्ट्र र राष्ट्रियताको सवालमा संगठनको आन्तरिक प्रशिक्षण, नैतिक अनुशासन र संस्थागत चेतनालाई पर्याप्त प्राथमिकता दिइएको छ कि छैन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । यदि प्रहरी कर्मचारीलाई आफ्नो पद र जिम्मेवारीभन्दा माथि राजनीतिक पहुँचलाई महत्त्व दिन सिकाइन्छ भने त्यो प्रशिक्षणको मात्र होइन, सम्पूर्ण नेतृत्व प्रणालीको असफलता हो ।
प्रहरी संगठनभित्र देखिएका कमजोरीहरूको निरूपण सम्पूर्ण सङ्गठनलाई दोषारोपण गरेर सम्भव छैन । इमानदार, कर्तव्यनिष्ठ र जोखिम मोलेर नागरिकको सुरक्षा गरिरहेका हजारौँ प्रहरी कर्मचारीको योगदानलाई पनि बिर्सन मिल्दैन । बरु उनीहरूको मनोबल जोगाउन, योग्यताको सम्मान गर्न र राजनीतिक पहुँचभन्दा व्यावसायिक क्षमतालाई प्राथमिकता दिन आवश्यक छ । यसका लागि प्रहरी संगठनमा सरुवा, बढुवा र नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउनु, राजनीतिक हस्तक्षेपलाई संस्थागत रूपमा निरुत्साहित गर्नु, उच्च अधिकारीहरूको निर्णय र कार्यसम्पादनको निष्पक्ष मूल्याङ्कन गर्नु तथा संगठनभित्रको जबाफदेहिता बलियो बनाउनु अपरिहार्य छ ।
गल्ती गर्ने जोसुकै भएपनि कानुन र संस्थागत प्रक्रियाअनुसार छानबिन तथा कारबाही हुनुपर्छ । नेपाल प्रहरी राष्ट्र र नागरिकको सुरक्षाका लागि स्थापित संगठन हो वा राजनीतिक शक्ति केन्द्रहरूको स्वार्थ व्यवस्थापन गर्ने माध्यम बन्दै गएको हो ? यो प्रश्न कुनै व्यक्ति वा सरकारविरुद्धको आरोप मात्र होइन; राज्यको एउटा महत्त्वपूर्ण सुरक्षा संस्थाको भविष्यसँग जोडिएको प्रश्न हो । नेपाल प्रहरीको गरिमा कुनै राजनीतिक दलको कृपा वा कुनै उच्च अधिकारीको व्यक्तिगत प्रतिष्ठाले निर्माण भएको होइन । यो दशकौँदेखि आफ्नो ज्यान जोखिममा राखेर देश र नागरिकको सेवामा खटिएका प्रहरी कर्मचारीहरूको त्याग, समर्पण र व्यावसायिक निष्ठाले निर्माण गरेको हो । प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थको प्रयोगशाला बन्न दिनु हुँदैन । नेतृत्वले आफ्नो पद जोगाउनेभन्दा संगठनको प्रतिष्ठा जोगाउने साहस देखाउनुपर्छ । प्रहरीको वर्दी कुनै राजनीतिक शक्तिको प्रभाव प्रदर्शन गर्ने पहिचान होइन, यो राज्यप्रतिको जिम्मेवारी, कानुनप्रतिको निष्ठा र राष्ट्रसेवाको प्रतीक हो । प्रहरी संगठन कमजोर हुनु भनेको केवल एउटा सुरक्षा निकाय कमजोर हुनु होइन ।
राज्यको कानुनी शासन, नागरिकको सुरक्षा र लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास र राज्यको थप अर्को महत्त्वपूर्ण संस्था कमजोर हुनु हो । त्यसैले राष्ट्रलाई बलियो बनाउन प्रहरी संगठन बलियो हुनुपर्छ । उसको मनोबल उच्च हुनुपर्छ । उसको अनुसन्धान पद्धति निष्पक्ष र सधैँ संविधानप्रति जिम्मेवार हुनुपर्छ । गौरवमय ऐतिहासिक विरासत बोकेको नेपाल प्रहरी पूर्ण व्यावसायिक भएर मात्र पुग्दैन, उ व्यावसायिक संस्था हो भन्ने जनता आश्वस्त पनि हुनुपर्छ । त्यसैले प्रहरी संगठन बलियो, निष्पक्ष, अनुशासित र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । राष्ट्रभन्दा माथि कुनै व्यक्ति, दल वा पद हुन सक्दैन । ( दिपावलिको सबैमा शुभकामना )

प्रतिक्रिया दिनुहोस