आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

‘प्रतिशोध स्वीकार्य छैन, छानबिनमा सघाउन तयार छु’: रास्वपा. सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने


  • आक्रमण न्युज
  • २०८१ आश्विन ७, सोमबार मा प्रकाशित १ साल अघि
  • ४७१ पाठक संख्या
  • राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा . सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले कतैबाट दोषी ठहर नहुँदा पनि सरकारले आफूमाथि प्रतिशोध साध्ने प्रयास गरेको आरोप लगाएका छन् । उनले प्रतिशोध स्वीकार्य नभएको, तर छानबिनमा सघाउन तयार रहेको प्रस्ट्याएका छन् । सहकारी बचत रकम अपचलन प्रकरणमा सभापति लामिछानेलाई गिरफ्तार गर्ने चर्चाबिच रास्वपा केन्द्रीय कार्यालयमा आकस्मिक रूपमा शुभेच्छुकको भेला बोलाइएको थियो । त्यसलाई सम्बोधन गर्दै लामिछानेले दोषी भए तत्काल पक्राउ गर्नसमेत सरकारलाई चुनौती दिए ।
    गिरफ्तारीको चर्चाबिच सभापति लामिछानेले करिब राति १० बजेतिर शुभेच्छुकलाई सम्बोधन गरेका थिए । उनले राज्यका सबै निकाय र संसद्को छानबिनले आफ्नो संलग्नता नरहेको स्पष्ट पारे पनि प्रतिशोध साध्न खोजिएको गुनासो गरे ।मैले राजनीतिक प्रतिवेदनबाट समेत सरकारलाई स्पष्ट भनेको छु, मलाई तपाईंको अनुकम्पा, फेवर चाहिँदैन तर, अन्याय गर्न पाइँदैन । कुन अनुसन्धानमा सघाउनुपर्‍यो, कुन ठाउँमा जानुपर्‍यो, लैजानुस्, म तयार छु तर, यो ट्रायल गरेर, झुक्याएर, छक्याएर, घुमाएर सम्भव छैन ।प्रहरीको अनुसन्धानले दोषी देखिएन भन्छ, अदालतमा मुद्दा गएको छ, प्रतिवादी थिएन भन्छ, कसैको बयानले पोलेको छैन, प्रस्ट छ । देशको प्रहरी प्रमुखले संसदीय समितिमा गएर संलग्नता छैन भनेको छ । देशको प्रधानमन्त्रीले सबैसँग बुझेर संसद्मा भनेका छन् कि सहकारी ठगीमा कुनै संलग्नता छैन, अहिलेका प्रधानमन्त्रीले कुनै संलग्नता छैन, छानबिन समिति बनाउनुपर्दैन भन्छन्,’ उनले भने, ‘संसदीय समितिले छानबिनको क्रममा कहीँ–कतै कुनै पनि संलग्नता देखिएको पाइएन, संस्थागत रूपमा कुनै निर्णय गरेको छैन भनेर स्पष्ट भन्छ । म प्रमाण माग्छु, आउँदैन । अनि कुन नयाँ तथ्य आयो भनेर ट्रायल गरियो । किन यस्तो भयो मैले बुझेको छैन ।’
    उनले आफू बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको बताए । ‘मैले केही बिराएको पनि छैन, डराएको पनि छैन,’ उनले भने, ‘दुईतिहाइको सरकारलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो ।’ एकातिर गिरफ्तारीको हल्ला र अर्कोतिर केन्द्रीय सदस्यहरूलाई बोलाएपछि शुभेच्छुकहरू पनि साँझ वनस्थलीको चमतीस्थित केन्द्रीय कार्यालयमा भेला भएका थिए । साँझ ६ बजे प्रहरी आउँदै छ भन्ने चर्चा चलेपछि केन्द्रीय सदस्यहरूलाई खबर गरिएको थियो । सभापति लामिछाने भने दिउँसोदेखि पार्टीको नियमित काममा कार्यालयमै थिए ।
    लामिछानेले यो प्रकरणमा कानुन व्यवसायीसँग परामर्श पनि गरेका छन् । कार्यालयमा उपस्थित शुभेच्छुकहरूले ‘रवि दाइ हाइ हाइ, दुईतिहाइ सरकार होसियार’को नारा लगाएका थिए । अन्तिममा सभापति लामिछानेले दुई हात जोडेर अभिवादन गरेका थिए भने घण्टी बजाएर १० बजेर १५ मिनेटमा पार्टी कार्यालयबाट निस्किएका थिए ।
    सभापति लामिछानेलाई गिरफ्तारीको चर्चापछि रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा रहेको प्रतिनिधिमण्डललाई जतिसक्दो चाँडो स्वदेश फर्किन निर्देशन दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट