
जेठ १९, २०८१ /आशिष अधिकारी
चितवन । भरतपुर महानगर पालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले कृषिमा क्रान्ति नभए सम्म कृषि संकट टार्न नसकिने बताएका छन् । देशमा कृषि संकट बढिरहेको भन्दै उनले यसको अन्त्य नहुँदा सम्म कृषिले सोचे अनुसारको फड्को मार्न नसक्ने औल्याए ।
नारायणी लिफ्ट सिंचाई जल उपभोक्ता समितिको २४ औ साधारणसभालाई शनिबार भरतपुरमा उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले कृषि सकट टार्न सबैले आ आफ्नो तह र तप्काबाट योगदान गर्नुपर्ने बताए ।
सिंचाई बिना कृषकहरुले पर्याप्त उपज उत्पादन गर्न नसक्ने हुँदा तिनै तहका सरकारको ध्यान कृषि क्षेत्रमा केन्द्रित हुन जरुरी रहेको उनको टिप्पणी छ ।
कृषि र कृषकको मेरुदण्डको रुपमा सिंचाई रहेको उल्लेख गर्दै उप प्रमुख अधिकारीले भरतपुरमा सिंचाईको सुविधा पहिलेको तुलनामा धेरै भएको समेत प्रष्ट पारे ।
कार्यक्रममा समितिका सचिव हरिराज भट्टराईले बार्षिक प्रगति एवं २०८१र८२ को भावी कार्ययोजना र अनुमानित आय ब्यय सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भरतपुर ८ का अध्यक्ष जिबनाथ कडेल, खगेरी सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष बेल बहादुर गुरुङ,भरतपुर ५ का पुर्ब वडा अध्यक्ष पदमपाणी सुवेदी,संस्थाका सदस्य भुपतिदास सापकोटा,प्रशाखा न १ का अध्यक्ष टिकाराम कडेल, प्रशाखा न २ का अध्यक्ष भुमिश्वर कडेल लगायतकाले मन्तव्य राखेका थिए ।
नारायणी लिफ्ट सिंचाईले पश्चिम चितवनको ७ हजार हेक्टर जमिनलाइ सिंचाईको सुविधा पुर्याउदै आइरहेको छ । पश्चिम चितवन क्षेत्रमा सिंचाई सुविधा उपलब्ध गराउन भनेर ५२ करोडको लगानीमा निर्माण गरिएको नारायणी लिफ्टमा ३ वटा क्यानल हाल सन्चालनमा छन् ।
ए क्यानल पाँच सय मिटर, बी क्यानल १९ किलोमिटर र सि क्यानल १६ दशमलव ५ किलोमिटर लामो रहेको छ ।
समितिका अनुसार लिफ्टको पानी बी र सी नहरका लागि विभाजन हुन्छ । बी नहरले भरतपुरको तोरीखेत, यज्ञपुरी, नारायणपुर, पारसनगर, देवनगर र फुलवारीसम्मको जमिनमा सिंचाई सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै सी नहरले बसेनी, भोजाड, टिकौली जंगल हुँदै गौरीगञ्जसम्मको क्षेत्रलाइ सिञ्चाईको सुविधा पुर्याउँदै आएको छ ।
२०३५ सालबाट निर्माण सुुरू भई २०४० सालमा सञ्चालनमा आएको नारायणी लिफ्टमा पानी तान्नका लागि चारवटा पम्प छन् समितिका अध्यक्ष पुर्ण बहादुर रानाभाटले भने, हामी अत्याधुनिक र सुविधा सम्पन्न पम्प थप्ने तयारीमा छौ ।




प्रतिक्रिया दिनुहोस