
वैशाख २, २०८१
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका– ५ स्थित खाल्टेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना हुँदा खाल्टे पाल्पाली टोलका १० वर्षीय बालक सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते सोही स्थानका ३७ वर्षीय गोपी भन्ने रामबहादुर रम्तेलको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेमा नीलकण्ठ नगरपालिका ५ खाल्टे पाल्पाली टोलका ३१ वर्षीय हिरा रम्तेल, ११ वर्षीय विमल मजकोटी, १२ वर्षीय प्रितम रम्तेल, सुजन रम्तेल, ४० वर्षीय विष्णु रम्तेल र १७ वर्षीय सुजित मजाकोटी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
दुर्घटनाका गम्भीर घाइते भएका छ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।
दुर्घटनामा एकै परिवारका पाँच जना परेका छन् । दुर्घटना भए लगत्तै प्रहरी र स्थानीयले घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस