
१२, कार्तिक २०८१
बाँके । पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा कोहलपुर क्षेत्रसँग सम्बन्धित विभिन्न विषयलाई लिएर भइरहेको टिकाटिप्पणीप्रति कोहलपुरका पत्रकारहरूको गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार आचारसंहिताको पालना नगरी सामाजिक सञ्जालमा भएका केही गतिविधिले समाजमा डर त्रास फैलाउने र अमर्यादित वातावरण सिर्जना गर्ने प्रयास भइरहेको भन्दै यस प्रकारका कार्यले पत्रकारिताको मर्म विपरीत असर पुर्याउने कुरा सम्बन्धित सबैलाई अवगत गराइएको छ ।
पत्रकारहरूका तर्फबाट जारी विज्ञप्तिमा, आमसञ्चार माध्यमको उद्देश्य समाजलाई सुसूचित र सचेत बनाउनु भएको उल्लेख गर्दै, कसैको मानहानी नगर्न र असम्बन्धित पक्षलाई बदनाम नगर्न सबै सञ्चारकर्मीलाई सचेत गराइएको छ। सूचना संकलन र प्रसारणका क्रममा पत्रकार आचारसंहितामा भनिएको संवेदनशीलता, सत्यता, र सन्तुलनको पालना गर्नुपर्ने कुरामा बल दिइएको छ।
पछिल्लो समय साहारा टिभि एचडी नामक फेसबुक पेजमा प्रकाशित सामग्रीलाई लिएर समग्र पत्रकारिता क्षेत्रलाई नकारात्मक दृष्टिकोणले जोड्ने प्रयासप्रति आपत्ति जनाउँदै, पत्रकारहरूले साहारा टिभी केवल सामाजिक सञ्जालको पेजमात्र भएको र यसलाई समग्र पत्रकारितासँग नजोड्न आग्रह गरेका छन्। पत्रकारहरूले सामाजिक सञ्जालमा आएका टिप्पणीले पत्रकारिता क्षेत्रप्रति नकारात्मक धारणा नबनाउन सबैसँग अपिल गरेका छन्।
कोहलपुर क्षेत्रमा पेशागत मर्यादासँग व्यवसायिक पत्रकारिता गर्न आफूहरू प्रतिवद्ध रहेको पत्रकारहरूको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस