
मंसिर ९, २०८१/ प्रभातराज पाण्डे



मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाउन खोज्दै छन्। धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत निस्किए पनि औपचारिक कार्यक्रममा भने उनी कमै जाने गरेका छन्। यही पूर्वराजा ज्ञानेन्द्र शाहको क्रेजले यता प्रमुख राजनीतिक दलहरुको मनमा भने ढ्याङ्ग्रो बज्न थालेको छ। मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्ष र संविधान जारी भएको ८ बर्ष बित्यो।
यो अवधिसम्म गणतन्त्र पक्षधरले मुलुकमा गणतन्त्र र संविधान कार्यान्वयन अभ्यास सफल भएर स्थापित उन्मुख भनेर दाबी गरिरहँदा पूर्वराजाकोसक्रियताले त्रसित मनिस्थतिमा देखिन्छन्। राजसंस्थाको समर्थनमा उत्रिएका दुर्गा प्रसाईं र पार्टीबाट बाहिरिएका कमल थापाले पुनः राजसंस्थाप्रति देखाएको मोहले प्रसाईं र थापा पनि राप्रपाकै झण्डामुनि रहेर राजसंस्थाको वकालत गर्न सक्ने सम्भावना छ ।
थापा र प्रसाईं मात्रै नभई कसैले पनि हिजोको गल्ती कमी कमजोरी सच्याएर नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यकतालाई स्वीकार गरेर अगाडि आउँछ भने हाम्रो लागि खुसीको बिषय नै हो, ‘कांग्रेस,एमाले,माओवादी लगायतका दलहरु जसले गणतन्त्र, धर्मनिरपेक्षता अथवा संघीयतालाई संस्थागत गराए ती दलहरुले पनि पाठ सिकिकेको अवस्था छ, यसलाई जति अगाडि लग्यो, उति देशले क्षति बेहोर्नु पर्छ, त्यसकारण देशले थप क्षति बेहोर्न नपरोस् भन्नको लागि ती दलहरु समेत सहमतिमा आएर नयाँ सम्झौता गरेर राजसंस्थालाई कुनै न कुनै प्रकारको स्पेश दिनुपर्छ। गणतन्त्र स्वयम् नै बलियो जगमा उभिएको छैन। जनमत संग्रह वा जनताको अभिमतको आधारमा नआएको कारण यो आफैँ कमजोर जगमा छ। प्रसाईंले उठाएका एजेन्डा राप्रपासँग मेल खाने भएकाले अभियान मात्रै चलाउँछन् वा राप्रपामा नै सम्मिलित हुन्छन् भन्ने धेरैलाई चासोको बिषय बनेको छ। राजनीतिक दलका नेताहरूको क्रियाकलापले नै राजाको पक्षमा अभियान र समर्थनहरु बढेका नकार्न मिल्दैन। जनताले २०७४को चुनावमार्फत नेकपालाई झण्डै दुई तिहाई मत दिएर गणतन्त्र, संघीयता र संविधानलाई मजबुत बनाउद सहयोग गरेका थिए।
दलहरुका गतिविधिबाट मुलुक गुज्रिँदै आएर पछिल्लो आमनिर्वाचनसम्म आइपुग्दा नागरिक निकै चिन्तित बन्न पुगेका छन्। सरकार काम, दलका गतिविधि, नागरिकमा निराशा, आर्थिक संकट, सीमित उच्च पदस्थ अधिकारीको आलिसान जीवनशैली र भ्रष्टाचारजन्य गतिविधिले नागरिक राजसंस्थाप्रति आकर्षित भएका हुन सक्छन्। गत असोज पहिलो हप्ता पूर्वराजा शाह भक्तपुरको तलेजु भवानी लगायतको मन्दिर दर्शनको लागि पुग्दा जनलहर उत्रिएको थियो।
भिडलाई थाम्न सुरक्षाकर्मीलाई समेत हम्मे हम्मे पर्नु र राजा हेर्नकै लागि स्थानीयको थेगिनसक्नु भिड थियो। २०७८ मंसिरमा राजेन्द्र लिङ्देनसँग राप्रपा पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले निर्वाचनमा दरवारको हस्तक्षेप भएको आरोप लगाएका थिए। थापाले आरोप मात्रै लगाएनन्, पार्टीबाट नै बाहिरिएर राप्रपा नेपाल नामक पार्टी खोलेर त्यसको नेत्तृत्व गरिरहेका छन्। थापाले राजसंस्था पुनःस्थापनाको एजेन्डा असम्भव भएको भन्दै उक्त एजेन्डा छाड्न राप्रपालाई आग्रह गरेका थिए। तर उनै थापाले अहिले युटर्न भएर राजसंस्था पक्षधरहरुलाई एक हुन आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस