
पौष ८, २०८१ / जनता रैका
नेपालगन्ज । नेपालगन्जमा यस वर्षको नयाँ वर्ष धमाकेदार रुपमा मनाउन सोल्टी वेस्टण्ड प्रिमियरले ‘न्यु इयर इभ–२०२५’ कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रमको प्रमुख आकर्षण गायक एकदेव लिम्बु र कलाज्ञ ब्याण्ड को प्रस्तुति हुनेछ। आयोजकले पुष १६ गते साँझ ६ बजे सुरु हुने यो कार्यक्रमले मध्यरातसम्म दर्शकलाई मनोरञ्जन दिने जानकारी दिएको छ।
कार्यक्रमको विशेष आकर्षण
सांगीतिक माहोलको सुरुवात ‘स्त्री ब्याण्ड’ ले गर्नेछ भने त्यसपछि एकदेव लिम्बु र कलाज्ञ ब्याण्ड ले आफ्नो लोकप्रिय गीतसंगीतमार्फत माहोल तताउनेछन्। कार्यक्रमको अन्त्यमा चर्चित डिजे ‘डिजे पोंचिभो’ ले दर्शकलाई नाच्न र रमाउन बाध्य पार्नेछन्।
कार्यक्रमको मुख्य उद्देश्य नेपालगन्जलाई सांस्कृतिक र मनोरञ्जनको केन्द्रको रुपमा चिनाउनु रहेको सोल्टी वेस्टण्ड प्रिमियरका जनरल म्यानेजर राज विक्रम शाह ले बताए। उनले भने, “नेपालगन्जमा यस्तो स्तरको कार्यक्रम कम हुने भएकाले यहाँको प्रतिष्ठा बढाउन चर्चित कलाकारहरुलाई प्राथमिकता दिँदै कार्यक्रम आयोजना गरेका हौं।”
टिकटको व्यवस्था र सुविधा
कार्यक्रममा सहभागी हुन सिङ्गल टिकटको मूल्य रु १४९९/- निर्धारण गरिएको छ। डोर सेलको लागि भने टिकटको मूल्य रु २५००/- हुनेछ। टिकटमा ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङ्क्स समावेश गरिएको छ। १० वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रवेश निःशुल्क गरिएको छ।
अतिरिक्त आकर्षण
कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिन विभिन्न गतिविधिहरु समावेश गरिएका छन्। डोर प्राइज, लाइभ बार र फूड काउन्टर जस्ता सुविधासहित आकर्षक फायरवर्क प्रदर्शन गरिनेछ।
कार्यक्रमको सञ्चालन प्रतीकजंग शाही र प्रेरणा गिरी ले गर्नेछन्। कन्सर्ट स्थलमा बस्ने व्यवस्था नरहे पनि फुड स्टलतिर बस्न मिल्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।
दर्शकहरूको उत्साहजनक प्रतिक्रिया
आयोजकका अनुसार हालसम्म ३०० टिकट बिक्री भइसकेका छन्, र करिब ६०० भन्दा बढी दर्शकको उपस्थिती रहने अपेक्षा गरिएको छ। सोल्टी वेस्टण्ड प्रिमियरका मानव संशाधन प्रमुख खम्ब जंग शाह ले दर्शकहरूको चासोले कार्यक्रम थप सफल हुने विश्वास व्यक्त गरे।
नेपालगन्जवासीको लागि अवसर
सांगीतिक माहोलमा रमाउन चाहने दर्शकलाई यो कार्यक्रमले नयाँ वर्षको अविस्मरणीय क्षण प्रदान गर्नेछ। नेपालगन्जमा यस स्तरको कार्यक्रम पहिलोपटक आयोजित हुन लागेकोले यसले यहाँको सांगीतिक र सांस्कृतिक क्षेत्रलाई थप उचाई दिने विश्वास गरिएको छ।
नेपालगन्जलाई मनोरञ्जनको नयाँ मुकाम बनाउन यो कार्यक्रम माइलस्टोन साबित हुनेमा आयोजक ढुक्क छन्। ‘न्यु इयर इभ–२०२५’ मा सहभागी भई नयाँ वर्षको स्वागत गरौं!

प्रतिक्रिया दिनुहोस