आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

सहकारी समस्या र नेपाली अर्थतन्त्र


  • आक्रमण न्युज
  • २०८१ माघ ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५८२ पाठक संख्या
  • माघ ०४, २०८१ / प्रभातराज पाण्डे

    संविधान निर्माणको समयमा नेपाली अर्थनीतिबारे ठोस बहस भएको भए आजको जस्तो सहकारी समस्या सायदै आउने थिएन । त्यो बेला नेपाली अर्थतन्त्र नीति कस्तो हुने ? भन्ने सन्दर्भमा राजनीतिज्ञ र अर्थ क्षेत्रका जानकारहरू करिब दुई कित्तामा विभाजित थिए । दुई खुट्टे अर्थनीति कि तीनखम्बे अर्थनीति ? भन्नेबारेमा विभाजित भएको समुदाय अन्ततः तीनखम्बे अर्थनीति बनाउने टुङ्गोमा पुग्यो । सरकारी र निजी गरी दुई खुट्टे अर्थनीति बनाउनुपर्छ भन्नेहरू अल्पमतमा परे । तीन खम्बे अर्थनीति बनाउनुपर्छ भन्नेहरूले संविधानमै सरकारी, सहकारी र निजी गरी तीन खम्बे अर्थनीति समावेश गर्न सफल भए । तर, आज दुई खुट्टे अर्थनीति बनाउनुपर्छ भन्नेहरूले संविधान बनाउने समयमा प्रकट गरेको चिन्ता व्यवहारमा देखिएको छ । मसिना छिद्र राखेर निर्माण गरिएको सहकारी नीतिमाथि प्रश्न उतिबेला पनि नउठेको होइन ।
    तर, सहकारी आर्थिक विकासको एक अभियानकै रूपमा अगाडि बढिरहेको बेला सहकारी विरूद्ध बोल्नु भनेको सामान्य कुरा थिएन । चुनौतीपूर्ण कुरा थियो । सहकारीहरूमाथि कुनै प्रश्न ग¥यो भने विरोधी कुरा मानिन्थ्यो । ठिक आज सहकारीको पक्षमा कुरा गर्दा विश्वास गर्ने मान्छेहरू कमै भेटिन्छन् । सहकारी भन्नेबित्तिकै मानिसहरू अमुक व्यक्तिको नाम सम्झिन थालेका छन् । सहकारीमा पैसा जम्मा गर्नु भनेको आफू ठगिनु रहेछ भनेर बुझ्न थालेका छन् । उसो त सबै सहकारीले ठगी गरेका छैनन् । तर, केही ठूला सहकारीको बदमासीले गर्दा सिङ्गो क्षेत्र बदनाम बनेको अवस्था छ । सहकारीको अवधारण राम्रो भए पनि यसको प्रयोग भने लुटेरा प्रवृत्तिको बन्यो । जसका कारण आजको दिन आयो ।
    सहकारीको तीन दशक इतिहासमा करिब दुई दशक समय सहकारीले देश तथा विदेशमा राम्रै छाप पा¥यो । तर, पछिल्लो एक दशकको समयमा सहकारी क्षेत्र इच्छाराज तामाङ, सिबी लामा र जिवी राईहरूको कब्जामा परेपछि सामान्य मानिसहरूले जम्मा गरेको रकम दुरुपयोग भयो । बहुत दुःखको कुरा के भने एउटा मजदुर, चिया पसले, साग बेच्ने किसानहरूले, खुद्रा व्यापारीले, किसान, गरिब र विपन्नहरूले सहजतामा काम आउला भनेर पेट काटेर जम्मा गरेको रकम दलालहरूले घरजग्गा, टेलिभिजन (ग्यालेक्सी फोर के, अहिले बन्द) लगायतका विभिन्न व्यवसायमा लगानी गरे । न पैसा फिर्ता दिए, न त टेलिभिजन चलाउन सके । यदि स्थिर राजनीति चाहने हो सत्ता र शक्तिका निम्ति चल्ने यस्ता घटिया, अराजनीतिक र अनैतिक कदमहरू बन्द हुनुपर्छ । नैतिक राजनीतिको बहस हुनुपर्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट