आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

नैतिक आचरण र इमान्दारिता नेतृत्वको प्रमुख आधार


  • आक्रमण न्युज
  • २०८१ चैत्र १०, आईतबार मा प्रकाशित १ साल अघि
  • ४७७ पाठक संख्या
  • नैतिक आचरण र इमानदारिता नै निष्ठावान् नेतृत्वका प्रमुख आधार स्तम्भहरू हुन्। निष्ठा भनेको नैतिक आदर्श हो र मानवीय विवेकको सुन्दर प्रस्तुति र व्यवहार हो। तपाईँ चाहे विद्यार्थी क्लबको नेतृत्व गर्नुहोस् वा कुनै कार्यसम्पादन टोलीको अथवा कुनै कम्पनीको सिइओेका रूपमा नेतृत्व गर्नुहोस्, त्यो अवस्थामा तपाईँलाई संस्थाका मूल्य र मान्यताहरूलाई मिचेर नैतिक सीमाहरू पार गर्न धेरै सजिलो हुन्छ। त्यो बेला तपाईँले गरेका निर्णय र सम्झौताहरू व्यक्तिगत लाभ र स्वार्थबाट अभिप्रेरित हुने गर्दछन्। अनि यहीँबाटै तपाईँको आदर्श र निष्ठा स्खलित हुन थाल्दछ। यसैको परिणामस्वरूप आज हामीले सार्वजनिक र निजी क्षेत्रमा व्यापक घुसखोरी अनियमितता र विकृतिहरू देखिरहेका छौँ, भोगिरहेका छौँ। वास्तवमा यो कुरा नै अनैतिक नेतृत्वको कुरूप अभिव्यक्ति हो।

    निष्ठावान् नेताहरूले व्यक्तिगत लाभभन्दा सामूहिक र आफ्नो सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिने गर्दछन्। उनीहरूमा निर्भीक किसिमको जवाफदेहिता र पारदर्शिता पाइन्छ। उनीहरूले यिनै नैतिक सिद्धान्तहरूको निरन्तर पालना गरेर आत्मविश्वास कमाउँछन् र जस्तोसुकै कठिनाइमा आत्तिने गर्दैनन्, कुनै किसिमका लोभलालच र प्रलोभनमा फस्दैनन्। जस्तोसुकै प्रतिकूल अवस्थामा पनि स्थिर र अविचलित रहेर प्रतिकूलताको सामना गर्छन्। समाजमा यस्तै नेताको मात्र सम्मान बढ्ने गर्छ। यिनै सम्मानित नेताहरूबाट नै सम्मानित संस्कृतिको विकास भई सामाजिक उत्तरदायित्वको क्षेत्रमा ठोस र सकारात्मक योगदान पुर्याउन सकिन्छ। अनि त्यस बेला समाज लयबद्ध र व्यवस्थित ढंगले चलायमान बन्दछ। आज समाजले यस्तै उच्च र निष्ठावान् नेतृत्व खोजिरहेको छ।

    समाजमा जब जो कोही नेता निष्ठावान् संस्कार र आचरणका उज्याला पक्ष बिर्सेर अँध्यारा र काला प्रभावहरूको जालोमा पर्दै जान्छन् तब उनीहरूको भूमिका र नेतृत्व अनैतिक बन्न थाल्छन्। यस्ता अँध्यारा प्रभावमध्येको एउटा कारक तत्त्व व्यक्तिगत लाभको चाहना हो। यसले उनीहरूलाई नैतिक सीमा मिचेर आर्जन गर्न, पदोन्नति पाउन र अनुचित रूपमा पैसा कमाउनका लागि प्रेरित गर्न सक्छन्। यस्तै निष्ठामा आँच पुर्याउने दोस्रो कुरा सफलताको खोजी हो। यसका लागि व्यक्तिले अनेक प्रपञ्च गरेर, प्रतिस्पर्धाका सेटिङहरू मिलाएर जस्तोसुकै सम्झौता गरेर भए पनि आफूलाई अरूभन्दा माथि र सफल बनाउन खोज्छन्, उनीहरू कुनै पनि मूल्यमा नतिजा आफ्नो पोल्टोमा पार्न चाहन्छन्। सिद्धान्तका कमजोर ठाउँहरूमा खेलेर होस् या लेनदेन वा काँटछाँटको सम्झौता गरेर होस् उनीहरू जसरी पनि आफूलाई सफल देखाउन खोजिरहेका हुन्छन्।

    निष्ठावान् नेतृत्वको तेस्रो बाधा अस्वस्थकर संगठनात्मक संस्कृति हो। यस्तो संस्कृतिले अनैतिक कार्य गरिरहँदा उनीहरूले परिणामबारे सोचेका हुँदैनन्। कमजोर नेतृत्व र नैतिकताको कार्यान्वयनमा गरिने ढिलासुस्ती अनैतिक कार्य गर्न दिइने अनुमति जस्तै हो। यसले समस्यालाई झनै बल्झाउने काम गर्दछ र यो संस्कृतिले नुनको सोझो गर्ने वा गुनको बदला गुनले तिर्न खोज्ने प्रवृत्ति झनै फस्टाउँछ अनि अनैतिक व्यवहारहरू अझ बढ्दै जाने गर्दछन्। नेता वा नेतृत्वलाई लाग्न सक्छ, कहिलेकाहीँका विशिष्ट परिस्थितिमा अनैतिक कार्यहरू पनि आवश्यक हुन्छन् र स्वीकार्य वा जायज हुन्छन् तर जस्तोसुकै परिस्थितिमा पनि यसो गर्नु शोभनीय र जायज मानिँदैन। समाजमा कमजोर चरित्र भएका मानिस साथीभाइको दबाबमा अनैतिक कार्यलाई पराजित गर्न सक्दैनन्। साथै केही नेताहरूको नैतिक धरातल कमजोर छ वा समानुभूतिको अभाव छ, त्यस्तो अवस्थामा उनीहरूले अरूलाई असर नपर्ने गरी अनैतिक व्यवहारको सिकार बनाएका हुन्छन्। यो कुरा पनि नैतिक दृष्टिकोणले खराब नै मानिन्छ।

    आज नेपाल भ्रष्टाचारको जालोमा जेलिएको छ। भ्रष्टाचारको बलियो उपस्थिति र पकडले सुशासनको बाटो अवरुद्ध गरेको छ। नेतृत्वलाई मूल्य र सिद्धान्तको नायक बन्नबाट रोकेको छ। यस्तो लाग्छ, प्रत्येक नेपालीले ससम्मान कुनै नेतृत्वलाई राजनेता मानेर ससम्मान भित्तामा सजाउने एउटा पनि व्यक्ति फेला परेको छैन। जता फर्केर हेर्यो, व्यक्तिगत लाभका निम्ति आफ्नो शक्ति र साधन स्रोतलाई दुरुपयोग गर्दै शासनको नेतृत्व सम्हालिरहेका मात्रै भेटिने गर्दछन्। यस्तै नेतृत्वका कारण आज निजी तथा सार्वजनिक क्षेत्र दुवैमा नेतृत्वप्रति जनताको विश्वास र भरोसा टुट्दै गएको छ र उनीहरूको नैतिकता नै धरापमा पर्दै गएको छ। स्वार्थका लागि बारम्बार भइरहने नेतृत्व परिवर्तनले राजनीतिक अस्थिरता बढ्दै गएको देखिन्छ। निष्ठापूर्वक नेतृत्व गर्छु भन्नेहरूले पनि स्वतन्त्र रूपले काम गर्न सकिरहेका छैनन् र यसले पनि निष्ठावान् नेतृत्व निर्माणको प्रयासमा बाधा पुर्याएको छ। उनीहरूका अल्पकालीन मुद्दा र अजेन्डाहरू दीर्घकालीन नैतिक विचारहरूमा विजयी हुने गर्दछन् जसका कारण पनि निर्णय लिने क्रममा अनैतिक सम्झौताहरू हुने गर्दछन्।

    निष्ठावान् नेतृत्व विकासको अर्को चुनौतीका रूपमा सामाजिक–सांस्कृतिक पक्षहरू देखिन्छन्। समाजमा पहिलेदेखि चल्दै आएका मूल्य, मान्यता र परम्परा तथा क्रमबद्ध संरचनाहरूले पनि नेतृत्वका लागि अवसर र चुनौतीहरू सिर्जना गरेका हुन्छन्। नेपाल जस्तो देशमा नैतिक अभ्यास र कार्यका लागि अत्यन्तै थोरै अवसर र ठाउँ छन्। त्यसैले उनीहरूले उपयोगिता र स्वार्थका लागि जस्तोसुकै सम्झौताहरू पनि गर्न पुग्छन्। यसैको उदाहरणका रूपमा नातावाद, कृपावाद, उपहार वा पैसा, आग्रह वा पूर्वाग्रह राखेर त्यसैको छद्म भेषमा घुसखोरी र पक्षपातपूर्ण व्यवहारलाई लिन सकिन्छ। यसैका कारणबाट नेतृत्वले आफूलाई योग्य र माथि सम्झने तथा जनताले हीनताबोधको अनुभव गर्दछन्। यस्ता कुराले समाजमा अन्यायलाई प्रश्रय प्रदान गर्दछ र धनी र गरिबबीचको खाडललाई अझ फराकिलो बनाउने गर्दछ।

    सत्य र न्याय मानव जीवनका अमूल्य ज्योति हुन्। असल नेतृत्व यी गुणहरूमा प्रतिबद्ध हुनुपर्छ। म अनैतिक नेतृत्वको पञ्जाबाट जसरी पनि बाहिर निस्कनु छ भने अठोट राख्नुपर्छ। यस्तै नेतृत्वलाई मात्रै परिवर्तनकारी र प्रामाणिक नेता मान्न सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑