सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय सरकारले उच्च प्राथमिकतमा राखेकोे बताउनुभएको छ । सदरमुकाम खाँदबारीमा आज विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श कार्यक्रममा मन्त्री खड्काले सो विश्वविद्यालयको उपकुलपति र कर्मचारी चाँडै नियुक्त गरिने बताउनुभयो । दीर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श गोष्ठीबाट आयुर्वेद विश्वविद्यालय सञ्चालनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । विश्वविद्यालयका लागि सरकारले आवश्यक सबै प्रक्रिया अघि बढाएको मन्त्री खड्काले बताउनुभयो । त्यस्तैगरी दिर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श कार्यक्रमम विशवविद्यालयको पूर्वाधार गुरु योजना, डिपिआर तयार लगायतका विषयमा छलफल भएको विदुषी योगमाया हिमालयन विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्कीले बताउनुभयो । बैठकको पूर्व तयारीको रुपमा सरोकारवाला परिषद सदस्यहरु र विषय विज्ञहरुसँग दीर्घकालीन गुरु योजना तर्जुमा राष्ट्रिय परामर्श गोष्ठी राखिएको उहाँले बताउनुभयो । मङ्गलबार विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बस्ने परिषद् बैठकले उपकुलपति र रजिष्टार नियुक्त गर्ने प्रक्रिया सुरु गरिने अध्यक्ष कार्कीले बताउनुभयो । विश्वविद्यालय सञ्चालनका लागि सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा जग्गा अधिग्रहण गरिएको छ । भोजपुरमा दुई सय ३३ र सङ्खुवासभामा तीन सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि रकम निर्धारण गरी अधिकांश जग्गा प्राप्ति भएको छ । भवनलगायतका भौतिक पूर्वाधार निर्माण कार्य भने अघि बढ्न सकेको छैन । सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योद्धा योगमायाको जन्म १९१७ सालमा भोजपुरको षडानन्द–१ नेपालेडाँडामा भएको हो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटक–पटक तत्कालीन राणा सरकारसँग माग गर्दा कुनै निर्णय नभएपछि योगमायासहित ६८ जनाले समाधि लिएका थिए । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यका लागि आफ्नो अभियानको नारा लगाउँदै ं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेका थिए । उहाँहरूले समाधि दिएको ठाउँ षडानन्द–६ को मझुवाबेँसीमा पर्दछ । समाज सुधारका लागि कुरीति, अन्धविश्वासको विरोधको त्यो समयमा अभियान चलाउने साहसी महिलाका रूपमा योगमायालाई चिनिन्छ ।
प्रतिक्रिया दिनुहोस