
भरतपुर । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुरस्थित श्री रामजानकी बालिका आश्रम (कन्यागुरुकुलम) मा आश्रित बालिकाहरूलाई स्टेशनरी तथा सरसफाई सामग्री वितरण गरिएको छ।
कार्यक्रम उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लिका अध्यक्ष तथा प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नारायणी विद्या मन्दिर सेकेण्डरी स्कूलका अध्यक्ष, सानो गढी खानेपानीका अध्यक्ष तथा समाजसेवी युवा व्यवसायी नन्द प्रसाद भट्ट प्रमुख अतिथिको रूपमा सहभागी हुनु भयो।
प्रमुख अतिथि भट्टले मिडियाले सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढ्नु सकारात्मक पक्ष भएको बताउँदै, “म स्वयं पनि यस्ता पुण्य कार्यमा जोडिन पाउँदा गर्व अनुभव गरिरहेको छु,” भन्नुभयो। उहाँले विगतदेखि नै सामाजिक क्षेत्रमा संलग्न रहँदै आएको र भविष्यमा पनि मिडियासँग सहकार्य गरी यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ चितवन शाखाकी उपाध्यक्ष शान्ता अधिकारीले वर्तमान अवस्थामा मिडिया संस्थाहरूले आफैं टिकिरहन संघर्ष गरिरहेका बेला उज्यालो टाईम्सले समाजका विपन्न वर्गप्रति देखाएको समर्पण उदाहरणीय रहेको बताउनुभयो।
कार्यक्रममा उज्यालो टाईम्स मिडियाका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभएको थियो भने रामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले आश्रमको बारेमा संक्षिप्त जानकारी दिनुभयो।
सो अवसरमा आश्रमकी अध्यक्ष सावित्री टण्डन, चितवन फिजिकल फिटनेस सेन्टरका अध्यक्ष प्रकाश गुरुङ, उज्यालो टाईम्स मिडियाका निर्देशक कपिल सागर कर्माचार्य, व्यवस्थापक राधा शर्मा, बजार प्रमुख लुना पाण्डे भट्ट लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन उज्यालो टाईम्स मिडियाका निर्देशक राजकुमार श्रेष्ठले गर्नुभएको थियो भने अन्त्यमा अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य दिंदै कार्यक्रमको समापन गर्नुभयो।
यस सामाजिक पहलले बालिकाहरूको शिक्षा, स्वास्थ्य र सरसफाईप्रतिको सजगता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस