गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तीज पर्वको मौलिकता जोगाउनुपर्नेमा जोड दिनुभएको छ । पोखराको मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा आज आयोजित ११औँ मालेपाटन तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै उहाँले पछिल्ला वर्षमा यसको मौलिकपन हराउँदै गएको बताउनुभयो । पछिल्लो समयमा निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौँअघि होटल तथा पार्टी प्यालेसहरूमा खाने प्रचलन बढ्दो रहेको बताउँदै उहाँले सुसभ्य तीज गीतहरू सुन्नै मुस्किलको अवस्था रहेको उल्लेख गर्नुभयो । समाजले आयोजना गरेको तीज गीत प्रतियोगिताले हाम्रा परम्परागत तीजे भाका जीवन्त राख्न सघाउ पुर्याउने उहाँको भनाइ छ । संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति रहेको बताउँदै उहाँले मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुने उल्लेख गर्नुभयो । “हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो,” प्रदेश प्रमुख भट्टले भन्नुभयो, “धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व र विशेषता भएका यस्ता पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो ।” विसं २०५१ मा स्थापित संस्थाले ३१ वर्षको लामो अवधिमा गरेका सामाजिक कार्यको उहाँले प्रशंसा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस