
भरतपुर महानगरपालिका–१२ स्थित आस्था टोल विकास संस्था तथा चित्रवन साकोस, आस्था टोल सेवा केन्द्र (साविक हाम्रो माइती सेवा केन्द्र) द्वारा संयुक्त रूपमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा कुल ५६ जनाले स्वेच्छिक रक्तदान गरी मानव–सेवामा महत्वपूर्ण योगदान प्रदान गरेका छन् ।

कार्यक्रम आस्था टोल विकास संस्थाकी अध्यक्ष मिनाकुमारी श्रेष्ठको अध्यक्षतामा तथा भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लेखराज पन्तले भरतपुर महानगरका २९ वटै वडामध्ये १२ नं. वडा रक्तदान अभियानमा अग्रणी रहेको उल्लेख गर्दै मानवजीवन बचाउन रक्तदान अत्यन्तै महत्वपूर्ण भएको बताए। उनले आस्था टोल विकास संस्था तथा हाम्रो चित्रवन साकोसले देखाएको सामाजिक उत्तरदायित्व र ऐक्यवद्धताले समुदायमा रक्तअभाव न्यूनीकरणमा टेवा पुगेको भन्दै सबै रक्तदाताप्रति आभार व्यक्त गरे।

उनका अनुसार, रक्तदान गर्न योग्य प्रत्येक व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्छ, जसले समुदायमा सुरक्षात्मक रक्तसंग्रह सुनिश्चित गर्न मद्दत पुग्छ।

कार्यक्रमको सहजीकरण आस्था टोल विकास संस्थाका सचिव मधुसुदन पौडेलले गर्नुभएको थियो। लौकिक सेवा भावना, सामाजिक दायित्व र मानवहितमा आधारित यो रक्तदान कार्यक्रमले समाजमा सकारात्मक संदेश फैलाएको आयोजकहरूले बताए।

प्रतिक्रिया दिनुहोस