आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कांग्रेसको संकट: दम्भ कि बिचार


  • आक्रमण न्युज
  • २०८२ पौष २८, सोमबार मा प्रकाशित ७ महिना अघि
  • ३६० पाठक संख्या
  • २००७ सालदेखि लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस पार्टी आज आफैभित्र लोकतन्त्रको खोजी गर्नुपर्ने अवस्थामा पुगेको छ । विभिन्न बहानामा पार्टीको १५ औँ महाधिवेशनलाई पुसबाट वैशाखसम्म धकेलिएपछि कांग्रेस अहिले इतिहासकै एक पेचिलो र अन्तरद्वन्द्व मोडमा उभिएको छ भने पार्टीभित्र विशेष महाधिवेशनको माग झन् बुलन्द हुँदै गएको छ ।

    पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको दोस्रो विशेष महाधिवेशनलाई एउटा गुटको भेला नभई, पार्टीभित्रको जीवन्तता, वैचारिक स्पष्टता र हुर्किँदै गरेको निषेधको राजनीति विरुद्ध एक गम्भीर विद्रोह रूपमा हेर्न सकिन्छ । पछिल्लो समय कांग्रेसको संस्थापनले निषेधको राजनीति र समावेशितामा धक्का पुग्ने गरी पार्टीमा जुन प्रकारको बहुमतको दम्भ प्रदर्शन गरिरहेको छ, त्यसले पार्टीको जग नै खियाइरहेको छ । यसको उदाहरण हालै राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनमा देखियो ।

    समावेशिताको चर्को नारा लगाउने कांग्रेसले उम्मेदवार चयन गर्दा जनजाति र मुस्लिम समुदायको प्रतिनिधित्वलाई शून्यमा झार्नु राजनीतिक र नैतिक रूपमा पराजय हो । जब नेतृत्वले आफ्नै महामन्त्रीद्वयलगायत पार्टीका अन्य लोकप्रिय र युवा नेताहरूलाई नीतिगत निर्णयबाट कर्नर गर्छ, तब आम जनता र कार्यकर्ताकोमा पार्टी सानो घेराभित्र बन्धक बन्दै गएको भन्ने नराम्रो सन्देश जान्छ । महामन्त्रीद्वयले केन्द्रीय समितिको बैठक, मिडिया र विभिन्न फोरमहरूमा भन्दै आएका छन्, ‘यदि नेतृत्वले हामीलाई सानो घेरामा निषेध गर्छ भने हामी कार्यकर्ता र जनताको विशाल घेरामा जान्छौँ ।’, यो अभिव्यक्ति कुनै धम्की नभई, पार्टीलाई गुटको पकडबाट मुक्त गराउने दृढ सङ्कल्पको रूपमा सबैले बुझ्न जरुरी छ । उनीहरूको विद्रोह फुटका लागि नभई, रूपान्तरणका लागि हो भन्ने समग्र कांग्रेसले बुझ्न जरुरी छ ।

    हुन त कांग्रेसको इतिहासमा विद्रोह र फुट नौलो विषय होइन । हिजो परिवर्तनको नाममा पार्टी नै फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका शेरबहादुर देउवा आज पार्टी सभापति हुनुहुन्छ र उनलाई सिंगो पार्टीले स्वीकारेकै छ । तर, आजको युवा पुस्ताले पार्टी फुटाउने कुरा गरेको छैन । उनीहरूले भनिरहेका छन्, ‘हामी चार तारे झन्डा बोकेरै विद्रोह गर्छौँ, कांग्रेसकै सिद्धान्त र आदर्शभित्रै रहेर संघर्ष गर्छौँ ।’, यस्तो इमानदार विद्रोहलाई नेतृत्वले सुन्नुको साटो निषेध गर्नु आफैमा आत्मघाती कदम हो ।

    कांग्रेसको यो आन्तरिक कलहले आम जनता, विशेष गरी नयाँ र युवा पुस्तामा निकै नकारात्मक छवि निर्माण गरिरहेको छ । नयाँ राजनीतिक दलहरूको उदय भइरहेको अवस्थामा कांग्रेस पुरानै ढर्रा र गुट तन्त्रमा रमाउनु भनेको आफ्नो विरासत आफैँ समाप्त गर्नु हो । यसरी पार्टीभित्र बहुमतको आडमा अल्पमतको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले कांग्रेसलाई ‘मास बेस्ड’ बाट ‘क्याडर बेस्ड’ पार्टीमा परिणत गर्दैछ । विशेष महाधिवेशनको माग गर्नेहरू पार्टीका शत्रु नभई, कांग्रेसलाई आगामी निर्वाचनमा एक्लै लड्न सक्ने पार्टी बनाउन चाहेका मित्रहरू हुन् भनेर नेतृत्वले बुझ्न जरुरी छ । त्यसैले पार्टीको बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशनमा सहभागी भई त्यसलाई सफल बनाउनु वर्तमान सभापति र कार्यसमितिको काम कर्तव्य मात्र नभई, नैतिक जिम्मेवारी समेत हो । तर, विधानको धारा र उपधारामा टेकेर राजनीतिक निकासलाई थुन्न खोज्नु अत्यन्तै निन्दनीय छ । कांग्रेसको यो आन्तरिक कलहले आम जनता, विशेष गरी नयाँ र युवा पुस्तामा निकै नकारात्मक छवि निर्माण गरिरहेको छ ।

    नयाँ राजनीतिक दलहरूको उदय भइरहेको अवस्थामा कांग्रेस पुरानै ढर्रा र गुट तन्त्रमा रमाउनु भनेको आफ्नो विरासत आफैँ समाप्त गर्नु हो । नेपाली कांग्रेसलाई बचाउने हो भने अब नेतृत्वले ‘म र मेरो’ भन्दा पनि माथि उठेर ‘हाम्रो र राम्रो’ कांग्रेस बनाउनुपर्ने आवश्यकता छ । विशेष महाधिवेशनलाई नेतृत्वविरुद्धको अस्त्र नभई, आम जनता र कार्यकर्ताहरूको मन जित्ने अवसरको रूपमा लिइनुपर्नेछ । पार्टीलाई वैचारिक शुद्धीकरणको थलो बनाउनुपर्छ, महामन्त्रीहरूको भूमिका स्वीकार्नु आवश्यक छ, यसरी निर्वाचित महामन्त्रीहरूलाई कर्नर पारेर पार्टी चल्न सक्दैन । उनीहरूको ऊर्जालाई निषेध नभई, सदुपयोग गर्नु आजको आवश्यकता हो ।

    अनि पार्टीभित्र समावेशी चरित्र कायम गरेर कांग्रेस सबै भूगोल र समुदायको साझा चौतारी हो भन्ने तथ्यलाई व्यवहारमा उतार्नुपर्ने चुनौती पनि कायमै छ । जसको ताजा उदाहरण राष्ट्रियसभाको उम्मेदवार चयनमा जनजाति र मुस्लिम समुदायको प्रतिनिधित्व शून्य हुनु हो । यदि नेतृत्वले बेलैमा विवेक पुर्याउनु र युवा पुस्ताको आवाजलाई दबाउन खोजिरह्यो भने, भोलि कांग्रेस इतिहासको पुस्तकमा मात्र सीमित हुने जोखिम छ । विशेष महाधिवेशन कांग्रेसको पुनर्जागरणको प्रस्थान विन्दु बन्नुपर्छ, न कि विवादको अखडा । समय परिवर्तनशील छ, त्यसैले समय हुँदै सही निर्णय लिनु फलदायी हुनेछ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट