आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

लक्ष्यअनुसारको कारोबार गर्दै सफल समापन


  • आक्रमण न्युज
  • २०८२ माघ २९, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १२९ पाठक संख्या
  • भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ भव्य रूपमा सम्पन्न

    भरतपुर । “डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि” भन्ने मूल नारासहित चितवन उद्योग संघचितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. को संयुक्त आयोजनामा सञ्चालित ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ लक्ष्यअनुसारको आर्थिक कारोबार गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

    समापन कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष किशोर बगालेले स्वागत मन्तव्य व्यक्त गर्दै प्रदर्शनी अवधिभर आयोजना गरिएका सबै कार्यक्रमहरू उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रिय गाई प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, डेरी हाजिरी जवाफ, प्यानल छलफल तथा कृषकहरूसँग बिटुबि मिटिङ जस्ता कार्यक्रमले डेरी क्षेत्रको व्यावसायिक विकासमा सकारात्मक सन्देश दिएको छ।

    राष्ट्रिय गाई प्रदर्शनीलाई सफल बनाउन सहजीकरण गरेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम, रामपुर का डा. यज्ञराज पाण्डेलाई कार्यक्रममा सम्मान गरिएको थियो। त्यस्तै, प्रदर्शनीका विविध कार्यक्रमहरूमा माडी क्षेत्रबाट प्रभावकारी सहभागिता सुनिश्चित गराएकोमा माडी नगरपालिका लाई तथा प्रदर्शनी सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ का उपाध्यक्ष भागीरथ तिमिल्सिनालाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्ड का निर्देशक डा. हसना श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सह–सचिव डा. शरण पाण्डे, पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल तथा केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष अम्बर बहादुर कुँबरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले करिब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य लिइएको एक्स्पोमा लक्ष्यअनुसारकै आर्थिक कारोबार भएको जानकारी दिँदै डेरी क्षेत्रको प्रविधिमैत्री रूपान्तरण र बजार विस्तारमा प्रदर्शनी प्रभावकारी बनेको बताउनुभयो।

    प्रदर्शनीमा “मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व” विषयक वक्तृत्वकला प्रतियोगिता, डेरी उद्यम र कृषकसँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुति सहितको प्यानल छलफल, राष्ट्रिय गाई प्रदर्शनी, दुग्ध क्षेत्रसम्बन्धी हाजिरी जवाफ प्रतियोगिता लगायत कार्यक्रम सम्पन्न भएका थिए। कृषक र उद्यमीबीच प्रत्यक्ष व्यावसायिक संवादका लागि आयोजित बिटुबि मिटिङले सहकार्य र लगानीका सम्भावना थप विस्तार गरेको आयोजकको दाबी छ।

    प्रदर्शनीलाई सफल बनाउन नेपाल सरकारअन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्ड मुख्य प्रवर्द्धक तथा सह–आयोजकका रूपमा रहेका थिए। साथै हेफर इन्टरनेशनल नेपाल, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एशोसियसन लगायत संस्थाहरूको सहयोग रहेको थियो। संरक्षक संस्थाका रूपमा नेपाल उद्योग परिसंघ र केन्द्रीय दुग्ध सहकारी संघ लि. रहेका थिए।

    आईटी पार्टनरका रूपमा टुना टेक्नोलोजी र इन्टरनेट पार्टनरका रूपमा वल्र्डलिङ कम्युनिकेशन प्रा.लि. ले सहकार्य गरेका थिए। त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रबर्द्धन कार्यालय, बागमती प्रदेश सरकार तथा भरतपुर महानगरपालिका लगायतका निकायहरूको पनि सहकार्य रहेको थियो।

    कार्यक्रम सञ्चालन चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का सचिव कल्याण अधिकारीले गर्नुभएको थियो भने अन्त्यमा अध्यक्ष मदन घिमिरेले धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट