काठमाडौँ। पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी, २०८३’ आयोजना हुने भएको छ । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा तीनदिने पुस्तक प्रदर्शनी सञ्चालन हुने भएको हो । प्रदर्शनी प्रत्येक दिन बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तकका कक्ष राखिने छन् । साथै, पुस्तक विमोचन, साहित्य वाचन, लेखकसँग अन्तरक्रिया, चित्रकला प्रतियोगिता, प्यानल छलफललगायतका कार्यक्रम आयोजना गरिनेछन् । प्रदर्शनीमा परम्परागत नेवारी परिकारका कक्षसमेत रहनेछन् । रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिका अनुसार पुस्तक प्रदर्शनीको उद्देश्य पुस्तकको प्रदर्शनी र बिक्रीमा मात्र सीमित नभई विद्यार्थी तथा युवा पुस्तामा पठन संस्कृतिको विकास गर्नु र पुस्तकप्रतिको रुचि बढाउनु पनि हो । “प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ पुस्ताको पठन बानीमा परिवर्तन आइरहेको छ ।
यस्तो अवस्थामा विद्यार्थी तथा युवालाई पुस्तकसँग जोड्नु र नियमित अध्ययनप्रति आकर्षित गर्नु आवश्यक छ । यही उद्देश्यका साथ हामीले पुस्तक प्रदर्शनी आयोजना गरेका हौँ,” अध्यक्ष प्रजापतिले भन्नुभयो । रोटरी इन्टरनेशनल डस्ट्रिक्ट ३२९२ का डस्ट्रिक्ट गभर्नर रोटरयिन विष्णुबहादुर कार्कीले पुस्तक प्रदर्शनीलाई लेखक, पाठक, विद्यार्थी तथा साहित्यप्रेमीबीच विचार आदानप्रदान गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै, पुस्तक प्रदर्शनीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई साहित्यिक गतिविधिसँग जोड्नसमेत सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
“भक्तपुर कला, संस्कृति र सम्पदाका लागि परिचित सहर हो । अब यसलाई अध्ययन, साहित्य र बौद्धिक संवादको केन्द्रका रूपमा पनि थप प्रवर्द्धन गर्न चाहन्छौँ । पुस्तक प्रदर्शनीले बालबालिका, विद्यार्थी, अभिभावक र साहित्यप्रेमीलाई एउटै थलोमा जोड्ने विश्वास लिएका छौँ,” अध्यक्ष प्रजापतिले भन्नुभयो । प्रदर्शनीमा विभिन्न विद्यालय, कलेज, पुस्तकालय, शिक्षक, विद्यार्थी तथा साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ । पुस्तक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई पठनपाठनप्रति आकर्षित गर्नुका साथै साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस