
काठमाडौं, १३ कार्तिक । अनलाइन समाचार पोर्टल ‘नेपाल प्रेस’को कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



सुवेदी समाचार कक्षमा कार्यरत रहेका बेला सादा पोसाकमा आएका प्रहरीहरू कार्यालयभित्रै प्रवेश गरी उनलाई नियन्त्रणमा लिएका हुन्। प्रहरीको भ्यानमा आएका उनीहरूले गेटमा रहेका सुरक्षागार्डलाई ‘साथी भेट्न आएको’ बताएर भित्र प्रवेश गरेको थियाे ।
नेपाल प्रेसका अनुसार प्रहरीले पक्राउ पुर्जी बिना नै सुवेदीलाई लगेका हुन्। उनीहरूले आफूहरू अपराध अनुसन्धानबाट आएको र ‘आईजी सा’ब’को आदेश रहेको बताएका थिए। पत्रकार सुवेदीले छलफलका लागि आफैँ मोटरसाइकलमा जाने बताए पनि प्रहरीले मानेन र उनलाई जबरजस्ती प्रहरी गाडीमा राखेर लगेको प्रत्यक्षदर्शी पत्रकारले बताएका छन्।
पक्राउ परेका सुवेदीसँग सम्पर्क गर्ने प्रयास गरिए पनि उनको फोन उठेको छैन भने प्रहरीले यस विषयमा आधिकारिक रूपमा केही खुलाएको छैन। यद्यपि, प्रहरी स्रोतले दिएको जानकारी अनुसार साइबर ब्युरोको आग्रहमा उपत्यका अपराध अनुसन्धान कार्यालय (महाशाखा) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सुवेदीलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने बुझिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस