
माता लक्ष्मीको एक नाम ‘रमा’ पनि हो। कार्तिक कृष्ण पक्षमा पर्ने भएकाले यस एकादशीलाई ‘रमा एकादशी’ भनिएको हो। धार्मिक विश्वास अनुसार यस व्रतको पालना गर्नाले माता लक्ष्मी र भगवान् विष्णु दुवैको कृपा प्राप्त हुन्छ, जसले भक्तजनलाई सुख, समृद्धि, शान्ति र मोक्ष प्रदान गर्दछ।



रमा एकादशीको भोलिपल्ट अर्थात् द्वादशी तिथिमा गोवत्स द्वादशी पनि मनाइन्छ। यस दिन गाई तथा बाच्छाको पूजा गरी उनीहरूप्रति कृतज्ञता र श्रद्धा प्रकट गर्ने धार्मिक परम्परा रहेको छ।
पौराणिक मान्यता अनुसार, रमा एकादशीको व्रत बस्नाले अनकौँ यज्ञ गरे बराबरको पुण्य प्राप्त हुन्छ र यसले जानेर वा नजानेर गरिएका पापहरूबाट समेत मुक्ति दिलाउँछ। भक्तजनहरू यस दिन निष्कपट मनले विष्णु–लक्ष्मीको उपासना गरी जीवनमा शान्ति र प्रगतिको कामना गर्दछन्।
व्रत विधि तथा पूजाआराधना
व्रत संकल्प: यस दिन बिहानै उठेर स्नान गरी पवित्र भई भगवान् विष्णु र माता लक्ष्मीको व्रत तथा पूजाको संकल्प गरिन्छ।
पूजा सामग्री: भगवान् विष्णुलाई पहेँलो फूल, अक्षता, धूप, दीप, नैवेद्य (फलाहार वा मिठाई) र तुलसीको पात अर्पण गरिन्छ। पूजामा तुलसीको विशेष महत्त्व हुन्छ।
पाठ तथा जप: दिनभर उपवास बसी ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप, विष्णु सहस्रनाम पाठ र कथा श्रवण गरिन्छ।
द्वादशीमा पारणा: एकादशीको व्रत पूरा गरी भोलिपल्ट (द्वादशी तिथिमा) ब्राह्मणलाई भोजन गराएर वा दान दक्षिणा दिएर मात्र व्रतको पारणा (व्रत तोड्ने) गरिन्छ।

प्रतिक्रिया दिनुहोस