
काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवनलाई ३ विकेटले हराउँदै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो।



योसँगै एनपीएलको उपाधिका लागि पुनः सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ। गत संस्करणमा पनि यी दुई टोलीबीच नै फाइनल भिडन्त भएको थियो। यस पटकको फाइनल खेल शनिबार हुनेछ।
चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो। मध्यम लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले केही कठिन परिस्थिति सामना गरे पनि थरिन्दु रत्ननायकेको उत्कृष्ट ब्याटिङले टोलीलाई जित दिलायो।
सुदूरपश्चिमका लागि थरिन्दु रत्ननायकेले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए। त्यस्तै विनोद भण्डारीले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले १५, इशान पाण्डे र आरिफ शेखले समान १० रनको योगदान दिए।
चितवनका बलरहरूले खेलमा फर्किने प्रयास गरे पनि कमजोर फिल्डिङ टोलीको हारको प्रमुख कारण बन्यो। चितवनका रन्जित कुमारले २ विकेट लिए भने रिजन ढकाल, उस्मान मिर र सल्लाहउद्दीन खानले समान १ विकेट हात पारे।
त्यसअघि टसपछि ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।
चितवनका लागि डेविड मलानले सर्वाधिक ७१ रनको अविजित इनिङ्स खेले। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे। सल्लाहउद्दीन खानले १८ तथा कमलसिंह ऐरीले १० रन बनाए। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
यसअघि इलिमिनेटरमा उत्कृष्ट ब्याटिङ गरेको चितवनले दोस्रो क्वालिफायरमा भने आफ्नो लय कायम राख्न सकेन। मलानले एकतर्फी रूपमा इनिङ्स सम्हाले पनि अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा टोली सामान्य योगफलमै सीमित भयो।
सुदूरपश्चिमका लागि स्कट कुग्लिङले सर्वाधिक ३ विकेट लिए। थरिन्दु रत्ननायकेले २ विकेट हात पार्दा इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले उपाधि रक्षा गर्ने सम्भावना कायम राखेको छ। लगातार तेस्रो पटक फाइनल पुगेको टोली अब शनिबार हुने निर्णायक भिडन्तमा लुम्बिनीलाई पराजित गर्दै दोस्रो पटक एनपीएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ।


प्रतिक्रिया दिनुहोस