Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ४, शुक्रबार | Fri, 20, Nov, 2026

सुक्खायाममा विद्युत् अभाव हुन सक्ने चिन्ता, भारतबाट १५० मेगावाट बिजुली किन्ने तयारी


  • आक्रमण न्युज
  • २०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित २१ घण्टा अघि
  • २२ पाठक संख्या
  • काठमाडौं । आगामी सुक्खायाममा विद्युत् माग र आपूर्तिबीचको असन्तुलन व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने तयारी गरेको छ।

    एल निनो प्रभाव, आन्तरिक उत्पादनमा आउन सक्ने कमी तथा विद्युत् खपत बढ्ने अनुमानका बीच प्राधिकरणले सन् २०२७ जनवरीदेखि मे महिनासम्म चौबिसै घण्टा विद्युत् उपलब्ध गराउने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न लागेको हो।

    प्राधिकरणले भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट प्रतिस्पर्धात्मक दरमा विद्युत् खरिद गर्ने योजना बनाएको छ। यसका लागि १५० मेगावाट विद्युत् राउन्ड द क्लक (आरटीसी) प्रणालीमा खरिद गर्ने प्रस्ताव अघि बढाइएको प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिएका छन्।

    पछिल्ला दुई–तीन वर्षदेखि सुक्खायाममा नेपालको आन्तरिक विद्युत् उत्पादनले माग धान्न नसक्दा भारतको पावर एक्सचेन्जबाट डे अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) मार्फत विद्युत् खरिद हुँदै आएको छ।

    यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। यसले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने देखिएको छ।

    प्राधिकरणको विद्युत् व्यापार विश्लेषण समितिले गत भदौ २५ गते सन् २०२७ जनवरीदेखि मेसम्म १५० मेगावाट विद्युत् आरटीसी मोडमा खरिद गर्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो।

    समितिले आवश्यकताअनुसार भारतीय विद्युत् बजारबाट थप बिजुली खरिद गर्नुपर्ने सुझावसमेत दिएको थियो। विशेषगरी अप्रिल र मे महिनामा विद्युत् माग बढ्ने भएकाले बजारको अवस्था विश्लेषण गरेर थप खरिदको निर्णय लिनुपर्ने समितिको निष्कर्ष छ।

    आगामी सुक्खायामसम्म राष्ट्रिय विद्युत् प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना थपिने अपेक्षा गरिएको छ। तर नदीमा पानीको बहाव घट्ने भएकाले ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

    यसकारण नयाँ आयोजना थपिए पनि आन्तरिक उत्पादनले बढ्दो माग धान्न कठिन हुने प्राधिकरणको आकलन छ।

    यसअघि प्राधिकरणले १५० मेगावाट विद्युत् खरिदका लागि भारतका तीन कम्पनीसँग मूल्य प्रस्ताव माग गरेको थियो। तीमध्ये एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा, मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ प्रस्ताव गरेका थिए।

    सबैभन्दा कम मूल्य प्रस्ताव गरेको एनटीपीसी ट्रेडिङ कर्पोरेसनलाई प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार असोज १६ गते आशयपत्र जारी गरिएको थियो।

    असोज २९ गते विद्युत् खरिद सम्झौताका लागि कम्पनीलाई बोलाइएको भए पनि भोलिपल्ट कम्पनीले पत्र पठाउँदै प्रस्तावित मूल्यमा सम्झौता गर्न नसक्ने जानकारी गराएको थियो।

    कम्पनीले भूराजनीतिक अनिश्चितता, कोइला तथा अन्य इन्धनको मूल्यवृद्धि, विश्वव्यापी मौसम परिवर्तन, एल निनो प्रभाव र भारतभित्रै विद्युत्को माग बढेको कारण देखाउँदै पहिले प्रस्ताव गरेको दर पुनरावलोकन गर्नुपर्ने जनाएको थियो।

    भारतीय विद्युत् बजारको डे अहेड मार्केटमा गत असोजको औसत बजार समायोजन मूल्य प्रतियुनिट नेपाली ११ रुपैयाँ ७४ पैसा अर्थात् भारतीय ७ रुपैयाँ ३४ पैसा पुगेको थियो।

    बजारमा विद्युत्को मूल्य बढ्दै गएपछि यसअघि प्रस्ताव गरिएको दरमा सम्झौता हुन नसकेको प्राधिकरणको भनाइ छ।

    पुरानो प्रस्तावअनुसार सम्झौता हुन नसकेपछि प्राधिकरणले अब नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाउन लागेको हो। अन्तर्राष्ट्रिय बोलपत्रमार्फत भारतीय विद्युत् व्यापारिक कम्पनीहरूबाट नयाँ मूल्य प्रस्ताव माग गरी सकेसम्म प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्ने प्राधिकरणको योजना छ।

    आगामी सुक्खायाममा विद्युत् माग बढ्ने र जलविद्युत् आयोजनाको उत्पादन घट्ने सम्भावनालाई ध्यानमा राख्दै प्राधिकरणले अहिलेदेखि नै आपूर्ति व्यवस्थापनको तयारी थालेको हो। अब नयाँ बोलपत्रबाट कस्तो मूल्यमा विद्युत् खरिद हुन्छ र त्यसले आगामी सुक्खायामको आपूर्ति व्यवस्थापनमा कति सहजता ल्याउँछ भन्ने चासोको विषय बनेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑