Follow

Subscribe to notifications
आज: २०८३ मंसिर ४, शुक्रबार | Fri, 20, Nov, 2026

नारायणी महोत्सवमा मंसिर ५ गते निश्चल दवाडी र सम्झना रनपालको विशेष प्रस्तुति


  • आक्रमण न्युज
  • २०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित १४ घण्टा अघि
  • २६ पाठक संख्या
  • चितवन । नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सवमा दर्शकको आकर्षण बढाउने उद्देश्यले सांगीतिक तथा सांस्कृतिक कार्यक्रमलाई थप विशेष बनाइएको छ । मंसिर ५ गते राष्ट्रिय कलाकार निश्चल दवाडी र सम्झना रनपालको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा महोत्सव सञ्चालन भइरहेको छ ।

    महोत्सवमा दैनिक नारायणी कला मन्दिर नारायणगढका कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक कला, संस्कृति र परम्परा झल्कने कार्यक्रमले दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

    महोत्सव परिसरमा आकर्षक पिरामिड शैलीको प्रवेशद्वार निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट नियाल्न सकिने हट एयर बेलुनको व्यवस्था गरिएको छ । आवश्यक अनुमति र सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गरिने उक्त गतिविधि महोत्सवको विशेष आकर्षण बनेको आयोजकको भनाइ छ । त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल र राइडहरू पनि सञ्चालनमा छन् ।

    महोत्सवमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विविध खानाका परिकारले महोत्सवलाई मनोरञ्जनसँगै व्यापारिक गतिविधिको केन्द्र बनाएका छन् । स्थानीय उद्यमी, व्यवसायी, स्वरोजगार तथा साना उद्योगमा आबद्ध व्यक्तिहरूलाई आफ्ना उत्पादनको प्रचारप्रसार र बिक्री वितरण गर्ने अवसर प्रदान गरिएको छ ।

    नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर र समग्र चितवनको आर्थिक गतिविधिलाई गति दिने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो । आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई मंच प्रदान गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

    महोत्सवलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको छ । सवारी व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको आयोजकको भनाइ छ ।

    रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिले महोत्सवलाई केवल मनोरञ्जनात्मक कार्यक्रमका रूपमा नभई भरतपुरको पर्यटन, व्यापार, संस्कृति र आर्थिक विकाससँग जोडिएको साझा अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

    महोत्सव प्रवेशका लागि साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० निर्धारण गरिएको छ । साँझ ५ बजेदेखि ९ बजेसम्म हुने विशेष कन्सर्टका लागि छुट्टै प्रवेश व्यवस्था गरिएको छ । कन्सर्ट जोनको साधारण टिकट रु. ३०० र भिआईपी टिकट रु. ५०० रहेको छ । कन्सर्टमा सहभागी नभई महोत्सव अवलोकन गर्न चाहने दर्शकले भने साधारण तथा विद्यार्थी टिकटबाटै महोत्सव परिसरमा प्रवेश गर्न सक्नेछन् ।

    आयोजकले स्थानीय कला, संस्कृति, व्यापार, पर्यटन र मनोरञ्जनको संगम बनेको दोस्रो नारायणी महोत्सवमा सहभागी भई महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑