
काठमाडौं । सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौं ले समुदायमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले निशुल्क पानी वितरण तथा फर्निचर हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
क्लबले अनामनगरस्थित गणेश मन्दिर महिला समूह लाई एक वर्षसम्म निशुल्क पानी वितरण कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ भने अर्को कार्यक्रमअन्तर्गत राधाकृष्ण मन्दिर मा सञ्चालन हुँदै आएको रक्तदान कार्यक्रमका लागि आवश्यक फर्निचर हस्तान्तरण गरेको हो।
अनामनगर गणेश मन्दिर परिसरमा बटुवाहरूलाई लक्षित गर्दै गणेश मन्दिर महिला समूहले लामो समयदेखि आफ्नै स्रोतसाधन जुटाएर निशुल्क पानी वितरणको पुण्य कार्य गर्दै आएको थियो। उक्त सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउन रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले एक वर्षका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको हो।
क्लबका अध्यक्ष प्रेम वली ले महिला समूहलाई उक्त रकम हस्तान्तरण गर्दै समाजमा मानव सेवामूलक कार्यहरूलाई निरन्तरता दिन संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले महिला समूहले विगतदेखि गर्दै आएको यस पुण्य कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै क्लबले यस्ता सेवामूलक अभियानहरूमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारी, सचिव सन्ध्या राजभण्डारी लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले महिला समूहको सक्रियताको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गरेका थिए। महिला समुहकी सकृय सदश्य तथा समाज सेवी निर्माला सुबेदीले दैनिक ३ जार पानी खर्च हुने जानकारी गराउदै क्लबको आर्थिक सपोर्ट लागी धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
यसै क्रममा, रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले सोही हप्ताभित्र अर्को सामाजिक कार्यक्रमअन्तर्गत राधाकृष्ण मन्दिर को आयोजनामा नियमित रूपमा सञ्चालन हुँदै आएको रक्तदान कार्यक्रमका लागि आवश्यक फर्निचर हस्तान्तरण गरेको छ। क्लबका अध्यक्ष प्रेम वली ले मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई उक्त फर्निचर हस्तान्तरण गर्नुभएको हो।
फर्निचर हस्तान्तरण कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, इन्दिरा पराजुली, प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारी, सचिव सन्ध्या राजभण्डारी, रोटरियन विष्णु पराजुली, ज्वाइन्ट सेक्रेटरी विष्णुबहादुर खत्री, तथा काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा सदस्य सन्तोष ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले रक्तदान जस्तो जीवनरक्षक अभियानलाई सहयोग पुर्याउन फर्निचर हस्तान्तरण गरिएको बताउँदै यस्ता सहकार्यले सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ हुने धारणा राखेका थिए।
रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामुदायिक सेवाका विविध क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। यस प्रकारका कार्यक्रमहरूले समाजमा सहकार्य, सेवाभाव र मानवीय संवेदनाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास क्लबले लिएको छ।
प्रतिक्रिया दिनुहोस