पौष १६, २०८१ / टिकादत्त तिमिल्सिना
चितवन । भरतपुर–७ मा अवस्थित प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। अध्यक्ष आनन्द न्यूरेको अध्यक्षतामा मंगलबार सम्पन्न भएको कार्यक्रममा सहकारीको वार्षिकोत्सव पनि मनाइएको थियो।
चार करोड बराबरको वार्षिक कारोबार
संस्थाका अध्यक्ष न्यूरेका अनुसार गत आर्थिक वर्षमा सहकारीले करिब ४ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। सहकारीले दैनिक करिब १,५०० लिटर दूध उत्पादन गर्दै दूध उद्योगीहरूलाई बिक्री गर्ने गरेको छ। हाल संस्था २०० जना किसानसँग आबद्ध रहेको र आफ्नै मोडेल गाई फार्ममा १३० वटा गाईभैँसी पालेको जानकारी उनले दिए।
सुपर नेपियर खेती र भविष्यका योजना
प्रेमबस्ती दुग्ध सहकारीले १० बिघा क्षेत्रफलमा सुपर नेपियर घाँसखेती गर्दै आएको छ। सहकारीले गुदपाक, खुवा, पनिर, पुष्टकारी, चिजलगायतका दुग्धजन्य परिकार उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने तयारी गरेको छ। साथै, गोबर मल प्रशोधन गरी प्याकेजिङ गरेर बजारमा ल्याउने योजना पनि रहेको अध्यक्ष न्यूरेले बताए।
स्वरोजगार र नमुना सहकारीको अभियान
संस्थाले निकट भविष्यमा एक हजार जनालाई स्वरोजगार बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ। सहकारीलाई देशकै नमुना दुग्ध सहकारीको रूपमा विकास गर्ने उद्देश्यले किसानहरूको लागत घटाउने र उनीहरूलाई तालिम प्रदान गर्ने कार्य भइरहेको छ। बजार नजिकैको क्षेत्र भएकाले भविष्यमा विक्री काउन्टर स्थापना गर्ने योजना पनि बनाइएको छ।
किसानका भुक्तानी समस्यामा जोड
कार्यक्रमका प्रमुख अतिथि, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले किसानहरूले दूधको भुक्तानी समयमै नपाएको विषयमा चिन्ता व्यक्त गरे। उनका अनुसार चितवनका दुग्ध उत्पादक किसानहरूको ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको छ।
प्रतिवेदन पास र शुभकामना मन्तव्य
साधारणसभामा संस्थाका आर्थिक तथा प्रगति प्रतिवेदन पास गरिएको छ। कार्यक्रममा पशु सेवा कार्यालयका प्रमुख डा. सुशील केसीसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रेमबस्ती दुग्ध सहकारीको यो साधारणसभा दुग्ध उत्पादनमा संलग्न किसानहरूका लागि नयाँ ऊर्जा र अवसरका रूपमा रहेको छ।
प्रतिक्रिया दिनुहोस