
चितवन । चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने भएको छ। चितवन जिल्ला खेलकुद विकास समितिले खेल क्षेत्रको विकाससँगै कमजोर अवस्थामा पुगेको स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको हो।
शनिबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक राजन कार्कीले महोत्सव कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म नारायणी किनारमा आयोजना हुने जानकारी दिनुभयो।
पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाताक्रो, एथलेटिक्स र बृद्धिचाललगायतका विभिन्न खेल प्रतियोगिता हुनेछन्। यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान र प्रोत्साहनसमेत गरिने समितिले जनाएको छ।
महोत्सव स्थललाई आकर्षक बनाउन दुवई सिटी, बुर्ज खलिफा, वुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिकृति सजावटमा प्रयोग गरिने छ। हरेक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति, साँझ ६:३० बजेपछि फुड फेष्टिबल र विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ।
व्यवसाय प्रवर्द्धनका लागि करिब ४० पगोडा स्टल सञ्चालन गरिनेछ भने बाल उद्यानका सामग्री र मुभिङ ट्रेनसमेत रहने छ। करिब ३ लाखभन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको आयोजक समितिको भनाइ छ।
महोत्सव अवलोकन को लागी प्रवेश शुल्क सर्वसाधारणका लागि रु. १००, विद्यार्थीका लागि रु. ७०, र अपाङ्गता तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क व्यवस्था गरिएको आयोजक को भनाइ छ ।
प्रतिक्रिया दिनुहोस