सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला आन्तरिक शक्ति सङ्घर्ष झेल्दैछन् । आ–आफ्नो महाधिवेशन नजिकिँदै गर्दा दुवै दलभित्र शक्ति सङ्घर्ष अझ बढ्दै जाने निश्चित छ । त्यसो त, ‘मिसन ०८४’ भनेर आगामी आम निर्वाचन लक्षित गतिविधि पनि दलहरूले नगरेका होइनन् । ती गतिविधि औपचारिकतामै सीमित रहे । माओवादी केन्द्रले प्रतिपक्षी भूमिका सशक्त रूपमा निर्वाह गर्न नसकेको गुनासो व्याप्त छ । माओवादीभित्रै पनि नेताहरू एकजुट हुन सकेका छैनन् । त्यहाँ पनि आन्तरिक शक्ति सङ्घर्षका शृङ्खला बेलाबखत सतहमा आउने गरेका छन् ।
अर्कोतिर कांग्रेस र एमाले आगामी दिनमा महाधिवेशन केन्द्रित हुँदै जाने र आन्तरिक शक्ति सङ्घर्षमा अझ बढी रुमल्लिँदै जाने अवस्था देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने छ । त्यसपछि कांग्रेसको नेतृत्व कसले लिने भन्नेमा देउवा पक्षभित्रै एक प्रकारको शक्ति सङ्घर्ष चल्न थालेको छ भने इतर पक्षमा पनि साझा उम्मेदवार बनाउन निकै चुनौतीपूर्ण अवस्था छ ।
एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै शक्ति सङ्घर्ष चर्किन थालेको छ । भण्डारीले अध्यक्ष पदमै दाबी गर्ने तयारी गर्दा केपी शर्मा ओली अर्को कार्यकाल पनि नेतृत्वमै रहने मनस्थितिमा छन् । ओली र भण्डारीबिचको शक्ति सङ्घर्षले एमालेलाई कुन अवस्थामा पुर्याउँछ भनेर अहिले नै अनुमान गर्न सकिँदैन । यद्यपि, दुई धारबिच अभूतपूर्व सङ्घर्ष हुने सङ्केत देखिएको छ ।
अहिले सत्तामा रहेका दुई ठुला पार्टीभित्र देखिएका शक्ति सङ्घर्षका विभिन्न रूपले ०८४ सालको आम निर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति भनिएका वा साना दललाई कति फाइदा गर्ला भन्नेबारे पनि स्वाभाविक रूपमा चासो बढेको छ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ठुला तथा पुराना भनेर चिनिँदै आएका दलहरूप्रति जनता रुष्ट हुने क्रम नरोकिएको बताउँछन् । जनता रुष्ट हुने क्रम नरोकिएकै समयमा ती पार्टीभित्र हुने शक्ति सङ्घर्षले थप वितृष्णा बढाएर नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिलाई फाइदा पुग्ने उनको विश्लेषण छ ।
अर्का विश्लेषक हरि रोका पनि ०८४ को निर्वाचनमा वैकल्पिक राजनीतिक शक्ति सशक्त भएर आउने दाबी गर्छन् । अहिले भइरहेकै नयाँ वा वैकल्पिक शक्तिमात्र नभएर नयाँ समूह वा नयाँ दल पनि आगामी निर्वाचनमा स्थापित हुन सक्ने उनको भनाइ छ । आचार्यले त ०८४ मा नेपालको ‘पोलिटिकल ल्यान्डस्केप’ नै परिवर्तन हुने दाबी गरे । ‘ठुला दलका कमी–कमजोरीको फाइदा उठाएर वैकल्पिक शक्तिले सशक्त उपस्थिति जनाउने सम्भावना मैले देखिरहेको छु,’ उनले भने, ‘जनताले कांग्रेस, एमाले, माओवादी उस्तै हुन् भन्ने बुझिसकेका छन् । यिनीहरूबाट अब देशको अवस्था सुध्रिन सक्दैन भन्ने बुझाइ जनतामा छ ।’
विश्लेषक रोकाका अनुसार कांग्रेस, एमाले र माओवादीले निकै ठुलो अवसर पाएर पनि सदुपयोग गर्न नसक्दा जनता विकल्प खोज्न बाध्य हुँदै गएका छन् । ‘यी पुराना पार्टीभित्र पनि प्रतिपक्ष छन्,’ उनले भने, ‘उनीहरूले चाहिँ केही गर्छन् कि भनेर ती पार्टीभित्र रहेका प्रतिपक्षलाई केही हदसम्म शङ्काको लाभ दिन सकिन्छ, तर उनीहरू पनि विश्वसनीय देखिएका छैनन् ।’ यो अवस्थामा नयाँ राजनीतिक शक्तिले नै फाइदा उठाउने उनको तर्क छ । विश्लेषक आचार्य अहिले नै राष्ट्रिय स्वतन्त्र पार्टीको ‘क्रेज’ बढेको जिकिर गर्छन् । ०८४ सम्म यो रफ्तार यसरी नै बढ्ने हो भने ठुला पार्टीलाई निकै ठुलो चुनौती हुने उनको भनाइ छ ।
भिजिट भिसा प्रकरणमा विपक्षीहरूले संसद् अवरुद्ध गरेकै समयमा माओवादीले दुई बुँदे सहमति गरिसकेपछि रास्वपाको क्रेज बढेको आचार्य बताउँछन् । ‘त्यसैबाट हौसिएर होला रास्वपाले अहिले हस्ताक्षर अभियान चलाएका छन्,’ उनले भने, ‘यो अभियानमार्फत उनीहरूले आफ्ना मतदातालाई पोजिसन लिन लगाएका छन् ।’
विश्लेषक रोका पनि रास्वपाप्रति जनताले विश्वास कायम राखेको बताउँछन् । ‘०७९ मै रवि लामिछानेलाई जनताले पत्याएकै हुन् नि,’ उनले भने, ‘नयाँ पार्टीले त्यति ठुलो उपलब्धि हासिल गर्नु सामान्य कुरा हो र ? रवि आफैँ अहिले स्क्यान्डलमा फसे, तर पार्टी छ, त्यहाँ अरू मान्छे छन् । ठुला दलहरूले जनताका मुद्दालाई बेवास्ता गरिरहेका छन् । यस्तो अवस्थाले रास्वपाजस्ता दललाई फाइदा नै गर्छ ।’
आचार्यले कांग्रेसभित्र पनि शेरबहादुर देउवासँगसँगै पार्टी पनि सकिने हो कि भन्ने चिन्ता गर्ने धेरै रहेको बताए ।
उनी मेक्सिकोमा जस्तै ०८४ को निर्वाचनमा नयाँ दल सत्तामा आउन सक्ने सम्भावनालाई पनि नकार्न नमिल्ने बताउँछन् । मेक्सिकोमा ‘मोरेना’ भन्ने पार्टीले लगातार दुई पटक राष्ट्रपति निर्वाचनमा जित हासिल गरेको उदाहरण दिँदै उनले भने, ‘नयाँ राजनीतिक शक्ति स्थापित हुनै सक्दैनन् भन्ने भाष्य आफैँमा गलत हो । जनताले चाहे भने नयाँ राजनीतिक शक्तिलाई पनि बहुमत दिएर सत्तामा पुर्याउन सक्छन् ।’
विश्लेषक आचार्यले आफू विभिन्न जिल्लामा पुग्दा सामान्य मानिसदेखि विभिन्न दलका कार्यकर्तासँग छलफल गर्ने गरेको जिकिर गर्दै भने, ‘गाउँगाउँमा कांग्रेस, एमाले, माओवादीको विकल्पमा व्यापक बहस छ ।’ अहिले भइरहेको बेथितिलाई थितिमा ल्याउन नयाँ राजनीतिक शक्ति, पुरानाको विकल्प खोज्न थालिएको उनले बताए । ‘यो अवस्थाको फाइदा नयाँ राजनीतिक शक्तिले लिन सक्छन्,’ उनले भने, ‘बालेन, हर्क साम्पाङजस्ता दलविहीन जनप्रतिनिधि पनि सशक्त छन् । अर्कोतिर रास्वपाले ठुला दललाई चुनौती दिइरहेको छ । यी सबै एक ठाउँमा आएको खण्डमा आगामी निर्वाचनमा ठुला दललाई सशक्त चुनौती दिन्छन् ।’
यसबारे कांग्रेस, एमालेका नेता बेखबर भने नरहेको आचार्यको तर्क छ । ‘त्यो चिन्ता कांग्रेस, एमालेलाई पनि छ । हामीलाई ठुलो चुनौती छ भन्ने नबुझेको त कांग्रेस–एमालेमा कोही पनि छैन,’ उनले भने । यसका बाबजुद जनताको विश्वास जित्ने काममा ठुला दलको ध्यान नगएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस