Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

मुलुकको अवस्था बदल्न इमान्दार प्रयास


  • आक्रमण न्युज
  • २०८३ कार्तिक २६, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • ४१ पाठक संख्या
  • आवश्यक चाडपर्व हाम्रा सामाजिक, सांस्कृतिक र नैतिक जीवनलाई सही दिशातर्फ डोर्‍याउने महत्वपूर्ण अवसर पनि हुन् । चाडपर्वले बोकेका सन्देशलाई व्यवहारमा उतार्न सकियो भने मात्रै तिनको वास्तविक अर्थ सार्थक हुन्छ । यतिबेला मुलुकमा शुभ दीपावली, छठ र नेपाल सम्वत् मनाइँदै छन् । यी तीनै पर्वका आ–आफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्व छन् ।

    तिहारले अन्धकारमाथि उज्यालो, असत्यमाथि सत्य र अज्ञानमाथि ज्ञानको विजयको सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु र भाइटीकाका माध्यमबाट प्रकृति, जीवजन्तु र मानवीय सम्बन्धको महत्त्वलाई स्मरण गराउँछ । छठले आस्था, त्याग, अनुशासन र प्रकृतिप्रतिको सम्मान सिकाउँछ । नेपाल सम्वत्ले हाम्रो मौलिकता, स्वाभिमान र सामाजिक समानताको गौरवपूर्ण इतिहास बोकेको छ । तर, यी पर्वले दिने सन्देश र हाम्रो व्यवहारबीच अझै ठूलो दूरी छ । हामी घरघरमा दीप प्रज्वलन गर्छौं, सडक र बजार झिलिमिली बनाउँछौं, एकअर्कालाई सुख, शान्ति र समृद्धिको शुभकामना दिन्छौं । तर समाजमा व्याप्त अन्याय, विभेद, भ्रष्टाचार र बेथितिको अन्धकार हटाउने विषयमा भने अपेक्षित गम्भीरता देखाउँदैनौं । घर उज्यालो बनाएर मात्र समाज उज्यालो हुँदैन ।

    त्यसका लागि राज्य व्यवस्था, राजनीतिक संस्कार र नागरिक जीवनमा पनि परिवर्तन आवश्यक छ । मुलुक लामो समयदेखि भ्रष्टाचार, कुशासन, दण्डहीनता र राजनीतिक बेइमानीको चक्रमा फस्दै आएको छ । सार्वजनिक पद र शक्तिको दुरुपयोग, अवसरको असमान वितरण तथा राज्यका निकायप्रतिको कमजोर जनविश्वासले नागरिकमा निराशा बढाएको छ । नागरिकले राज्यबाट न्याय, सुरक्षा र समान अवसरको अपेक्षा गर्नु स्वाभाविक हो । तर, जब न्याय पहुँच र शक्तिका आधारमा प्रभावित हुन्छ, जब सार्वजनिक पदमा बसेका व्यक्तिहरू जवाफदेहिताबाट उम्कन्छन् र जब नागरिकका आवाज सुनिँदैनन्, तब लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास कमजोर हुँदै जान्छ ।

    यही असन्तुष्टि र बेथितिविरुद्ध पछिल्लो जेन–जी आन्दोलनले परिवर्तनको आवाज उठाएको थियो । सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमुक्त शासन प्रणालीको माग गर्दै सडकमा उत्रिएको युवा पुस्ताको आवाजलाई सामान्य असन्तुष्टिका रूपमा बुझ्नु हुँदैन । आन्दोलनका क्रममा उठेका माग, गुमेका अमूल्य ज्यान र नागरिकले देखेका परिवर्तनका सपनालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । परिवर्तनको नारा लगाउनु र परिवर्तनको अनुभूति गराउनु फरक कुरा हुन् । नेतृत्वले नागरिकका अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्न सकेन भने निराशा झन् गहिरिनेछ । लोकतन्त्रमा नागरिक प्रश्न गर्न स्वतन्त्र हुनुपर्छ । सरकार र सार्वजनिक पदमा बसेका व्यक्तिहरू नागरिकप्रति उत्तरदायी हुनुपर्छ । आलोचनालाई शत्रुता र असहमतिलाई अपराध ठान्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउँछ । राज्यको वास्तविक शक्ति नागरिकको विश्वासमा निहित हुन्छ । त्यसैले पीडितले न्याय पाउने, अन्यायमा परेकाले राज्यबाट संरक्षण पाउने र शक्तिमा रहेकाहरूले पनि कानुनको समान सामना गर्नुपर्ने व्यवस्था स्थापित हुन आवश्यक छ ।

    चाडपर्वले हामीलाई आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश दिन्छन् । तर, सामाजिक एकता केवल शुभकामना आदानप्रदानले बलियो हुँदैन । जात, वर्ग, क्षेत्र, लिंग र पुस्ताका आधारमा हुने विभेद अन्त्य गर्नुपर्छ । राज्यका अवसर र सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्छ । हरेक वर्ग, क्षेत्र र पुस्ताको आवाजलाई समान महत्त्व दिनुपर्छ । असहमतिलाई कमजोरी होइन, लोकतन्त्रको शक्ति मान्नुपर्छ । आजको आवश्यकता राजनीतिक प्रतिशोध होइन, न्याय हो । दमन होइन, संवाद हो । आश्वासन होइन, परिणाम हो । राज्य आतंक र दण्डहीनताको अन्त्य गर्दै नागरिकको सर्वोच्चता स्थापित गर्नु अहिलेको प्रमुख दायित्व हो । आन्दोलनले उठाएका सवाललाई सम्बोधन गर्दै संस्थागत सुधार, राजनीतिक स्थिरता र सुशासनको आधार तयार गर्न सके मात्रै नागरिकमा नयाँ आशा र विश्वास जाग्न सक्छ । उज्यालो भनेको घरमा बत्ती बाल्नु मात्र होइन, समाजमा न्यायको दीप प्रज्वलित गर्नु पनि हो ।

    सडक र सहरलाई झिलिमिली बनाउनु मात्र विकास होइन, नागरिकको जीवनबाट अभाव, अन्याय र निराशाको अन्धकार हटाउनु वास्तविक समृद्धि हो । समृद्ध नेपाल निर्माणको आधार भौतिक पूर्वाधारसँगै समान अवसर, सामाजिक न्याय, सम्मानपूर्वक बाँच्न पाउने वातावरण र उत्तरदायी शासन प्रणाली पनि हो । त्यसैले यस वर्षका चाडपर्वलाई केवल उत्सव र औपचारिक शुभकामनामा सीमित नगरौं । यी पर्वले दिएका सकारात्मक सन्देशलाई व्यक्तिगत जीवनदेखि राज्य सञ्चालनसम्म व्यवहारमा उतार्ने संकल्प गरौं । आपसी वैमनस्यता त्यागौं, सामाजिक सद्भाव र एकता बलियो बनाऔं । अन्यायविरुद्ध आवाज उठाऔं र न्यायपूर्ण समाज निर्माणका लागि जिम्मेवार बनौं । अन्तमा, अँध्यारो हटाउन एउटा दीप पर्याप्त नहुन सक्छ, तर उज्यालोको सुरुवात एउटा दीपबाटै हुन्छ । त्यसरी नै मुलुकको अवस्था बदल्न सबै पक्षको इमानदार प्रयास आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑